१३२ केभीको सुनवल सबस्टेसन निर्माण एक महिनामा सक्ने लक्ष्य – Nepal Press

१३२ केभीको सुनवल सबस्टेसन निर्माण एक महिनामा सक्ने लक्ष्य

काठमाडौं । निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसन त्यस क्षेत्रमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्नेगरी एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।

१३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभीएका दुईवटा, २२.५ एमभीएको एक वटा पावर ट्रान्सफर्मर रहने छन् । स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने बताइएको छ । हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिने तयारी छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छ ।

‘परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योगहरूलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिंदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरुबाट आउने गरेको छ’, घिसिङले भने ।

यो सबस्टेसन चालूसँगै विद्युत समस्या हट्नै साथै प्राविधिक चुहावट पनि घट्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर