कति बलिया छन् कतार विश्वकप खेल्ने ३२ टोली ? – Nepal Press
विश्वकप फुटबल

कति बलिया छन् कतार विश्वकप खेल्ने ३२ टोली ?

दोहा । कतारमा दुई सातापछि सुरु हुने विश्वकप फुटबलमा घरेलु टोलीसहित विश्वभरका ३२ टोली सहभागी हुँदैछन् । एसियाबाट दक्षिण कोरिया, कतार, जापान, इरान, अस्ट्रेलिया र साउदी अरबसहित ६ टोली सहभागी हुनेछन् । अफ्रिकाबाट क्यामरुन, घाना, मोरक्को, सेनेगल र ट्युनिसिया खेल्दैछन् ।

दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, इक्वेडर र उरुग्वेसहित चार टोली सहभागी हुँदा उत्तर, मध्य तथा क्यारेबियन क्षेत्रबाट क्यानडा, कोस्टारिका, मेक्सिको र संयुक्त राज्य अमेरिकाले खेल्दैछन् ।

युरोपबाट बेल्जियम, क्रोएसिया, डेनमार्क, इङ्गल्यान्ड, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, सर्विया, स्पेन, स्वीट्जरल्यान्ड र वेल्ससहित १३ टोली विश्व फुटबलको महाकुम्भमा सहभागी हुँदैछन् ।

एसिया

विश्वकप इतिहासको एकै संस्करणमा सर्वाधिक एसियाली टोली यसपटक सहभागी हुँदैछन् । विश्वकप फुटबलमा एसियाली टोली सेमिफाइनलसम्म पुगेको इतिहास छ । दक्षिण कोरिया २० वर्षअघि आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो ।

त्यसबाहेक एसियाबाट विश्वकपको सेमिफाइनल पुगेको इतिहास छैन । दक्षिण कोरिया लगातार १०औं र समग्रमा ११औं पटक विश्वकप खेल्न लागेको हो । दक्षिण कोरियाले सन् १९५४ मा पहिलोपटक विश्वकप खेलेको थियो ।

जापान सातौंपटक विश्वकप खेल्दैछ । यसअघि सन् २००२, २०१० र २०१४ मा प्रि-क्वार्टरफाइनलसम्म पुगेको थियो । जापानले पहिलोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो ।

एसियाबाट छनोट खेल्दै आएको अस्ट्रेलिया छैटौंपटक विश्वकप खेल्दैछ । अस्ट्रेलिया सन् २००६ मा मात्र पहिलो चरण पार गर्दै प्रि-क्वार्टरफाइनलसम्म पुगेको थियो । अस्ट्रेलियाले पहिलोपटक सन् १९७४ मा विश्वकप खेलेको थियो ।

इरानले हालसम्म विश्वकपमा पहिलो चरण पार गर्न सकेको छैन । इरानले पहिलोपटक सन् १९७८ मा विश्वकप खेलेको थियो ।

पहिलो सहभागितामै सन् १९९४ मा दोस्रो चरणसम्म पुगेको साउदी अरबले त्यसयता पाँचपटक विश्वकप खेले पनि पहिलो चरण पार गर्न सकेको छैन ।

यसपटकको आयोजक कतार पहिलोपटक विश्वकप खेल्दैछ । विश्वकप आयोजकका रुपमा कतारले विश्वकपमा सोझै छनोट पाएको हो ।

अफ्रिका

अफ्रिकाबाट विश्वकपमा कुनै पनि टोली क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र २०१० मा घाना क्वार्टरफाइनलसम्म पुगेका थिए । पहिलोपटक सन् १९८२ को विश्वकप खेलेको क्यामरुन समग्रमा आठौंपटक यो प्रतियोगितामा सहभागी हुँदैछ ।

मोरक्को सन् १९८६ को संस्करणमा दोस्रो चरणसम्म पुगेको थियो । त्यसबाहेक सहभागी भएका अन्य चार अवसरमा भने समूहगत चरणबाटै बाहिरिएको थियो । मोरक्कोले सन् १९७० मा पहिलोपटक विश्वकप खेलेको थियो ।

घाना लगातार चौथोपटक र समग्रमा चौथोपटक नै विश्वकप खेल्दैछ । सन् २०१० को विश्वकपमा क्वार्टरफाइनलसम्म पुग्नुबाहेक अन्य तीन सहभागितामा भने घाना पहिलो चरणबाटै बाहिरिएको थियो ।

पहिलो सहभागितामै सन् २००२ मा क्वार्टरफाइनल पुगेको सेनेगल तेस्रोपटक विश्वकप खेल्न लागेको हो । यसघि सन् २०१८ को विश्वकप पनि खेलेको थियो । तर, समूहगत चरणबाटै बाहिरियो ।

छैटौंपटक विश्वकप खेल्न लागेको ट्युनिसियाले यो प्रतियोगितामा हालसम्म पहिलो चरण पार गर्न सकेको छैन । ट्युनिसियाले सन् १९७८ मा पहिलोपटक विश्वकप खेलेको थियो ।

दक्षिण अमेरिका

दक्षिण अमेरिका विश्वकपमा सबैभन्दा सफल देश रहेको महादेश हो । दक्षिण अमेरिकाको ब्राजिलले पाँचपटक विश्वकप जितेको छ । अर्जेन्टिना र उरुग्वेले समान दुईदुई पटक विश्वकप जितेका छन् । ब्राजिल विश्वकपका हालसम्मका सबै २१ संस्करण खेल्ने टोली हो । उसले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप जितेको थियो । ब्राजिल विश्वकपमा ११ पटक कम्तिमा सेमिफाइनलसम्म पुगेको छ ।

यस्तै अर्जेन्टिना समग्रमा १८औं पटक विश्वकप खेल्दैछ । अर्जेन्टिनाले सन् १९७४ यताका हरेक संस्करण खेलिरहेको छ । सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिना हालसम्म पाँचपटक सेमिफाइनल र चारपटक फाइनल पुगेको छ ।

सन् १९३० मा आयोजित पहिलो विश्वकप जितेको उरुग्वे समग्रमा १४औं पटक विश्वकपमा सहभागी हुँदैछ । सन् १९५० को पनि संस्करण जितेको उरुग्वे हालसम्म पाँचपटक सेमिफाइनल पुगेको छ ।

इक्वेडर चौथोपटक विश्वकप खेल्न लागेको हो । पहिलो पटक सन् २००२ को विश्वकप खेलेको इक्वेडरले एक पटकमात्र पहिलो चरण पार गरेको छ । सन् २००६ मा इक्वेडर प्रि-क्वार्टरफाइनलसम्म पुगेको थियो ।

उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्र

मेक्सिको विश्वकप सर्वाधिक खेल्ने उत्तर तथा मध्य अमेरिकी टोली हो । मेक्सिकोले हालसम्म १६ पटक विश्वकप खेलिसकेको छ । तर, उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा सेमिफाइनल पार गर्न सकेको छैन ।

अमेरिका सन् १९३० मा आयोजना भएको पहिलो विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता कुनै पनि उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रका टोलीले क्वार्टरफाइनल पार गर्न सकेका छैनन् । मेक्सिको सन् १९७० र १९८६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो । उसले सन् १९९४ यताका हरेक विश्वकप संस्करण खेलिरहेको छ । ११औं पटक विश्वकप खेल्न लागेको अमेरिका लगातार सात संस्करण खेलेपछि अघिल्लो विश्वकपमा भने छनोट हुन सकेको थिएन ।

क्यानडा ३६ वर्षपछि पहिलोपटक र समग्रमा दोस्रोपटक विश्वकप खेल्दैछ । यसअघि सन् १९८६ मा भएको पहिलो सहभागितामा क्यानडाले पहिलो चरण पार गर्न सकेको थिएन ।

सन् २०१४ को संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको कोस्टारिका समग्रमा छेटौंपटक विश्वकप खेल्दैछ । कोस्टारिकाले पहिलोपटक सन् १९९० मा विश्वकप खेलेको थियो ।

युरोप

विश्वकपमा महादेशका हिसाबले युरोप सर्वाधिक सफल रहेको छ । जर्मनी र इटालीले ४/४ पटक, फ्रान्सले दुई तथा इङ्गल्यान्ड र स्पेनले एकएक पटक विश्वकप जितेका छन् । इटाली भने यसपटक छनोट हुन सकेन । उसले सन् २०१८ को विश्वकप पनि खेल्न सकेको थिएन ।

२०औं पटक विश्वकप खेल्न लागेको जर्मनी यसअघि सन् १९५४, १९७४, १९९० र २०१४ मा विश्व च्याम्पियन बनेको थियो । जर्मनीले विश्वकपमा १३ पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।

साविक विजेता फ्रान्स समग्रमा १६औं पटक विश्वकप खेल्दैछ । फ्रान्स हालसम्म विश्वकपमा ६ पटक सेमिफाइनल र तीनपटक फाइनल पुगेको छ ।

स्पेन पनि १६औं पटक विश्वकपमा सहभागी हुने भएको छ । सन् २०१० को संस्करण जितेको स्पेन सन् १९७८ यताका हरेक संस्करण खेलिरहेको छ । स्पेन विश्वकपमा दुईपटकमात्र सेमिफाइनल पुगेको छ । स्पेनले सन् १९५० मा पहिलोपटक सेमिफाइनल यात्रा तय गरेको थियो ।

बेल्जियम १४औं पटक विश्वकप खेल्दैछ । उसले सन् १९८६ र सन् २०१८ को संस्करणमा सेमिफाइनल यात्रा तय गरेको थियो ।

१३औं पटक विश्वकप खेल्न लागेको सर्बिया दुईपटक सेमिफाइनलसम्म पुगेको इतिहास छ । सर्बियाले सन् १९३० र १९६२ मा अन्तिम चारको यात्रा तय गरेको थियो ।

सन् १९६६ को विश्वकप जितेको इङ्गल्यान्ड १६औं पटक विश्वकप खेल्दैछ । इङ्गल्यान्ड सन् १९९० र २०१८ का संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो ।

लगातार पाँचौं र समग्रमा आठौं पटक विश्वकप खेल्न लागेको पोर्चुगल सन् १९६६ र २००६ का संस्करणमा सेमिफाइनलसम्म पुगे पनि अगाडि बढ्न सकेको थिएन ।

गत संस्करणमा फाइनलसम्म पुगेको क्रोएसिया समग्रमा छैटौं पटक विश्वकप खेल्दैछ । क्रोएसियाले पहिलोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । क्रोएसिया पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता २० वर्षपछि गत संस्करणमा अन्तिम चारको यात्रा तय गर्दै फाइनल पुगेको थियो ।

सन् १९८६ मा पहिलोपटक विश्वकप खेलेको डेनमार्क समग्रमा छैटौंपटक यो प्रतियोगिता खेल्दैछ । डेनमार्कले सन् १९९८ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । डेनमार्क हालसम्म सेमिफाइनल पुग्न सकेको छैन ।

नेदरल्यान्ड्स ११औं पटक विश्वकप खेल्दैछ । नेदरल्यान्ड्सले सन् १९७४, १९७८ र २०१० को संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न सकेको छैन । पहिलोपटक सन् १९३४ को विश्वकप खेलेको नेदरल्यान्ड्स गत संस्करणमा भने छनोट हुन सकेको थिएन । नेदरल्यान्ड्सले विश्वकपमा ५ पटक कम्तिमा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।

सन् १९७४ र १९८२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको पोल्यान्ड समग्रमा नवौं पटक विश्वकप खेल्दैछ ।

वेल्स ६४ वर्षपछि विश्वकप खेल्दैछ । यसअघि पहिलोपटक सन् १९५८ को विश्वकप खेलेको वेल्स त्यति वेला क्वार्टरफाइनलसम्म पुगेको थियो ।

स्वीट्जरल्यान्डले समग्रमा १२औं पटक विश्वकप खेल्दैछ । स्वीट्जरल्यान्ड सन् १९३४, १९३८ र १९५४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । स्वीट्जरल्यान्डले हालसम्म विश्वकपको सेमिफाइनल खेल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर