दिलमानको चेतावनी- कांग्रेस नेतृत्वले टिकट दिँदा विवेक गुमायो, मंसिर ४ मा हिसाबकिताब हुन्छ – Nepal Press

दिलमानको चेतावनी- कांग्रेस नेतृत्वले टिकट दिँदा विवेक गुमायो, मंसिर ४ मा हिसाबकिताब हुन्छ

धादिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले टिकट वितरण प्रक्रिया गलत भएको कारण पार्टीको निर्णय नमान्ने घोषणा गरेका छन् ।

आईतबार धादिङको किन्ताङफेदीमा आयोजित २६ औं दामन पाख्रिन स्मृति दिवसलाई सम्वोधन गर्दै काँग्रेस नेता पाख्रिनले टिकट बितरण प्रक्रियाबारे असन्तुष्ट जनाउँदै मंसिर ४ मा हिसाव किताव हुने चेतावनी दिए ।

धादिङ २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार निश्चित भइसकेको अवस्थामा नेतृत्वले विवेकहीन निर्णय गरेर आफूलाई पाखा पारेकाले तत्कालै गल्ती स्वीकार गरेर वैकल्पिक प्रस्ताव नल्याए मंसिर ४ मा हिसाबकिताब हुने उनले बताए ।

नेपाली काँग्रेस धादिङका संस्थापक एवम पूर्व सांसद दामन पाख्रिनको स्मृतिमा दामन पाख्रिन स्मृति प्रतिष्ठानले निर्वाचनक्षेत्रमै आयोजना गरेको कार्यक्रममा दिलमानले गरेको यो घोषणाले कांग्रेस उम्मेदवार रामनाथ अधिकारी दबाबमा परेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाख्रिनले गठबन्धनको नाममा भएको निर्णय मान्न नसकिने र गठबन्धनका कारण दलहरुको अस्तित्व नै समाप्त हुन लागेको समेत बताए । नेपाली काँग्रेस संसदीय बोर्डले धादिङ २ बाट पाख्रिनलाई टिकट सिफारिस गरेको भएपनि अन्तिम समयमा आएर जिल्ला सभापति रामनाथ अधिकारीले टिकट पाएका थिए ।

आफूलाई सिफारिस गरिएको टिकट अधिकारीले पाएपछि पाख्रिनले पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै आईरहेका छन् । पार्टी सभापति देउवा निकट रहेका पाख्रिनले टिकट नपाएपछि उनका समर्थकहरु आक्रोशित देखिएका छन् । पाख्रिनले पार्टीको निर्णय उत्तरी धादिङले नमान्ने बताए ।

चुनावको टिकट वितरण प्रक्रियामा केन्द्रीय नेतृत्वले धादिङको भुगोल र जनताको रोजाई अनुसारको व्यक्ति उम्मेदवार छनोट गर्न नसकेको पाख्रिनको गुनासो छ । उनले यसलाई जातीय विभेदको विषयसमेत बनाएका छन् ।

नेपाली काग्रेस पार्टीमा आफ्नो तीन पुस्ताको लगानी रहेको भन्दै पाख्रिनले नेतृत्वले समयमा नै सोचेर बुद्धि पुर्याएर टिकट वितरणमा अन्याए भएको रहेछ भनेर नसच्चिए मंसिर ४ मा त्यसको हिसाबकिताब हुने चेतावनी दिए ।

आफ्नो बोली दिलमान पाख्रिनको मात्र नभई सिङगो धाादिङको उत्तरी क्षेत्रका जनताको साझा बोली रहेका भन्दै उनले आदिवासी जनजातिहरुकोे ढुकढुकी बन्न आफू सफल भएकाले कोही डराउन र आत्तिन नपर्ने बताए । कार्यक्रममा दिलमान समर्थित नेपाली काँग्रेसका नेता कार्यकर्ता र शुभचिन्तकहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

टिकट बितरणपछि पार्टीको औपचारिक कार्यक्रममा कतै पनि नदेखिएका पाख्रिनको उपस्थितिमा आईतबार भएको सभाले पार्टीभित्रको विवाद र असन्तुष्टीलाई छताछुल्ल पारिदिएको छ ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै वागी उम्मेदवारी दिएका काँग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले भने उम्मेदवारी फिर्ता लिएर पार्टीको उम्मेदवारको पक्षमा मत माग्दै हिंडिरहेका छन् । पाख्रिन पक्षका नेता कार्यकर्ता भने अहिलेसम्म चुनावी कार्यक्रममा अनुपस्थित छन् ।

दामनको उत्तराधिकारी दिलमान

नेपाली काँग्रेस धादिङका संस्थापक एवम पूर्व सांसद दामन पाख्रिन दिलमानका बुवा हुन । स्वर्गीय दामनको स्मृतिमा दामन पाख्रिन स्मृति प्रतिष्ठानले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

धादिङको सत्यदेवी घर भएका पाख्रिन २०४७ सालमा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनी लामो समय नेपाली काँग्रेस धादिङको सभापतिसमेत भएका थिए ।

स्वर्गीय पाख्रिनका छोरा दिलमान २०७० मा संविधान सभामा नेपाली कांग्रेसको तर्फवाट समानुपातिक सभासद थिए भने २०७४ भदौमा कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री नियुक्त भएका थिए । मन्त्री रहेकै बेला पाख्रिनले २०७४ को निर्वाचन नेकपा एमालेका उम्मेदवार खेम लोहनीसँग झिनो मतले पराजित भएका थिए ।

त्यति बेला पाख्रिनले ३५ हजार ६ सय १६ मत पाएका थिए भने चुनाव जितेका लोहनीले ३६ हजार २ सय ५६ मत ल्याएर विजयी भएका थिए ।

अघिल्लो निर्वाचनमा एमाले माओवादी गठबन्धनका कारण पराजय भोगेका पाख्रिन यस पटक उम्मेदवार भएर चुनाव जित्न चाहन्थे । काँग्रेसले रामनाथ अधिकारीलाई टिकट दिएको छ भने एमालेबाट खेम लोहनी चुनावी मैदानमा छन् । अधिकारीलाई सत्ता गठवन्धनको साथ छ भने लोहनीलाई राप्रपाले समर्थन गरेको छ ।

एक नागरपालिका र ६ गाउँपालिका रहेको धादिङ क्षेत्र नम्बर २ मा कुल १ लाख ३३ हजार ६ सय ४२ मतदाता रहेका छन् । यस क्षेत्रबाट ६ राजनैतिक दल र ८ स्वतन्त्र गरी १४ जना चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धा भने सत्ता गठवन्धन र एमालेका बीच हुने देखिन्छ ।

यस क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार बिरुद्ध टिकानिधि काप्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दिलमान पक्षधरले पार्टीका उम्मेदवारलाई समर्थन नगर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बसुमाया तामाङ र स्वतन्त्र उम्मेदवार काप्रीको पक्षमा मत जानसक्ने देखिएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर