गुल्मीमा अर्बौंका राष्ट्रिय महत्वका आयोजनाहरु ल्याएँ: प्रदीप ज्ञवाली – Nepal Press

गुल्मीमा अर्बौंका राष्ट्रिय महत्वका आयोजनाहरु ल्याएँ: प्रदीप ज्ञवाली

रुपन्देही । गुल्मीको क्षेत्र नं १ मा प्रतिनिधि सभाका उम्मेदार प्रदीप ज्ञवालीले यसअघिको कार्यकालमा निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा निर्वाचित ज्ञवालीले महत्वपूर्ण आयोजनामा अबौँको बजेट ल्याएको दाबी गरेका छन् ।

राष्ट्रियस्तरमै महत्वपूर्ण आयोजनाहरु जिल्लामा पर्नु र त्यसअनुसार काम हुनुले जिल्लाको विकासमा नमुना हुने उनको भनाइ छ । ज्ञवालीले निर्वाचित भइसकेपछि ५ वर्षको अवधिमा धेरै राष्ट्रिय महत्वका आयोजनाले स्थान पाएको र जिल्लाक सडक निर्माण तथा ठूला अयोजनाहरु अगाडि बढेको बताए ।

उनका अनुसार कालीगण्डकी करिडोरमा ६ अर्ब रकम बिनियोजन भएर काम भइरहेको छ । त्यस्तै राजमार्ग नं १९ (रिडी–खज्र्याङ–बलकोट–दाङ–सुर्खेत) को लागि २ अर्ब ६२ करोड रकम बिनियोजन भएको छ ।

५५ करोड लागतको रुरुक्षेत्र तटबन्धको काम अगाडि बढिसकेको छ । चोरकाटे–शान्तिपुर सडक निर्माणको लागि ५५ करोड रकम सुनिश्चित गरिसकिएको छ ।

त्यसैगरी गुल्मी जिल्ला अस्पतालको लागि ५२ करोड रकम बिनियोजन भएर अहिले अस्पताल भवन निर्माणको काम भइरहेको छ । त्यस्तै पालिका स्तरमा ६ वटा अस्पताल निर्माणको लागि १ अर्ब ८ करोड रकम लागतम काम भैरहेका छन् ।

जिल्लामा कोरोनाको कहरमा निकै जटिल बनेको बेलामा अक्सिजनको व्यवस्था गर्न आइसियु, अक्सिजन प्लान्ट र पिसिआर ल्याब स्थापना गरिएको थियो । ५ करोड लागतमा प्लान्ट र ल्याब स्थापना भएर अहिले सेवा प्रदान भइरहेको छ । रणनीतिक सडकको लागि ४० करोड रकम बिनियोजन भएको छ ।

२० करोड लगानीमा रेसुङ्गा एयरपोर्ट निर्माण कार्य सम्पन्न भएको छ । दौंघा, हुँगा, बलेटक्सार, पल्लिकोट, खैरेनी, जुनियाँ, हरेवा, अस्लेवा लगायतका स्थानमा बिभिन्न खानेपानीको आयोजनाको लागि ४० करोडभन्दा बढी रकम बिनियोजन भइ केही स्थानमा खानेपानी वितरण भैसकेको र केही स्थानमा काम अगाडि बढेको छ ।

रिडी रुद्रवेणी सडकमा १४ करोड रकम बिनियोजन भएर काम अगाडि बढेको छ । विभिन्न स्थानीय निकायमा विद्यालय पुनर्निर्माण तथा ७७ शौचालय निर्माणको लागि आबश्यक रकम उपलब्ध गराई कामहरु केही सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छन् । सत्यवती पहिरो पीडितको पुनस्र्थापनाको काम सकिएको छ ।

सडक पुनर्निर्माणमध्य डुम्रे–सातमुरे–लुम्छामा काम सम्पन्न भएको छ । प्राबिधिक शिक्षालाइ प्राथमिकता दिने सोच अनुरुप चन्द्रकोट गाउँपलिका ८, तुराङ्ग मजुवामा प्राविधिक विद्यालय स्थापना गरिएको छ भने रानीवास, जोहाङ, छापचौर लगायतका स्थानमा पनि प्राविधिक शिक्षाको काम अगाडी बढेको छ ।

जिल्लामा खरको छाना विस्थापन गर्ने उद्देश्य अनुरुप करिब १ हजार घरमा जस्तापाता (टिन)को छाना बनाउने कार्य सम्पन्न भएका छन् भने केहि बाँकी भएका पनि बिस्थापन गर्ने चरणमा छन् । सरकारी बिद्यालयलाइ सुबिधासम्पन्न बनाउन र विद्यार्थीलाई बिद्यालय आवजावत सजिलो बनाउन महेन्द्र मावि, उपल्लो तम्घास लगायतका बिद्यालयलाइ बस संचालनमा सहयोग गरिएको छ ।

विभिन्न स्थानीय निकायमा सर्व सुलभ स्वास्थ्य उपलब्ध गराउन सहयोग गरिएको थियो भने केही एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् ।
जिल्लामा रहेका विभिन्न पर्यटन क्षेत्रहरुलाई पहिचान गरी ती स्थानको ब्यबस्थापन, पुनर्निर्माण तथा प्रचार प्रसार गर्ने उद्देश्य अनुरुप सत्यवती, रुरुक्षेत्र, रेसुङ्गा लगायतका धेरै मन्दिर, पाटी पौवा बनाउने कामहरु भएका छन् । विभिन्न नदीहरुमा केही नयाँ पक्की तथा झोलुङ्गे पुलहरु निर्माणको लागि आबश्यक बजेट बिनियोजन भएको छ भने केही अधुरा कामहरु सम्पन्न भएका छन् ।

गुल्मी १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । ज्ञवालीले आफ्नो बिरासत कायम राख्दै ह्याट्रिक गर्ने दौडमा छन् भने भण्डारीले अघिल्लो निर्वाचनको बदला लिने बताएका छन् । दुवै दलका नेताहरुले आआफ्नो जित सुनिश्चित रहेको बताउँदै आफूले जिल्लामा गरेका कामहरुको विवरण घरदैलोको क्रममा मतदातामा समक्ष बताउँदै हिंंडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर