उम्मेदवारको नाम र चुनावचिन्ह एउटै ! हर्क साम्पाङको शैलीमा भोट माग्दै चितवनका अंगुर – Nepal Press

उम्मेदवारको नाम र चुनावचिन्ह एउटै ! हर्क साम्पाङको शैलीमा भोट माग्दै चितवनका अंगुर

काठमाडौं । आसन्न संसदीय चुनावमा सबैको चासो रहेको निर्वाचन क्षेत्रमध्ये एक हो– चितवन २ । लोकप्रिय पत्रकार रवि लामिछानेको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा छ ।

यही क्षेत्रबाट रविलाई चुनौति दिँदै एक शालिन युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी हुन् अंगूर पन्त । रोचक संयोग के भने उनले चुनावचिन्ह पनि अंगुर नै पाएका छन् । निर्वाचन आयोगले चुनाव चिन्ह छान्नका लागि विभिन्न विकल्पहरु दिँदा उनले आफ्नै नामको चिन्ह छानेका हुन् ।

उम्मेदवारको नाम र चुनावचिन्ह एउटै हुँदाका प्रत्यक्ष फाइदा केही छन् ? हामीले अंगुरलाई नै सोध्यौं । उनी भन्छन्, ‘कति त नाम र चुनावचिन्ह दुवै एउटै भएको सुन्दा हाँस्छन् । तर, मलाई प्रचारप्रसारमा सहयोग भइरहेको छ । मान्छेले एकैपटकमा सम्झिन्छन् ।’

चुनाव निकै नजिकै आइसकेको छ । अरु उम्मेदवारजस्तै धपेडीमा छन् अंगुर । तर, उनको आफ्नै शैली छ । उनी कार्यकर्ताहरुको झुण्ड अघिपघि लगाएर हिँड्दैनन् । केही पर्चा बोकेर एक्लै मतदाताहरुकहाँ पुग्छन् । एक्लै माइकिङ गर्छन् । उनको प्रचार शैलीले अवश्य पनि धराने मेयर हर्क साम्पाङको झल्को आउँछ ।

हर्क साम्पाङको प्रचार शैली चोर्नुभएको हो ? भन्ने प्रश्नमा अंगूरले जवाफ दिए, ‘खासमा मैले चुनाव लड्ने योजना ५–६ वर्षअघिदेखि नै बनाएको थिएँ । र, चुनाव लड्दा कुनै तडकभडक बिना यसरी नै एक्लै प्रचारप्रसार गर्छु भन्ने पनि त्यसबेलादेखि नै सोचेको हो । संयोगले हर्क साम्पाङले पनि यही शैली रोज्नुभयो । यसलाई मैले सकारात्मकरुपमा नै लिएको छु ।’

अहिलेको ठूला राजनीतिक दलहरुको चुनावी खर्च सुन्दै आत्तिने खालको छ । एउटै उम्मेदवारले करोडौं खर्च गर्नुपरेको बताउने गर्छन् । तर, अंगूर भने सस्तैमा चुनाव लड्ने हिसाबकिताबमा छन् ।

‘म धेरै खर्च गर्न सक्दिन र गर्दा पनि गर्दिनँ,’ उनले भने, ‘साथीभाइले सहयोग गर्छौं भनिरहेका छन् । तर, मैले कसैको सहयोग लिएको छैन । आफूसँग भएको डेढलाख व्यक्तिगत वचतबाट नै चुनाव सक्छु ।’

अंगूर यही क्षेत्रका स्थानीयवासी हुन् । आफ्नो क्षेत्रका लागि केही गरौं भन्ने हुटहुटी उनलाई पहिल्यैदेखि थियो । यहाँको विकास र स्थानीय जनताको जीवनस्तर कसरी बढाउने भन्नेमा सँधै उनको ध्याउन्न रह्यो । उनी एउटा राजनीतिक दलमा आवद्ध पनि भए । तर, पार्टीको राजनीति गरेर देशको मुहार फेर्न सकिन्छ भन्नेमा उनलाई विश्वास भएन । अन्ततः ४–५ वर्षदेखि पार्टी राजनीति छोडेर ‘स्वतन्त्र’ बनेका छन् ।

मतदाताहरुलाई ठूलाठूला आश्वासनका पोका बाँडेर पनि हिँडिरहेका छैनन् अंगुर । जसरी उनको प्रचारशैली सरल छ, त्यसैगरी एजेन्डा पनि सरल छन् ।‘म राजनीतिलाई कमाइ खाने भाँडो बनाउन चाहन्न,’ पन्त भन्छन्, ‘राजनीतिक भन्दा पनि सामाजिक उद्देश्यले राजनीतिमा आएको हुँ । यहाँका जनताको जीवनस्तर माथि उठाउने र राज्यका सेवा–सुविधाहरु घरघरमा पुर्याउन भूमिका खेल्नेछु ।’

चर्चित उम्मेदवार रवि लामिछाने उठेकै क्षेत्र किन रोज्नुभयो ? अंगूरलाई अर्को प्रश्न तेस्र्याइयो ।

उनले जवाफ दिए, ‘म यही क्षेत्रको स्थानीयवासी हुँ । ३–४ वर्षदेखि नै चुनावका लागि तयारी गरिरहेको थिएँ । रवि लामिछाने लास्ट आवरमा निर्णय गरेर यहाँबाट उम्मेदवारी दिनुभएको हो । त्यसैले म उहाँको विरुद्धमा उठेको भन्न मिल्दैन ।’

लामिछानेप्रति पन्तको कुनै पूर्वाग्रह भने छैन । साथै, अरु प्रतिस्पर्धी उम्मेदवारहरुको विषयमा उनी उनी टिप्पणी पनि गर्न चाहँदैनन् ।
‘मलाई अरु उम्मेदवारलाई गाली गरे, उनीहरुका कमजोरी खोतेलेर आफ्नो भोट बढाउनु छैन,’ पन्तले भने, ‘यदि मेरा एजेन्डाहरु मतदाताले मन पराउनुभयो भने भोट दिनुहुन्छ, होइन भने ठिकै छ ।’

त्यसो त हालसम्म मतदाताहरुको प्रतिक्रियाबाट उनी उत्साहित छन् । आफू जन्मे–हुर्केको क्षेत्रका लागि केही गरौं भन्ने उनको हुटहुटीलाई सबैले सह्राहना पनि गरेका छन् ।

उनी भन्छन्, ‘यो मेरो आफ्नै क्षेत्र हो, त्यसैले मलाई कुनै हतारो छैन । चुनाव जिते पनि हारे पनि अबको १५/२० वर्ष म यही क्षेत्रको विकासमा समर्पित भएर लाग्नेछु । आफ्नो शरीर र दिमागले भ्याएसम्म यहाँका जनताको सेवा गर्नेछु ।’

पन्त पेशाले सूचना प्रविधिको क्षेत्रमा संलग्न छन् । दिल्लीबाट म्यानेजमेन्टमा स्नातक गरेका उनी अरु पनि विभिन्न विधामा दख्खल राख्छन् । तर, अब भने राजनीतिमै समर्पित भएर लाग्ने सोचमा छन् उनी । चुनावी जित–हारलाई भने उनी ठूलो मान्दैनन् ।

‘मेरो लागि जित–हारभन्दा पनि जनतालाई सुसुचित गराउनु महत्वपूर्ण हो । अभिभावककारुपमा, उपभोक्ताका रुपमा र जनताकैरुपमा पनि उहाँहरुलाई अपग्रेड गर्दै लैैजानुपर्ने छ,’ कुराकानी टुंग्याउँदै पन्तले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर