कमला नदीमा भूत मेला : धामीझाँक्रीको भिड (तस्बिर/भिडिओ) – Nepal Press

कमला नदीमा भूत मेला : धामीझाँक्रीको भिड (तस्बिर/भिडिओ)

जनकपुरधाम । सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीमा मंगलबार बिहान अनौठो मेला लागेको छ । टाढासम्मका गाउँबाट धामी, भगता र सर्वसधारण गरी लाखौं मानिस कमला नदी पुगेर स्नान गरेका हुन् । नदीमा स्थान गर्न पूर्व र पश्चिम दुवैतिर जताततै स्थान गर्नेहरुको एकाविहानैदेखि घुइँचो देखिएको छ ।

कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने र पापबाट मुक्ति पाइने जनविश्वास रहेको छ । कोही धामीझाँक्री बन्ने विश्वासका साथ देउता खैल्दै स्नान गर्छन् भने कोही पापबाट मुक्ति पाउन । गंगा मानेर कमला नदीमा स्नान गरी पूजापाठ गर्दा ‘कमलेस्वरी देवी’ ले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने धामीहरू बताउँछन् ।

प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने यो मेलालाई ‘भूत’ मेला पनि भन्ने गरिएपनि यहाँ तन्त्रमन्त्र सिद्धिका लागि धामीझाँक्रीको भिड लाग्छ । कुलदेवताको पूजापाठ गर्नेलाई ‘भगता’ भन्ने चलन छ । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ ।

तन्त्र शास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यसदिन पूर्णाहुति दिने चलन छ । मिथिलामा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । स्नानको समयमा मूलधामीहरूले लोक भाकामा गीत समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ ।

पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझाँक्रीसँग सर्वसाधारण आशिष थाप्ने गर्छन् ।

नदीमा स्नान गरेपछि भगता, धामी र सर्वसाधारणले त्यहाँको पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानी कुनै पनि कार्य गर्दा छर्केर पहिले शुद्धि गर्न प्रयोग गरिन्छ ।

देउता खेल्दै आएका महिला पुरुषहरू कमला नदीमा स्नान गरी आजै घर फर्किन्छन् । मुख्यतः ग्रामीण भेगका अशिक्षाका कारण टुनामुनामा विश्वास गर्ने महिला-पुरुषहरूको संख्या ठूलो रहेको छ । विशेषगरी दलित समुदायका व्यक्तिहरूको सहभागिता बढी देखिन्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर