शेरबहादुर देउवा नै अबको प्रधानमन्त्री, उहाँ अरुजस्तो मै हुँ भन्दै हिँड्नुहुन्न : प्रवक्ता महत – Nepal Press
नेपाल टक

शेरबहादुर देउवा नै अबको प्रधानमन्त्री, उहाँ अरुजस्तो मै हुँ भन्दै हिँड्नुहुन्न : प्रवक्ता महत

चुनावपछि पनि यही गठबन्धन, कांग्रेसकै नेतृत्वमा सरकार

कैलाली । मङ्सिर ४ गतेको निर्वाचन आउन अब २ सातामात्रै बाँकी छ । निर्वाचनको सरगर्मी सबैतिर बढेको छ । अहिले पाँचदलीय सत्ता गठबन्धन र एमालेको नेतृत्वमा अर्काे गठबन्धन आमनेसामने छन् । सत्ता गठबन्धन मिलेर बहुमत ल्याउने दाबी गरिरहेका बेला नेकपा एमालेले भने एक्लै १५० सीट जित्ने दाबी गरेको छ । नेकपा एमालेले सरकार बनाउने अवस्था आए केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । सत्ता गठबन्धनबाट सरकार निर्माण हुने अवस्था आए प्रधानमन्त्रीको विषय पेचिलो बन्ने देखिएको छ । 

अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् । यता कांग्रेसभित्र सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापालगायतले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनमा प्रधानमन्त्रीका बारेमा अझै औपचारिक छलफल भएको छैन । तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने भावी प्रधानमन्त्री देउवा नै हुने दाबी गर्छन् ।  प्रस्तुत छ, पार्टीभित्र देउवा निकट मानिने प्रकाशशरण महतसँग गरिएको कुराकानी नेपाल टकमाः

– आगामी निर्वाचनमा कति क्षेत्र जित्ने तपाईंहरूको लक्ष्य छ ?

अहिलेसम्म हामी गठबन्धन किन आवश्यक छ भन्नेबारे मतदातालाई बुझाइरहेका छौं । त्यसो भएको हुँदा अहिले सीट यति आउँछ भन्नु भन्दा पनि अधिकांश ठाउँमा हामी जित्छौं । गठबन्धनका अन्य दललाई दिएको क्षेत्रमा पनि हामी इमानदारीपूर्वक सघाउँछौं ।

– गठबन्धनको मत कांग्रेसले कति पाउँछ भन्ने ठेगान नहुँदा कति सीट जित्छौं भन्न नसक्नुभएको हो ?

हामी एकदमै राम्रो बहुमत लिएर आउँछौं । हामी दुईतिहाइ, तीनतिहाइ भनेर दाबी गर्दैनौं । राम्रो बहुमतसहित यो गठबन्धनले जित्छ । त्यसपछि यही गठबन्धनले सरकार बनाउने हो ।

हामी एकदमै राम्रो बहुमत लिएर आउँछौं । हामी दुईतिहाइ, तीनतिहाइ भनेर दाबी गर्दैनौं । राम्रो बहुमतसहित यो गठबन्धनले जित्छ ।

– प्रचण्ड, देउवा, थापा, कोइराला, पौडेल सबै अहिले प्रधानमन्त्री भन्दै हिँडिरहनु भएको छ । यी सबै प्रधानमन्त्री त बन्दैनन् । अब भन्नुहोस्, तपाईंहरूको सरकार बन्ने भए प्रधानमन्त्री को बन्नुहुन्छ ?

कतिपयले आफ्नो निर्वाचन क्षेत्रमा हिँड्दा आफ्नो नतिजामा प्रभाव पर्छ भन्नको लागि प्रधानमन्त्री बन्छु भन्नुभएको होला । स्वाभाविक रुपमा यो गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । अहिले पनि १६५ निर्वाचन क्षेत्रमा ९१ सीट कांग्रेसले राखेको छ । बाँकी गठबन्धनमा जोडिएका ४ दलले लिएको छ । त्यसबाट पनि नेपाली कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको छ भन्ने पुष्टि हुन्छ ।

त्यसकारण आगामी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्छ । त्यसको नेतृत्व सभापतिले गर्नुहुन्छ भन्ने स्वाभाविक कुरा छ । यसमा औपचारिक निर्णय भएको छैन । अहिले हामी सबै शक्ति धेरै क्षेत्र जित्नेमा छौं ।

– गठबन्धनले बहुमत ल्याए देउवा प्रधानमन्त्री बन्नुहुन्छ भन्नुहुन्छ, रामचन्द्र पौडेल, गगन थापा, शशाङ्क र शेखर कोइरालाले जिते कसरी फकाउनु हुन्छ ?

पहिला हामी बढीभन्दा बढी जितेर जानुपर्छ । त्यसपछि संसदीय दलमा जसलाई जे चाहना छ, त्यो व्यक्त गर्न स्वतन्त्र हुन्छ । उम्मेदवारहरूले त्यो वेला दिए भइहाल्छ नि ! अहिले नै त्यो विषयमा भनेर हिँड्ने कुनै औचित्य देख्दिनँ ।

– अहिले एमालेले ओलीलाई देखाएर मत मागिरहेको छ, माओवादी केन्द्रले प्रचण्डलाई देखाइरहेको छ । तपाईंहरूको पार्टीमा त्यस्तो अनुहार नभएको हो ?

जसको पक्षमा अहिले परिणाम आउँदै छैन उहाँहरूले त्यो भनिरहनुपर्ने अवस्था हो । ओलीजीको पक्षमा अहिले परिणाम आउने अवस्था छैन, उहाँहरूले त्यो भनिरहनु हुन्छ । हामीले धेरै बाजा बजाउनुपर्ने अवस्था छैन । हो-हल्ला गर्नुपर्ने अवस्था छैन ।

– अहिले नेपाली कांग्रेसको समानुपातिक ‘तरमारा’हरूको कब्जामा गएको आरोप लाग्छ नि ?  गोपालमान, विमलेन्द्र निधि, तपाईं आफैं, आरजु राणा यी त उदाहरणमात्रै हुन् । मैले नाम लिएकाहरूका लागि हो समानुपातिक प्रणाली ?

हाम्रो निर्वाचन प्रणाली दुई प्रकारको छ । संविधानले मिश्रित निर्वाचन प्रणाली भनेको हो । के समानुपातिक खाली राख्न सक्नुहुन्छ तपाईं ?

– तपाईंहरूको नाम नराख्दैमा त्यो खाली हुन्छ र ? तपाईंहरू जस्ताको लागि संविधानमा समानुपातिक प्रणाली परिकल्पना गरिएको हो त ?

म भन्दै छु त, ४० प्रतिशत सीट तपाईं खाली राख्नुहुन्छ ? त्यहाँ पनि पार्टीका महत्त्वपूर्ण साथीहरु नै जाने हो । म त नुवाकोटबाट निर्वाचन लड्न चाहन्थे । त्यो स्वाभाविक रुपमा नेपाली कांग्रेसको क्षेत्र हो । अहिले पनि हाम्रो मत बढी छ । गठबन्धनको सीट बाँडफाँड गर्दा जसले जहाँ जितेको छ, त्यहाँ लिनेभन्दा त्यहाँ माओवादीलाई भाग परेको हो ।

मलाई पनि कुनै समानुपातिकमा बस्ने रहर होइन । पार्टी नेतृत्वले गठबन्धनमा त्यहाँ माओवादीलाई भाग पारेपछि तपाईं समानुपातिक १ नम्बरमा बस्दिनुहोस्,  प्रचारको जिम्मा लिइ दिनुहोस् भनेको हुँदा पार्टी नेतृत्वलाई सम्मान गरेर म समानुपातिक बसेको हुँ । कुनै तर मार्नको लागि बसेको होइन ।

मलगायत सबै साथीहरू जो समानुपातिकमा हुनुहुन्छ योग्यताकै आधारमा त्यहाँ हुनुहुन्छ । त्यसमा तिक्तता पोखेर केही हुँदैन ।

ओलीजीको पक्षमा अहिले परिणाम आउने अवस्था छैन, उहाँहरूले त्यो भनिरहनु हुन्छ । हामीले धेरै बाजा बजाउनुपर्ने अवस्था छैन । हो-हल्ला गर्नुपर्ने अवस्था छैन ।

– एमाले अध्यक्ष ओलीले मेची किनारको मान्छेले कालापानी देखेको तर, महाकाली किनारको मान्छेले नदेखेको भन्दै तपाईंहरूको सभापतिलाई भन्नुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा किन कांग्रेस बोल्न सक्दैन ?

शेरबहादुर देउवालाई जति यसको मर्म र भावना कसैलाई थाहा छैन । उहाँले पटक-पटक यस विषयमा छलफल सुरु गर्नुभएको छ । उहाँले कूटनैतिक टेबलमा कुरा राख्नुभएको छ । ओलीजी हुँदा कहाँ राख्नु भयो ? देशभित्र त उहाँले ठूला कुरा गर्नुभयो । संसदमा पनि कुरा गर्नुभयो । त्यसपछि उहाँले केही गर्नुभएन । नेपाली जनताको भावनासँग मात्र खेल्नुभयो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि यो कुरा पहल भएको हो नि ! कूटनैतिक टेबलमा तर्कसहित आधार प्रमाणसहित राखेर आफ्नो कुरा गराउने हो । हल्ला गरेर हिँडेर भाषण गरेरमात्रै त्यो प्राप्ति हुँदैन ।

– तपाईं कैलाली ५ मा आउनुभएको छ । अघिल्लो पटक प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पराजित भए पनि अहिले फेरि उहाँ लड्ने चर्चा थियो । तर, जीत निकाल्न सहज नभएपछि समानुपातिक बसेको र कमजोर उम्मेदवारलाई प्रत्यक्षमा लडाएको आरोप छ नि ?

उहाँ हार्ने कारणले नलडेको होइन । उहाँ जित्नुहुन्थ्यो । तर, उहाँको स्वास्थ्य समस्याले गर्दा ब्याक हुनुभएको हो । उहाँ क्षमता भएको व्यक्तित्व हो । त्यस अर्थमा उहाँलाई समानुपातिक सूचीमा राखेर पनि संसदमा पुर्‍याउनुपर्छ भन्ने हो ।

अहिले पनि हामी यहाँ जित्छौं । कैलालीको १ मा रामजनमजी, ४ मा वीरबहादुरजी पनि जित्नुहुन्छ । अन्य दुई क्षेत्र गठबन्धनका अन्य दललाई परेको छ । त्यहाँ पनि ती दलहरू विजय हुन्छन् ।

– अन्तमा, सत्ता गठबन्धन चुनावसम्म मात्रै हुन्छ कि पछि पनि हुन्छ ? 

निर्वाचनपछि पनि यही गठबन्धन रहन्छ । यही गठबन्धनको सरकार बन्छ । त्यसको नेतृत्व स्वाभाविक नेपाली कांग्रेसले गर्छ । त्यसको प्रधानमन्त्री स्वाभाविक शेरबहादुर देउवा हुनुहुन्छ ।

शेरबहादुर देउवा मै हुँ भन्दै हिँड्ने मान्छे होइन । त्यो उहाँको स्वभाव नै छैन । तर, सरकारको नेतृत्व स्वाभाविक रूपले उहाँले गर्नुहुन्छ ।


प्रतिक्रिया

One thought on “शेरबहादुर देउवा नै अबको प्रधानमन्त्री, उहाँ अरुजस्तो मै हुँ भन्दै हिँड्नुहुन्न : प्रवक्ता महत

  1. खव पनि देउवा भए देश भड्खालोमा जान्छ । उनी कमाएको गुटमुट्याएर बाटो लाग्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर