वागमती सरकारविरुद्ध अख्तियारमा उजुरी, टुक्रे योजना बनाएर कार्यकर्तालाई दिएको आरोप – Nepal Press

वागमती सरकारविरुद्ध अख्तियारमा उजुरी, टुक्रे योजना बनाएर कार्यकर्तालाई दिएको आरोप

हेटौँडा । टुक्रे योजना बनाएर विकास बजेटबाट कार्यकर्तालाई फाइदा पुग्नेमात्र काम गरेको भन्दै वागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

संघीयताको मर्मविपरीत स्थानीय सरकारलाई बेवास्ता गर्दै उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको उजुरीमा उल्लेख छ ।

प्रदेश मन्त्रिपरिषद्को २०७८ फागुन ६ गतेको निर्णयले विनियोजनन विधेयकविपरीत २२ सय ९९ वटा योजनामा रकमान्तर गरेको गरेर पाँच लाखको टुक्रे योजना उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने निर्णय संविधान र कानूनविपरीत भएको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौँडा सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए । प्राविधिक लागत स्टिमेट नगरी नै प्रदेश सरकारले योजना निर्माण र रकम विनियोजन गर्नु अख्तियारको दुरुपयोग भएको उजुरीमा जिकिर गरिएको छ ।

उपभोक्ता समिति बनाउँदा जनप्रतिनिधि आवश्यक नहुने, योजना छनौट गर्दा समेत स्थानीय सरकारलाई खबर गर्नुनपर्ने भएपछि प्रदेश सरकारले केही कार्यकर्ताहरूसँगको मिलेमतोमा योजना निर्माण गरेर सो योजनामा विनियोजन भएको रकम हिनामिना गर्न खोजेको उजुरीमा भनिएको छ ।

सरकारले विनियोजन विधेयकविपरीत टुक्रे योजना बनाएर संविधान र संघीयताको मर्म विपरीत काम गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहितका दलले आलोचना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर