मोरङ ६ का पोठिया र शनिहाटवासीको आक्रोश- ५ वर्ष नेताको अनुहार देखिएन – Nepal Press
मतदातामाझ नेपाल प्रेस

मोरङ ६ का पोठिया र शनिहाटवासीको आक्रोश- ५ वर्ष नेताको अनुहार देखिएन

विराटनगर । मोरङको हात्तीमुडास्थित नेमुवा चोकबाट नहरको डिलैडिलको बाटो ७ वर्षअघि कालोपत्रे भएको थियो । प्रदेश १ सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय जाने सो बाटोमा अहिले पीचको अंश कहींकतै भेटिन्न ।

धूलाम्मे र खाल्डे सडकबाट दुई किलोमिटर पूर्व-उत्तर गएपछि पुगिन्छ पोठिया चोक । पोठियो चोकमा २० वर्षदेखि चिया पसल गर्छन् शिवलाल सरदार । नहरको डिलमा बाँसको भाटाले बारेको पसलको अगाडिपट्टि भाटाकै मचान (खाट) लाई शिवलालले काउण्टर बनाएका छन् ।

६५ कटेका शिवलाल मचानमा बसेर पानका खिल्ली बनाउँदै चियाको हिसाब हेर्छन् । उनकी श्रीमतीले चिया बनाँउछिन् । शिवलालको पसल पोठिया चोकका स्थानीयको चिया खाने अड्डा हो । शिवलालको पसलमा स्थानीय नेता, ठेकेदार, शिक्षक, कामदारले चिया र पानमात्रै खाँदैनन् दुनियाँका हालखबर पनि सुनाँउछन् । गाउँदेखि शहरसम्मका हल्लाखल्ला गर्छन् ।

बिहान ७ बजे संवाददाता पुग्दा शिवलालको पसलमा चिया खान मानिसहरु जम्मा भइसकेका थिए । चिया खाने लाइनमा थिए स्थानीय चौठीलाल सरदार । उनी स्थानीय उद्योगमा काम गर्छन् । उनले चिया पर्खिंदै चुनावी गफ सुरु गरे ।

‘अघिल्लो पटक चुनावका वेला शेखर दाइले बिरामीहरुको उपचार गरिदिने भन्दै नाम र नम्बर टिपे । हामीले पनि टिप्यौं । उहाँले भनेपछि उपचार खर्चमा छुट होला भन्ने आशा थियो’, उनले भने, ‘६ जना महिलाको उपचारमा सहयोग गर्छु भन्नुभएको थियो । चुनावपछि उहाँले फोन पनि उठाउनुभएन । उपचारमा छुट त परैको कुरा हो ।’

चौठीलालको कुरामा होमा हो मिलाए स्थानीय भोला चौधरीले । ‘मैले शेखरलाई भोट हालेको हो । जित्नुभएन तर चुनाव हारेपछि उहाँको अनुहारसम्म देखिनँ’, उनले भने, ‘यसपालि पनि चुनावमा उठ्नुभएको छ । तर, मैले देखेको छैन ।’

चुनाव हारेपछि गाउँमा नआएका शेखरलाई उनकै कार्यकर्ताहरुले बिगारेको उनको भनाइ थियो । उनले थपे, ‘कार्यकर्ताले जे भन्यो त्यही सुने, न हामीजस्ता मतदाताको कुरा सुने न त विकास नै ल्याए ।’

बुढीगंगा गाउँपालिकाको वडा नम्बर ५ पोठिया चोकमा सरदार र चौधरीहरुको बसोबास छ । ‘को आयो ?’, मचानमा बसेका शिवलालले ठूलो स्वरमा भने, ‘लालबाबु आए ?’ गाडीबाट हात हल्लाउँदै गएको देखियो । चुनावमा नमस्कार गर्दै आउने लालबाबुले गाडीबाट झर्नसम्म जुरुरी ठानेनन् ।

‘अहिले आएर चिया खुवाउँछन् । चिया खान्छन् । अरु वेला आउनु पर्दैन ?’, उनले आक्रोश पोखे ।

मिश्रीलाल सरदार भने नेताहरु कोही ठीक नभएको निष्कर्षमा पुगेका छन् । ‘हाम्रा कुरा सुन्न पर्‍यो नि ! हामीलाई के चाहिएको छ ? खाली चुनावका वेला भोट माग्न नमस्कार गर्ने अनि चुनावपछि नआउने ? अघिपछि हिँड्नेहरुले नेता बिगारे’, उनले स्थानीय अगुवाहरुको विरोध सुरु गरे ।

‘शेखर कोइरालाले चुनाव हारेपछि ४ जनालाई कारबाही गरे, किन ?’, चौठीलालले सुनाए, ‘भोट नआएपछि कारबाही हुँदैन त ! मेरो यति जना छ उति जना छ भनेर टाउको देखाएर पैसा लिने चलन छ । जिम्दारी अब चल्दैन ।’

उनले थपे, ‘पहिलेपहिले पो जिम्दारले जे भन्यो त्यही हुन्छ । अहिले सबै बाठो भएको छ । जिम्दारले भन्यो भन्दैमा भोट कसले हाल्छ ? गाउँमा अब जिम्दारी छैन ।’

उनका अनुसार चुनावका बेला स्थानीय नेताहरुले उम्मेदवारसँग पैसा लिने गरेका छन् । लिएको पैसा मतदातासम्म पुग्दैन । जसले पैसा लियो उसैले खान्छ । अघिल्लो पटक त्यस्तै भएको थियो ।

चिया पसलमा भेटिएका मिठुलाल सरदारले भने, ‘हामीलाई मासु किनेर खा भनेर दुई तीन सय रुपैयाँ दिएको थियो । अब मान्छेहरु मासुमा बिक्दैन । यो, ऊ पार्टीको कुरा होइन नेता बिगार्ने एमाले र कांग्रेसकै कार्यकर्ता हुन् ।’

पोठिया चोकबाट ३ किलोमिटर उत्तर कमलपुर चोकमा पनि कार्यकर्ताले नेता बिगारेको सर्वसाधारणले आरोप लगाए । त्यहाँ भेटिएका अशोक ठाकुरले यसपालि अहिले नै चुनाव यसैले जित्छ भन्न सक्ने अवस्था नभएको बताए ।

उनको कमलपुर चोकमा शैलुन छ । उनले कपाल काट्न आउनेहरुले गरेको चुनावी चर्चा सुनाए, ‘लालबाबुले बाटो बनाए भन्ने छ । तर, गठबन्धन भएका कारण अहिले नै यसै हो भन्नसक्ने अवस्था छैन । म आफैं कसलाई भोट हालौ भनेर निर्णयमा पुगेको छैन ।’

ठाकुरका अनुसार कांग्रेसले जिते पनि उही हो, एमालेले जिते पनि उही हो । नयाँ कोही भए उसैलाई भोट हाल्ने हो । तर, उनले नयाँ उम्मेदवार र पार्टी नभेटेको सुनाए ।

बुढीगंगा गाउँपालिका वडा नम्बर ७ शनिहाटमा भेटिएका काली चौधरीले नेताहरुले भन्दा पनि यहाँका कार्याकर्ताहरुले ठेक्कापट्टाको काम गरेको बताए ।

उनले डा. शेखर र लालबाबु दुवै भोट माग्न नआएको बताए । तर, कार्यकर्ताहरुले मागिरहेका छन् ।

पुरानै अनुहार, नयाँ भिडन्त

मोरङ ६ मा पुरानै अनुहार मुख्य प्रतिस्पर्धी छन् । सो क्षेत्रबाट एमालेबाट लालबाबु पण्डित उम्मेदवार बनेका छन् भने सत्ता गठबन्धनबाट डा. शेखर कोइराला उम्मेदवार बनेका छन् ।

२०७४ को निर्वाचनमा पनि लालबाबु र शेखर मुख्य प्रतिस्पर्धा थिए । जसमा लालबाबुले ६७५ मतले शेखरलाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा लालबाबुले ३३ हजार ९४१ मत ल्याउँदा डा. शेखरले ३३ हजार २६६ मत पाएका थिए ।

त्यस वेला एमाले र माओवादीबीच गठबन्धन भएको थियो । तर, अहिले अवस्था फेरिएको छ । अहिले माओवादी कांग्रेससँगको गठबन्धनमा छ । यस्तो अवस्थामा शेखरले गत निर्वाचनको पराजयको स्वाद फेर्ने सम्भावना देखिन्छ । तर, शेखरलाई जीत निकाल्न एमालेसँग नभई कांग्रेसकै डर छ ।

कांग्रेसको १४ औ महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवासँग सभापतिमा पराजित डा शेखरले संस्थापन इतराको नेतृत्व गर्दै आएका छन् । उनी सुशील कोइरालाको निधनपछि पार्टीभित्र प्रतिपक्षीको भूमिकामा छन् । उनी १३औं महाधिवेशनमा सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका थिए ।

त्यसपछि पार्टी सभापतिको तयारीमा लागेका कोइराला सभापतिमा पराजित भए पनि संस्थापनइतर समूहको मुख्य नेता बनेका छन् । यसका कारण गुटगत राजनीतिको असर कांग्रेसभित्र तीव्र छ । उनले कांग्रेसभित्रकै गुट मिलाउन नसकेयस पटक पनि निर्वाचन जित्न सकस देखिने कांग्रेसीहरु नै बताँउछन् ।

मोरङको बुढीगंगा गाउँपालिका, सुन्दर हरैचा नगरपालिकाको वडा नम्बर २ र ७ तथा विराटनगर महानगरपालिकाको ४,७, ९ र ११ नम्बर वडा यस क्षेत्रमा पर्छ ।

स्थानीय निर्वाचनमा डा. शेखर समूहले संस्थापन पक्षलाई हराएको आरोप लागेको छ । सुन्दर हरैचा नगरपालिकामा डा. शेखरका कारण मेयरमा शिव ढकालले पराजय भोगेको भन्दै उनीविरुद्ध अझै आक्रोश देखिन्छ ।

निर्वाचनमा पराजित भएपछि ढकालले सामाजिक सञ्जाल फेसबुकमा आफ्नै पार्टीप्रति असन्तुष्टि व्यक्त गरे । उनले वडा अध्यक्षलाई आउने मत आफूलाई नआएको भन्दै कांग्रेसकै अन्तरघातका कारण आफूले निर्वाचन हारेकोसम्म भन्न भ्याए ।

निर्वाचनको वडास्तरको मतलाई हेर्दा कांग्रेसले २७ हजार ८६ मत पाएको छ । एमालेले २४ हजार ५५६ र माओवादी केन्द्रले ४ हजार ९९६ मत पाएको छ । सो क्षेत्रका वडाहरुबाट जसपाले ३ हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार ११५ र एकीकृत समाजवादीले २ हजार ३५५ मत पाएको छ ।

स्थानीय तहको मतको तुलना हेर्ने हो भने सत्ता गठबन्धनका डा शेखर लालबाबुभन्दा अगाडि छन् । तर, स्थानीय तहको निर्वाचनका बेला गठबन्धनको विरोधमा देखिएका शेखरलाई यसको नकारात्मक असर पर्ने सत्ता गठबन्धनका नेताहरुले नै बताए ।

लालबाबुलाई भने आफूले गरेको कामको ब्राण्डिङ हुन नसकेकोमा चिन्ता छ । उनको पहलमा गक्षिया नेमुवा सडक कालोपत्र भएको थियो । तर, यसको जस भने कांग्रेसले लिएको छ । प्रदेश र स्थानीय तहमा कांग्रेसले जित्दा यसको जस कांग्रेसले लिएको छ ।

तर, लालबाबु अझै पनि आफूले गरेको कामको जस कसरी लिने भन्ने ध्याउन्नमा छन् । सत्ता गठबन्धनमा जस्तो मोरङ ६ मा एमालेमा आन्तरिक कलह छैन । यसको फाइदा पण्डितले लिन सक्छन् । तर, अघिल्लो निर्वाचनमा जस्तो लालबाबुको चार्म यसपटक नरहेको एमाले कार्यकर्ताहरु नै बताँउछन् ।

दुवैको जित्ने दाबी

चर्चा र चासोका साथ हेरिएको मोरङ ६ मा सत्ता गठबन्धन र एमाले दुवैले जित्ने दाबी गरेका छन् । विराटनगरमा नेपाल मुस्लिम संघले आयोजना गरेको कार्यक्रममा डा. शेखरले आफूहरुले निर्वाचन जित्ने दाबी गरे । कार्यक्रममा गठबन्धनका कारण आफूहरुले जित्ने उनले बताए । उनले पटक-पटक हसियाँ हथौडा र रुखमा भोट हाल्न आग्रह गरे ।

लालबाबु पनि जीत निकाल्नेमा ढुक्क छन् । उनले आफूले यस क्षेत्रमा विकास निर्माणको काम गरेकाले जित्ने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर