मन्त्रीबाट हटाइएका हरिशरणको आरोप – बाबुरामले जनमत बेचेर माओवादीमा आत्मसमर्पण गरे(भिडिओ) – Nepal Press

मन्त्रीबाट हटाइएका हरिशरणको आरोप – बाबुरामले जनमत बेचेर माओवादीमा आत्मसमर्पण गरे(भिडिओ)

'जित्ने ग्यारेन्टीका साथ टीका लाएर आएका प्रचण्डको गोरखामा लड्न के छ इतिहास ?'

पोखरा । मंगलबार बर्खास्तमा परेका गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्यले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखाली जनताको जनमत बेचेको आरोप लगाएका छन् ।

गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा हिजो हटाइएका आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै बाबुराम भट्टराई, प्रचण्डलगायतका नेताहरूको आलोचना गरे ।

आफूलाई कार्यसम्पादन कमजोर भएर नभई राजनीतिक प्रतिशोधका कारण मन्त्रीबाट हटाइएको उनको भनाइ छ ।

‘अब राजनीतिक रूपमा नयाँ बाटोमा बढ्ने बताए । नयाँ शक्ति पार्टी बनाउँदाका नेताहरूसँग मिलेर नयाँ वैकल्पिक शक्ति बनाउँछु’, आचार्यले भने ।

उनले सबैभन्दा बढी बाबुराम भट्टराईको आलोचनामा समय खर्चिए । असोज २१ मा नेसपा त्यागेको घोषणा गरेका उनले बाबुराम भट्टराईमा राजनीतिक विचलनको क्रम जारी रहँदा अहिले माओवादीमा आत्मसमर्पण गर्न पुगेको आरोप लगाए । बाबुरामसँग आफ्नो राजनीतिक, व्यक्तिगत सबै सम्बन्ध सकिएको उनको भनाइ थियो ।

गोरखा २ (१) बाट नेसपाका फणिन्द्र देवकोटाले टिकट पाएपछि आचार्यले बागी उम्मेदवारी दिएका थिए । पछि पार्टी अध्यक्ष बाबुराम भट्टराईको दबाबका कारण उनले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिएपनि गोरखामा प्रचण्ड र फणिन्द्रको विपक्षमा कार्यक्रमहरूमा सहभागी भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उनलाई बर्खास्त गरेका थिए ।

आचार्यले बाबुराम नैतिकहीन, विचलित भएको आरोप लगाउनुका साथै बाबुराम, प्रचण्डले राजतन्त्रको नयाँ संस्करण सुरू गरेको आरोपसमेत लगाए । पत्रकार सम्मेलनमा उनले राखेको भनाइ जस्ताको तस्तै :

हिजोमात्रै म बर्खास्त भएँ । त्यो पनि कुन दिन बर्खास्त गरिन्छ भन्ने लक्षण म मन्त्री भएकै दिनदेखि आज पनि हटाइन्छ, भोलि पनि हटाइन्छ भन्ने संकेत दिइँदै आएको थियो । त्यो संकेतमाझ अर्थपूर्ण दिनहरू कटाउँदै हिजोसम्म आइपुगेँ । मलाई त्यति धेरै अनौठो छैन । किनभने म स्वाभिमानका साथ सहज ढंगले लिइरहेको छु । मैले अहिलेसम्म कुनै दु:ख मानेको छैन । किनकि यो त राजनीतिक यात्राका चरणमा भोग्ने कुरा हो । कुनै पनि मान्छे आफ्नो पदमा रहँदा हाँसिखुसी रहने अनि पद छाड्न पर्दा मुर्छित भएर छाड्ने परम्पराको म अन्त्य गर्न चाहन्छु । म स्वाभिमानका साथ यो मन्त्रालयमा आएको हुँ र म स्वाभिमानका साथ यो मन्त्रालय छाड्न चाहन्थें । तर डेढ महिनामात्रै बाँकी भएका बेला हरिशरण आचार्यलाई हटाउनुपर्ने कारण के हो, मैले बुझेको छैन ।

सरकारका कतिपय पाटापक्षहरु मैले धेरै आलोचना गरेँ । एउटै क्याबिनेटमा रहेर मुख्यमन्त्रीको आलोचना गर्ने मान्छे इतिहासमा म नै पहिलो हुँला । संसद नै बहिष्कार गरेर नीति कार्यक्रमको विरोध गर्ने, बजेट निर्माणको प्रक्रिया गलत छ भनेँ । करको दर, ट्रस्टका नाममा राखिएका बजेटका कुरादेखि कतिपय साथी वडा मन्त्री बनेका कुरा छन् । म त स्वाभिमानका साथ ११ जिल्लामै सन्तुलित बजेट दिएर कार्यक्रम कार्यान्वयन गराएको छु । म गोरखाको हुँ तर गोरखाको मात्र उदाहरण होइन, मुस्ताङलाई हब बनाउने संकल्प थियो । गोरखा, तनहुँ, पर्वतका टारका कुरा आउलान् । निश्कलङ्कित भएर काम गरेको छु ।

म राजनीतिक प्रतिशोधका कारणमात्रै हटाइँदै छु । म कुनै पार्टी विशेषको प्रचारमा हिँडेको छैन । बस्, मैले यति भनेको छु कि बाबुराम भट्टराईले जसरी नौ अर्ब रुपैयाँको कमिसनमा लागेर प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले बुढिगण्डकी अलपत्र पर्यो भनेर बोल्नुभयो । फेरि उहाँलाई (प्रचण्¬ड)लाई महान् व्यक्ति भनेर गोरखाली जनताको जनमत बेचेर ल्याउनु भयो, यसको विरोधमा म थिएँ । यसको आलोचना पार्टीभित्र, गठबन्धनको टिममा गरेको थिएँ । यसकारण म नैतिक हिसाबले मत माग्न हिँड्न सक्दिनँ भनेर भनेको थिएँ र विरोध पनि गर्दै हिँड्दिनँ भन्ने संकल्प थियो । हरिशरण आचार्यले त्यसको खुलेर विरोध गर्यो भने घाटा हुन्छ, बरु अहिले एउटा साङ्लोले बाँधिएको छ भनेर बसेको भए ठीक हुन्थ्यो । अब त म विरोध गरेर जान्छु नि, खुल्लमखुल्ला विरोध गर्दै जान्छु ।

वैकल्पिक राजनीतिक शक्ति हामीले सुरु गर्‍यौं । बाबुराम भट्टराईले हामीलाई राम्रो ट्रयाक दिएको भए वैकल्पिक शक्ति आज पनि अपरिहार्य हुन्थ्यो । तर उहाँले कहिले फोरमसँग लगेर मिसाइदिनुभयो, कहिले कतै लगेर मिसाइदिने । आफैं विचलित हुने अनि अरुलाई कारबाही गर्नु बाबुराम भट्टराईको नाता हो । उहाँ त आफैं विचलित हुनुभएको हो नि । उहाँ विचलित भएपनि हामी सही छौं । वैकल्पिक राजनीतिक धार सही छ भनेर हामी स्वतन्त्रका साथीदेखि नयाँ शक्तिका साथीहरु डम्बर खतिवडा, लौरोका साथीहरुसँग छलफलमा छौं । हामी वैकल्पिक राजनीतिक धारको सृष्टि गर्छौं र त्यहीँबाट राजनीतिक भविष्य बनाउँछौं । लुट्नेको होइन, काम गर्नेको लोकतन्त्र हुुनुपर्छ । बेइमान चरित्र देखाउनेलाई लखेट्नुपर्छ । बाबुराम भट्टराईसँग मेरो व्यक्तिगत, राजनीतिक सम्बन्ध सक्कियो । हामी छिमेकी हौं, छिमेकीको सम्बन्ध रहन्छ ।

म हराउन लागेको होइन । मैले त मेरा राजनीतिक रिजर्भेसन राखेको थिएँ । बाबुरामलाई ‘तपाईं आफैं उठ्नुपर्छ’ भनेर कारणसहित देखाएका थियौं । प्रचण्ड त चितवन ३ बाट उठ्ने तयारी थियो, उहाँ त्यहीँबाट उठेको भए हुन्थ्यो । संसदीय निर्वाचनमा इतिहास भएर वा हार्ने देखेर क्षेत्र सरिन्छ । प्रचण्ड हार्ने भएर गोरखा आउनुभयो । गोरखाली जनताको जनमत प्रचण्डलाई बाबुरामले बेच्नुभयो । कांग्रेसभन्दा कम्युनिस्ट, कम्युनिस्ट भन्दा माओवादी र माओवादीभित्रै पनि बाबुराम ठीक भनेर निस्किएका थियौं हामी । तर अहिले आउँदा त हिजो राजाहरुले छोरालाई गद्दी हस्तान्तरण गरेझैं बाबुराम, प्रचण्डले पनि छोरीहरुलाई हस्तान्तरण गरे । यो त राजतन्त्रकै नयाँ संस्करण बन्यो । नाम पो राजा भएन तर काम त राजाकै जस्तो गरे । मैले यस्तै कुरा पार्टीमा राख्दा उहाँले नकारात्मक रुपमा लिनुभयो । खल्तीका मान्छेलाई चुनावमा उठाउनुभयो । जसले बाबुराम बनायो, आज उहाँहरु कोही हुनुहुन्न । नयाँ शक्ति बनाउँदाका रमेश पोखरेल, ज्ञानेन्द्र कुमाल र म अब उहाँसँग छैनौं । हामी एउटा टिम लागेर बाबुराम भट्टराईलाई स्थापित गरेका थियौं । आज यी ३ जना नै बाबुरामसँग छैनौं । सबैभन्दा आलोचना ग्राउन्डमा बाबुरामको हुन्छ । उहाँको पछि लागेर केही हुन्न भन्ने बुझेर बाध्यात्मक अवस्थामा नयाँ वैकल्पिक शक्ति निर्माणमा लागेका छौं ।

बाबुराम अब माओवादी बन्नुहोला तर नयाँ शक्ति बनाउँदाका दुईतिहाई साथी माओवादीमा जानुहुन्न । रातो स्टिकर लगाएको घर भनेर कुनै दिन भन्ने अहिले जान खोज्ने । अब कुनै नैतिकता, इमान उहाँ (बाबुराम) मा छ ? उहाँले त माओवादीमा गएर आत्मसमर्पण गर्नुभएको हो । उहाँले सुरु गरेको बाटोमा अविचलित रुपमा लाग्न नसकेर छाड्न पनि नसकेर लगेर आत्मसमर्पण गराउनुभयो । कुशल कमाण्डरले त हार्ने जस्तो देखेपछि नयाँ मान्छेलाई अघि सारेर युद्ध लडिरहने हो । दोस्रो पुस्ताका नेतालाई अघि सार्न किन बाबुरामले सक्नुभएन ? हिजो मोहन वैद्यले माओवादी आन्दोलन हाँक्न नसक्ने देखेपछि प्रचण्डलाई अघि सारेका होइनन् । प्रचण्डले जित्छन्, हार्छन् सँग सरोकार छैन । ग्यारेन्टी जितिन्छ भनेर टीका लगाएर जित्न गोरखा आएका हुन् प्रचण्ड । गोरखामा लड्न इतिहास के छ प्रचण्डको ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर