कलाकारहरुसँग आयोगको वृहत छलफल, निर्वाचन अभियन्ता बनिदिन आग्रह (तस्बिरहरु) – Nepal Press

कलाकारहरुसँग आयोगको वृहत छलफल, निर्वाचन अभियन्ता बनिदिन आग्रह (तस्बिरहरु)

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार आयोगको कार्यालयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा महानायक राजेश हमालसहित दर्जनौं कलाकार सहभागी भएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागि कलाकाले आफ्ना धारणा तथा जिज्ञासा आयोगका पदाधिकारी तथा उच्च अधिकारीसमक्ष राखेका थिए ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारसँग आग्रह गरेका छन् । उनले निर्वाचनको माहौल निर्माण तथा निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारले निर्वाह गर्ने भूमिका प्रभावकारी हुने बताए ।

थपलियाले कलाकारले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देश प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने संकल्प बोकेको आसन्न निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक रुपमा योगदान दिने अपेक्षा पनि व्यक्त गरे । उनले भने, ‘निर्वाचनलाई दूषित पार्ने प्रचारको डर आयोगलाई छ । यसप्रति आयोग सजग छ ।’

‘नो नट एगेन’का सम्बन्धमा कलाकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले भने, ‘लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न हुँदैन भन्नेमा आयोग स्पष्ट छ । त्यसैले लोकतन्त्रको सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनोस् । सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुल्लारूपमा भन्न सक्नुहुन्छ, अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनु पर्दैन भन्ने मात्रै आयोगको आग्रह हो ।’

मतदातालाई प्रलोभन पारिने खतराका सन्दर्भमा उठेको सवालमा प्रमुख आयक्त थपलियाले जनताको सार्वभौमसत्ता खरिद बिक्रीको विषय हुनै नसक्ने भन्दै निर्वाचनलाई व्यापार ठान्नेले देशको समृद्धि गर्दैनन् भन्ने सन्देश पनि कलाकारले नागरिकका बीच लगिदिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर