प्रदेश १ का यी बागी, जो दुई गठबन्धनलाई पर्दैछन् भारी – Nepal Press

प्रदेश १ का यी बागी, जो दुई गठबन्धनलाई पर्दैछन् भारी

विराटनगर । मंसिर ४ गते हुने आमनिर्वाचनअन्तर्गत प्रदेश १ का केही स्वतन्त्र र बागी उम्मेदवारले आफ्नो प्रभाव देखाएका छन् । यी उम्मेदवारको चुनावी प्रचार र घरदैलो कार्यक्रममा सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनका उम्मेदवारकै हाराहारीमा समर्थकहरु देखिने गरेका छन् । सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच चुनावी रस्साकस्सी चलिरहँदा यी उम्मेदवारहरु उनीहरुलाई टक्कर दिने स्तरमा आएका छन् ।

प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर १ का मनोजकुमार मेन्याङ्वो, धनकुटाका हेमराज भण्डारी, मोरङ ५ का योगन्द्र मण्डल जोगी, झापा ३ का डम्बर गिरी र झापा २ का स्वागत नेपालको चुनावी प्रचार अभियानले मतदातामा प्रभाव देखाएको हो । प्रदेशसभातर्फ मोरङ ६ (२) का गोपाल रेग्मीले पनि मतदातामा प्रभाव जमाएका छन् ।

सुनसरी १ मा मनोजको ‘क्रेज’

सुनसरी क्षेत्र नम्बर १ का मनोज मेन्याङ्वो एमालेका बागी उम्मेदवार हुन् । धरान उपमहानगरका पूर्वप्रमुख मनोजलाई एमालेकै असन्तुष्ट कार्यकर्ताहरुले साथ दिइरहेका छन् ।

उनी स्थानीय तहको निर्वाचनका वेला मेयरका आकांक्षी थिए । तर, उनले टिकट पाएनन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत उम्मेदवारका आकांक्षी मेन्याङ्वोले जसपासँग गठबन्धन भएपछि एमालेबाट उम्मेदवार बन्न पाएनन् ।

प्रतिनिधिसभामा एकल सिफारिसमा परेका निवर्तमान सांसद जयकुमार राईको पनि जसपासँगको गठबन्धनमा टिकट खोसिएपछि रुष्ट बनेका एमाले कार्यकर्ताले मनोजलाई बागी उठ्न हौसला दिए ।

एमालेपछि बलियो मत रहेको कांग्रेसले पनि गठबन्धनका कारण माओवादीलाई सुनसरी क्षेत्र नम्बर १ छाडेपछि मेन्याङ्वो बागी उम्मेदवार दिन अघि सरेका थिए ।

सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट माओवादीका मुक्साहाङ मेन्याङ्वो र एमाले-जसपाबाट अशोक राई चुनावी प्रतिस्पर्धामा छन् । यहाँ सुनसरीको धरान उपमहानगरपालिका, बराह क्षेत्र नगरपालिकाको १, २, ३, ४, ५ वडा र रामधुनी नगरपालिकाको वडा नम्बर ६ र ७ पर्छन् ।

सुनसरी क्षेत्र नम्बर १ मा १ लाख ४१ हजार ८७८ मतदाता रहेका छन् । तीमध्ये सबैभन्दा बढी धरानमा १ लाख ४ हजार मतदाता रहेका छन् । बराह क्षेत्रमा २७ हजार ८६ र रामधुनीमा १० हजार ६७४ मतदाता रहेका छन् ।

धनकुटामा हेमराजको हिम्मत

पार्टीले उम्मेदवार नबनाएपछि धनकुटामा सत्ता गठबन्धनका विरुद्ध हेमराज भण्डारी बागी उठेका छन् । उनी माओवादीका पोलिटव्युरो सदस्य थिए । उम्मेदवारका आकांक्षी भण्डारी पार्टीबाट टिकट नपाएपछि राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

उनीसँगै धनकुटा माओवादी केन्द्रको सिंगो टीमले नै राजीनामा दिएको छ । यस्तै प्रदेशका सदस्य र पदाधिकारीले समेत पार्टीबाट राजीनामा दिएर भण्डारीको चुनावी प्रचारप्रसारमा हिँडेका छन् ।

स्वतन्त्र उम्मेदवार भण्डारीको सक्रियतामा बेलहरा एयरपोर्टको सुरुवात, ठूला आयोजनाहरू तमोर कोरिडोर, पाख्रीबास कृषि क्याम्पस, अरुण कोरिडोरजस्ता योजना धनकुटामा गएको छ ।

यही कामको प्रचार गरेर मत माग्दै हिँड्दा भण्डारी बलियो उम्मेदवारका रूपमा देखापरेका छन् । भण्डारी आफू कसैलाई हराउनभन्दा पनि चुनाव जित्न नै उम्मेदवार बनेको र पार्टीहरूसँग जनताको वितृष्णा बढिरहेकाले आफ्नो जीत हुने दाबी गर्छन् ।

धनकुटामा एमालेका राजेन्द्र राई र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् । धनकुटामा २०७० सालको संविधानसभा निर्वाचनमा सुनिलबहादुर थापा विजयी भएका थिए भने २०७४ मा राजेन्द्र राईले बाजी मारेका थिए ।

झापा ३ मा डम्बरको टक्कर

झापा क्षेत्र नम्बर ३ मा एमालेविरुद्ध उठेका छन् डम्बर गिरी । सो क्षेत्रमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै उनले उम्मेदवारी दिएका हुन् । सो क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेले साथ दिएको छ ।

एमाले प्रदेश कमिटी सचिवालय सदस्य रहेका गिरी हल्दिवारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । युवा संघको राजनीतिबाट एमालेको मूल राजनीतिमा आएका गिरीले एमाले पार्टी जोगाउन भन्दै चुनावी मैदानमा छन् ।

उनलाई पार्टीले कारबाही गरिसकेको छ । तैपनि उनलाई एमालेका कार्यकर्ताहरुको साथ देखिन्छ । उनले भने, ‘एमालेका कार्याकर्ताहरुले सधैं हलोमा भोट हाल्नुपर्ने अवस्था आएकाले बाध्य भएर स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका हौं ।’

उनी हल्दिवारी गाउँपालिकाको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा भने पराजित भएका थिए ।

मोरङ ५ मा जोगीको जोश

मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेका योगेन्द्र मण्डल पनि एमालेका बागी उम्मेदवार हुन् । दुई वर्षअघि एमालेको सक्रिय राजनीतिमा आएका मण्डल जीवन विकास लघुवित्त र जीवन विकास एनजीओका पूर्वअध्यक्ष हुन् । एमालेमा प्रवेश गरेसँगै उनलाई उम्मेदवार बनाउन एमालेले तयारी गरेको थियो ।

उनी मोरङ कटहरीमा जीवन विकास समाजको संस्थापक अध्यक्ष भएर २५ वर्षअघि सामाजिक क्षेत्रमा लागेका थिए । मण्डल राजनीतिभन्दा पनि सामाजिक पृष्ठभूमिका हुन् । उनको सामाजिक अभियानका कारण मोरङ ५ को चुनावी रौनक फेरिएको छ । एमालेले जसपाका राजकुमार यादवलाई सहयोग गर्ने भने पनि एमाले कार्यकर्ताहरु मण्डलसँगै छन् ।

सत्ता गठबन्धनबाट भने माओवादीका शिवकुमार मण्डल प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । जसपाका नेता राकेश रोशन यादव एमालेका स्थानीय नेता-कार्यकर्ता योगेन्द्रकै पक्षमा लाग्दा चुनावी प्रतिस्पर्धा त्रिपक्षीय भएको बताउँछन् ।

मोरङ ६ (२) मा बल लगाउँदै गोपाल

प्रदेशसभाअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ (२) मा बागी उठेका गोपाल रेग्मीको चुनावी प्रचार अभियान ठूला दलका उम्मेदवारको भन्दा कम छैन । उनी नेपाली कांग्रेसबाट उम्मेदवारका आकांक्षी थिए । महानगरको मेयरको समेत आकाक्षी बनेका रेग्मीले कांग्रेसबाट उम्मेदवार बन्न पाएनन् । पछि बागी उम्मेदवारी दिएका हुन् ।

उनी विराटनगर महानगरका पूर्वप्रशासक समेत हुन् । विराटनगर महानगरको कार्यकारी प्रमुख भएर काम गरेका उनले विराटनगरको विकासमा योगदान गरेको विराटनगरवासीमा छाप छ ।

उनकै पालामा विराटनरका साँघुरा सडक भत्काएर चौडा भएका थिए । उनकै पालामा एडीबीको ढल परियोजना सुरु भएको थियो । विराटनगरको बाढी र डुबान नियन्त्रणमा यो आयोजनाले भूमिका खेलेको भन्दै उनी चुनावी प्रचारमा छन् ।

उनको प्रतिस्पर्धामा कांग्रेसका केदार कार्की र एमालेका परशुराम बस्नेत छन् । कार्की प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर