गृहमन्त्री खाडले शक्तिको दुरुपयोग गरेको राप्रपा नेता राणाको आरोप – Nepal Press

गृहमन्त्री खाडले शक्तिको दुरुपयोग गरेको राप्रपा नेता राणाको आरोप

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमशेर राणाले गृहमन्त्री बालकृष्ण खाणले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

उनले शक्तिको दुरुपयोग गरिरहेको भनेर आफूले विभिन्न माध्यमबाट थाहा पाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए ।

उनले भने, ‘सरकारका वर्तमान गृहमन्त्री पनि प्रतिस्पर्धीको रूपमा छन् रे, उनले प्रहरी प्रशासनको दुरुपयोग गरेको भन्ने सूचना आएको छ । म उहाँलाई चेतावनी दिन चाहन्छु, राज्य शक्तिको दुरुपयोग नहोस् ।’

रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताउन उनले आग्रह गरेका छन् । सोमबार भैरहवामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दीपक बोहरा विकासको लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मंसिर ४ गतेको निर्वाचनमा मत दिनुस् हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौँ ।’

राणाले दीपक बोहराको जित सुनिश्चित रहेको दाबी गर्दै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे ।

उनले भने, ‘दीपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न बाँकी छ, दीपकको जीत राष्ट्रियता र अखण्डताको लागि पनि आवश्यक छ । ’

राणाले रुपन्देही क्षेत्र नम्बर ३ को सवालमा सबै राप्रपाका सदस्यहरूले प्रतिनिधिसभा सदस्यमा हलोमा र प्रदेशमा छाता र सूर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे । उनले भने, ‘प्रतिनिधिसभामा हलोमा, प्रदेशको ३ (१) मा छाता र ३ (२) मा सूर्यमा मतदान गर्ने हो ।’

उनले कांग्रेसको कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरु एक भएर लाग्ने समेत बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नेतृत्वले दीपकको विजयीको लागि कुनै कमी नराख्ने बताउँदै एमाले र जसपाको राजनैतिक इमान्दारितासँगै विजयीको सुनिश्चितता रहेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर