रुपन्देहीका उम्मेदवार : कसले के भनेर रिझाउँदैछन् मतदाता ? – Nepal Press

रुपन्देहीका उम्मेदवार : कसले के भनेर रिझाउँदैछन् मतदाता ?

रुपन्देही । निर्वाचनका लागि उम्मेदवार आफ्ना एजेण्डा तथा चुनावी प्रतिबद्धता लिएर प्रचारप्रसारमा व्यस्त छन् । पुराना अनुहार आफ्ना कार्यकर्ता र पहिले मतदान गरेका मतदातालाई आफूले गर्ने कामबारे प्रस्ट्याउँदै छन् भने, नयाँ अनुहार आफू र आफ्नो योजनाका बारेमा मतदातालाई सुनाइरहेका छन् ।

विभिन्न दलका उम्मेदवारको प्रचारप्रसारका लागि क्षेत्रैपिच्छे जनसम्पर्क कार्यालय विस्तारको कामले समेत तीव्रता पाइरहेको छ, भने घरदैलोसमेत सुरु गरेका छन् । ती कार्यालयको उद्घाटन गर्ने, आम नागरिक बोलाउने, उनीहरूबीच आफ्ना धारणा राख्ने काम उम्मेदवारले गरिरहेका छन् ।

मुख्य राजनीतिक दलका पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् भने स्वतन्त्र र अन्य दलबाट केही युवा उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

रुपन्देही क्षेत्र नं. १ मा एमाले छाडेर सत्तारुढ गठबन्धनको साथमा उम्मेदवारी दिएर मतदाताबीच पुगिरहेका घनश्याम भुसाल आफ्ना पुराना कार्यकर्तालाई भेट्ने, विचार राख्ने र पार्टी र सरकारमा छँदा आफूले गरेका कामबारे मतदातालाई आश्वस्त पारिरहेका छन् । एमाले नेतृत्वका कारण आफूले अहिलेसम्म काम गर्न नपाएको तर्क गरिरहेका छन् ।

यहाँबाट एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा मैदानमा छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित विश्वकर्मा पार्टी नेतृत्वमा रहँदा सरकारले गरेका काम, आफूले यसअघिको समयमा गरेको यो क्षेत्रमा लगानी तथा आगामी योजनाका बारेमा मतदातालाई सुनाइरहेका छन् । नेता विकले प्रतिस्पर्धी भुसालले टिकट नपाएर पार्टी छाडेको र यसअघि अर्को क्षेत्रबाट निर्वाचित भएर पनि केही काम गर्न नसकेको आरोप लगाउँदै आएका छन् । विश्वकर्मालाई राप्रपा तथा जसपाले साथ दिएका छन् ।

रुपन्देही–२ बाट नेकपा एमालेका उम्मेदवार बनेका पूर्वअर्थमन्त्री विष्णु पौडेल एमालेले विकास भोग नागरिकमा जगाएको र दिगो विकास तथा समृद्धि एमालेबाटै सम्भव रहेको बताइरहेका छन् । रुपन्देहीमा रहेको ठूलो विकासे आयोजनाका जस लिँदै थप नयाँ दीर्घकालीन योजनालाई लिएर उनी मतदातासमक्ष पुगेका छन् ।

यो क्षेत्रमा गठबन्धनमा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी भएपछि जनमुक्तिका केशव थापा साझा उम्मेदवार बनेका छन् । क्षेत्र नं. ३ मा राप्रपाका दीपक बोहरासँग भिड्दैछन् वर्तमान गृहमन्त्री बालकृष्ण खाण । नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने मुख्य एजेन्डा बोकेका उनले विकल्पबिना सुकुम्वासी नागरिकलाई हटाउन नमिल्ने बताइरहेका छन् । साथै खाणले आफू उम्मेदवार बनेको क्षेत्रको एकीकृत विकास एवं यहाँका उद्योगी व्यवसायीलाई मर्का पारिरहेको बैंकले लिने चर्को ब्याजदर तत्काल रोक्नुपर्ने विषयलाई चुनावी एजेन्डा बनाइरहेका छन् ।

खाणले भैरहवा क्षेत्रको विकास गरी रिङरोडसहितको नगर बनाई आर्थिक, भौतिक साथै सामाजिक रूपमा विकास गर्ने बताएका छन् । उद्योगी व्यवसायी देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको उनको भनाइ छ । उनीसँग प्रतिस्पर्धामा रहेका राप्रपा नेता बोहोराले पञ्चायतकालीन अवस्थादेखि अहिलेसम्म आफूले गरेको विकासे अभियानलाई एजेण्डा बनाएका छन् भने एमाले नेतृत्वको सरकारले गरेका कामलाई पनि उनले एजेण्डा बनाएका छन् ।

रुपन्देही क्षेत्र नं. ४ र ५ का उम्मेदवार पनि जनताका बीचमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । विकास निर्माण र समृद्ध रुपन्देहीको नारा प्रायः उम्मेदवारका एजेन्डा बनेका छन् । क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला, सत्तारुढ गठबन्धनबाट कांग्रेसका प्रमोद यादव, एमाले,जसपा र राप्रपाको तालमेलबाट जसपाका ओमप्रकाश गुल्जारी प्रतिस्पर्धामा छन् । उनीहरूले मर्चवारको विकास, कृषि, स्वास्थ्य र शिक्षाका समस्या तथा आफूले आगामी दिनमा गर्ने विकासे कामका योजना लिएर मैदानमा पुगेका छन् ।

क्षेत्र नं ५ मा एमाले, राप्रपा र जसपाको तालमेलबाट एमालेका बासुदेव घिमिरे र सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता भरत शाह मैदानमा छन् । उत्तर दक्षिण क्षेत्र समेटेको यो क्षेत्रमा दुवैले कृषि, स्वास्थ्य, शिक्षासहित भौतिक पूर्वाधार तथा आफ्नो पार्टीका एजेण्डा लिएर मतदातासमक्ष पुगेका छन् । चुनावका बेला मात्रै पार्टी र नेताले जनता सम्झने प्रवृत्ति गलत रहेको विश्लेषक गणेश घिमिरे बताउँछन् ।

‘नेता र उम्मेदवार जनतासँग सधैँ नजिक भएर काम गर्नुपर्ने हो, उनीहरूका समस्याबारे परिचित हुनुपर्ने हो,’ उनले भने, ‘नेपालको सन्दर्भमा नेताले चुनाव जितेर गएपछि जनताप्रति उत्तरदायी बन्ने परिपाटी नै रहेन यसले राजनीतिप्रति वितृष्ण बढाएको छ ।’

जनताले मत दिएर जित्ने नेताले ५ वर्षको अवधिमा कति पटक जनताका बीच आएर समस्या सुन्यो, छलफल ग¥यो भन्ने विषयमा अबका मतदाता सचेत हुनुपर्ने विश्लेषक ऋषि आजाद बताउँछन् ।

‘उम्मेदवारले आफ्ना एजेन्डा र पार्टीबारे जानकारी दिनु गलत होइन,’ उनले भने, ‘तर, आक्कलझुक्कल नभएर सधैँ जनताको बीचमा रहने काम गर्नु राम्रो हो । जनताले नेता नै नचिन्ने अवस्था आउनु दुर्भाग्य हो । अब भौतिक पूर्वाधारसँगै मानवीय विकासमा काम गर्न सक्नेलाई मतदाताले छान्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर