आफ्नो बाल्यकालको क्लबलाई दुई उपाधि जिताएर विश्वकप खेल्न जाँदै स्वारेज – Nepal Press

आफ्नो बाल्यकालको क्लबलाई दुई उपाधि जिताएर विश्वकप खेल्न जाँदै स्वारेज

काठमाडौं । लुइस स्वारेजले आफ्नो बाल्यकालको क्लब नेसिनललाई ६ महिनामा दुई उपाधि जिताएर ‘गुडबाई’ भनेका छन्।

स्वारेज यसै वर्ष उरुग्वेको प्रिमियर लिग क्लब नेसिनलसँग आबद्ध भएका थिए। स्वारेजको प्रिमियर लिग क्लब करियर नेसिनलबाट सुरु भएको थियो।

उनी सन् २००१ देखि २००६ सम्म नेसिनलमा रहेका थिए। स्वारेज गत समरमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँगको सम्झौता सकिएपछि नेसिनलमा फर्किएका थिए। स्वारेजकै प्रदर्शनमा नेसिनलले यो वर्ष उरुग्वेको प्रिमियर लिग फुटबल र अर्को एक प्रतियोगिता जितेको हो।

नेसिनलबाट विदा हुने क्रममा स्वारेज भावुक बनेका छन्। ‘गुडबाई भन्न चाहन्छु। अब म यहाँ खेल्ने छैन। तर कुनै विन्दुमा म यो क्लबमा आबद्ध हुने छु। मैले धेरै पहिला भनेको थिएँ यहाँ आउने छु भनेर किन भने म यहाँ फर्किन चाहन्थेँ’ ३५ वर्षीय यी स्ट्राइकरले विदाई समारोहको सम्बोधनमा भनेका छन्, ‘जुन जर्सीसहित म जन्मिएको थिएँ त्यसमा फेरी च्याम्पियन हुन पाउँदा सपना पुरा भएजस्तो भएको छ।’

नेसिनल छाडेपछि स्वारेजले नेदरल्यान्ड्सको आयाक्स, इङ्ल्यान्डको लिभरपुल तथा स्पेनको बार्सिलोना र एट्लेटिको म्याड्रिडबाट खेलेका थिए।

यस पटक नेसिनलबाट खेल्ने क्रममा उनले १६ खेलमा ८ गोल गरेका थिए। अब उनी कहाँबाट क्लब फुटबल खेल्छन् भन्नेबारे केही बताएका छैनन्। तर अबको उनको पहिलो लक्ष्य आसन्न विश्वकप हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर