चुनावपछि गठबन्धन दल स्वार्थका लागि अलग भए अपराध हुन्छ : गगन थापा (भिडिओ) – Nepal Press

चुनावपछि गठबन्धन दल स्वार्थका लागि अलग भए अपराध हुन्छ : गगन थापा (भिडिओ)

‘अब चुनावपछि बन्ने सरकारले जनतालाई के दिने भन्नेबारे सोच्न थाल्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जित्नु मात्रै ठुलो कुरा नहुने बताएका छन्। काठमाडौं ४ मा बस्ने काभ्रेलीसँग गगन थापासहितका गठबन्धन उम्मेदवारको अन्तरक्रिया कार्यक्रममा बोल्दै साबिक नेकपाले पाँच वर्ष सरकार चलाउन नसकेपछि अहिलेको अवस्था आएको बताए।

उनले भने, ‘नेकपा भत्किएपछि एकीकृत समाजवादी विद्रोह गरेर बनेको पार्टी हो। त्यहाँ लाग्ने साथीहरूले पार्टी बन्छ बन्दैन भन्ने नै थाहा थिएन। गठबन्धन बनेर चुनाव लड्न पाइन्छ पाइँदैन भन्ने पनि थाहा थिएन। विद्रोह गरेर सडकमा आएका हौँ। माओवादीका साथीहरू पनि ठुलो पार्टी बनाएको थियो। यो अवस्था कसैको रहर होइन।’

आफूहरूले फाइदा नहेरी व्यवस्था जोगाउन लागेको बताए। गठबन्धनलाई निर्वाचनसँग मात्रै लगेर जोड्न नमिल्ने उनको भनाइ छ।

‘संसद् विघटन गरेर निर्वाचन घोषणा गरेको बेलामा नेकपा दुई चिरा भएको थियो। कांग्रेसका लाई त्यो स्वर्ण अवसर थियो। हामी निर्वाचन सजिलै जित्यौँ’ उनले भने, ‘संविधानमा संसद् विघटन गर्न पाइँदैन भनेर लेखेपछि आफूलाई फाइदा हुन्छ भनेर गलत कुराको पक्षमा उभिन हुँदैन। त्यो तत्कालको लागि फाइदा हुन्थ्यो। तर, यो अवस्था रहँदैनथ्यो। हामी एक ठाउँमा उभिएको कारणले संसद् र संविधान ट्याकमा आयो।’

उनले आफूहरू एकजुट भएपछि चुनाव जित्ने निश्चित भएकाले सरकार बनेपछि के गर्ने भन्नेबारे सोच्न आग्रह गरे। परिणाम आएपछि पुसको पहिलो सातासम्म अर्को सरकार बन्ने उनको भनाइ छ।

‘हामी एकजुट भएपछि निर्वाचन भयो। हामी जित्दै छौँ यहाँसम्म ठिक छ। अब चुनाव जितेपछि के भयो त ? हामीले सोच्नुपर्ने बेला आएको छ। मन्त्री र प्रधानमन्त्री हुने त आफ्नो विषय भयो। नागरिक र देशले के पाए। पाँच वर्ष खेर गएको छ। अब खेर फाल्न हुँदैन’ उनले भने, ‘अहिले निर्वाचनको भन्दा पनि निर्वाचनपछिको चुनौती आइसकेको छ। मैले नेताहरूलाई भनिरहेको छु। हामी मंसिर ४ मात्रै होइन म मंसिर ५ हेरिरहेको छु।’

पाँच वर्षका लागिसँगै उभिएर मत मागेपछि व्यक्तिगत स्वार्थका लागि चुनावपछि अलग हुन नहुने बताए।

उनले भने, ‘सँगै उभिएर पाँच वर्षका लागि मत मागेपछि हामीले मतदाताको इज्जत राख्नुपर्छ। केही महिनापछि आफ्नो निजी कुरालाई लिएर अर्कोसँग मिलेर सरकार बनाउँछौँ भन्न पाइँदैन। त्यो बाटोमा लाग्यौँ भनेर त्यो अपराध हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर