आरजू म्याडमका यी भाषण ! कांग्रेसको भोट बढाउँदै कि घटाउँदै ? (भिडिओ) – Nepal Press

आरजू म्याडमका यी भाषण ! कांग्रेसको भोट बढाउँदै कि घटाउँदै ? (भिडिओ)

कैलाली । वैशाख ३० गते स्थानीय तहको निर्वाचनको सरगर्मी तीव्र थियो । वैशाख २२ गते प्रधानमन्त्री पत्नी आरज राणा देउवा कैलालीमा भाषण गर्न पुगेकी थिइन् ।

सो चुनावी भाषणमा उनले आफूलाई मलेसियामा ‘फ्री भिसा फ्री टिकट’ को केही कोटा प्राप्त भएको र उक्त कोटामा त्यस वडाबाट ५-६ जनालाई मलेसिया पठाउन आश्वासन बाँडिन् । आरजूको सो भाषण निकै विवादित बन्यो ।

उनले भनेकी थिइन्, ‘कसैले मलाई फ्री भिसा फ्री टिकटको अलिकति कोटा दिन्छु भनेको छ । यहाँबाट काठमाडौँ जान पनि त्यो उ (खर्च) पर्दैन । सप्पैलाई त हामी गर्न सक्दैनौँ, किनभने यसको मापदण्ड हुन्छ । त्यस्तै छ भने यो वडाबाट ५-६ जनालाई प्रयास गर्छौँ ।’

उनले थपिन्, ‘पहिले इलेक्सन सिद्ध्याऊँ । अनि जीवनजीसँग सम्पर्क गर्नुस् । अलिकति मान्छेलाई केही न केही रोजगारीको बाटो दिन्छौँ ।
फ्री भिसा फ्री टिकटको आश्वासन कैलालीमा मात्रै बाँडिनन् उनले । प्रतिनिधिसभातर्फ डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वारेसमार्फत उम्मेदवारी दर्ता गराउँदा पनि दोहोर्‍याइन् ।

डडेल्धुरामा आफ्नो पार्टी र आफूसम्बद्ध गैरसरकारी संस्था (एनजिओ) ले महिला सशक्तीकरणको क्षेत्रमा काम गरेको बताउँदै उनले भनिन्, ‘युवाको रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्री–भिसा, टिकटमा पठायौँ, यस्तो स्किम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने काम गर्छौँ ।’

स्थानीय तहको निर्वाचनकै प्रचार प्रसार गर्न डडेल्धुरा पुगेकी आरजूले कांग्रेसको मेयर नभएको ठाउँमा सरकारले पैसा नपठाउने चेतावनीसमेत दिएकी थिइन् ।

‘कांग्रेसको मेयर नै हुनुहुन्न त हामीले किन पैसा पठाउँछौँ ? त्यसैले यो कुरालाई पनि ध्यान दिएर यो करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’ उनले भनेकी थिइन् ।

डडेल्धुरामा आरजूको अर्को अभिव्यक्ति पनि विवादित बन्यो । उनले बालुवाटारका लागि डडेल्धुरा जादुको शब्द ‘खुल्जा सिमसिम’ रहेको बताइन् । उनले भनिन्, ‘डडेलधुराको मान्छे जति एक्सेस बालुवाटारमा कसैले पाउँदैन् । डडेलधुरा म्याजिक वर्ड जस्तै हो । खुल्जा सिमसिम भन्ने बित्तिकै खुल्ने । म डडेलधुराको भन्ने बित्तिकै भित्र जान पाउँछ । काठमाडौँको बासिन्दाभन्दा डडेलधुराको बासिन्दाले धेरै गाउँ गाउँ वडा–वडाका साथीहरूले भेट्न पाएका छन् ।’

अघिल्ला विवादित अभिव्यक्तिको शृङ्खला भुल्न नपाउँदै आरजूले फेरी डडेल्धुरामा दिएको अर्को अभिव्यक्ति विवादमा तानिएको छ । गृह जिल्ला डडेल्धुरामा प्रधानमन्त्री देउवालाई भोट माग्दै उनले हेलिकोप्टर चढेर आउन सक्ने व्यक्तिलाई भोट हालेर जिताउन आग्रह गरेकी छन् ।

शुक्रवार गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘जसरी आज हामी हेलिकोप्टरमा आयौँ । आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुस् । नेपाली कांग्रेसको रुख छापमा तपाईँहरूकै गाउँको शेरबहादुर देउवाजीलाई जिताउनुस् ।’

स्थानीय निर्वाचनमा पार्टी प्रचार प्रसारमा आफ्नो विवादित अभिव्यक्तिका कारण आलोचना सहेकी आरजूलाई अहिले पनि त्यही नियति आइलागेको छ । उनको भाषणले कांग्रेसको जनमत बढ्ने भन्दा घट्ने खतरा हुने राजनैतिक विश्लेषकहरूको भनाइ छ ।

‘हेलिकप्टरमा चढेर आउनेलाई जिताउनुहोस् भन्ने कुरा त जनमत घटाउने अभिव्यक्ति हो नि’ राजनैतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘आम मान्छेलाई साइकल र गाडी चढ्न सकस छ । महँगीको मारमा छन् । यस्तो बेलामा निर्वाचन भइरहेको छ । निर्वाचनको बेलामा त्यस्तो अभिव्यक्तिले माहौल अझै बिग्रन्छ ।’

आरजू राणाले बेला-बेलामा दिने यस्ता अभिव्यक्ति नेपाली समाज र यहाँको आर्थिक समस्याको बारेमा नबुझ्नुको परिणाम भएको आचार्यको विश्लेषण छ ।

अर्का राजनैतिक विश्लेषक मुमाराम खनाल पनि आरजू राणा देउवाका अभिव्यक्तिले जनमत बढाउने भन्दा घटाउने काम गर्ने बताउँछन् । प्रधानमन्त्री पत्नीका पछिल्ला अभिव्यक्ति राजनैतिक अपराधको रूपमा खनालले बुझेका छन् ।

‘प्रधानमन्त्रीको श्रीमतीले गैर राजनैतिक अभिव्यक्ति दिनु आचार सहिताको विरुद्धमा मात्रै छैनन् यो राजनैतिक अपराध हो । कुनै सभ्य मुलुकमा यस्तो हुँदैन । त्यो आपत्तिजनक कुरा हो,’ उनले भने, ‘फ्री भिसा फ्री टिकटको कुरा गर्नु, हेलिकप्टर चढ्ने हैसियत हामीले राजनीतिबाट बनायौँ भन्ने कुरा अराजनैतिक अभिव्यक्तिहरू हुन् ।’

निर्वाचनमा आफ्नो उम्मेदवार वा पार्टीलाई जिताउन दिइरहेका यस्ता अभिव्यक्तिले व्यक्तिगत आलोचना मात्र नभई जनमतलाई असर गर्ने खनाल बताउँछन् ।


प्रतिक्रिया

One thought on “आरजू म्याडमका यी भाषण ! कांग्रेसको भोट बढाउँदै कि घटाउँदै ? (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर