साेलुखुम्बुमा बन्याे १५ शय्याकाे ‘हिमालयन शेर्पा अस्पताल’, राष्ट्रपतिले गरिन् उद्घाटन – Nepal Press

साेलुखुम्बुमा बन्याे १५ शय्याकाे ‘हिमालयन शेर्पा अस्पताल’, राष्ट्रपतिले गरिन् उद्घाटन

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङमा १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गरेकी छन् ।

उद्घाटनपछि सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताइन् । संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन् । स्थापित यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनले बताइन् । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरिन् । यसका लागि स्थानीय तहको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले बताइन् । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् ।

स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिइन् ।

सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताइन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको उल्लेख गरिन् ।

वैज्ञानिक अध्ययन अनुसन्धानका साथै आफ्नै आँखाले पनि जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा देख्न पाइएको उनको भनाइ थियो । वातावरण जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सबैले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रियसभाका सदस्य सोनाम गेल्जेन शेर्पा स्वास्थ्य सेवा सबैको मौलिक अधिकार भएको बताए । अबका दिनमा उपचारमा मात्र ध्यानकेन्द्रित नगरी स्वास्थ्य शिक्षामा ध्यान आवश्यक भएको उनले बताए । नागरिकलाई बिरामी हुन नदिनु नै प्रमुख कुरा भएको उल्लेख गर्दै त्यसतर्फ सबै सचेत हुन आवश्यक भएको बताए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले विकट क्षेत्रमा अस्पतालको आवश्यकता रहेका बेला हिमालयन शेर्पा फाउण्डेशनले स्थापना गरेको यस अस्पतालबाट नागरिकलाई ठूलो राहत पुगेको बताए । यसबाट गाउँपालिकाका ११ वटा गाउँका १० हजारभन्दा बढी नागरिकलाई उपचार गर्न सहज हुने बताए ।

आर्थिक अवस्था कमजोर भएको गाउँपालिकामा बिरामी उपचार गर्न समस्या भएका बेला अस्पताल स्थापना हुँदा स्थानीयलाई राहत मिलेको उहाँले उल्लेख गर्नुभयो । सबैभन्दा बढी फाइदा स्थानीयका साथै यहाँ घुम्न आउने पर्यटकलाई भएको उनको भनाइ थियो ।

सो अवसरमा अस्पतालका संस्थापक हिमालयन शेर्पा फाउण्डेशनका अधयक्ष पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले अस्पताल स्थापना गर्नुको उद्देश्यबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । स्थानीय र पर्यटकले उपचार अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै अस्पताल स्थापना गरेको उनको भनाइ थियो ।

पर्यटक लेक लागेर बीचमै भ्रमण गर्ने इच्छा त्यागेर आफ्नो देश फर्किने गरेका तथा स्थानीय लेक लागेर ज्यानै गुमाउनुपर्दाको अवस्थाबारे उनले राष्ट्रपति भण्डारीसमक्ष अवगत गराएका थिए । बिरामीलाई घण्टौँ टाढा लुक्ला अस्पताल लैजानुपर्दाको पीडाबाट प्रभावित भई अस्पताल स्थापना गरेको उनले बताए ।

यसका लागि विदेशी दाताहरुको सहयोग महत्वपूर्ण रहेको उनले उल्लेख गरे । पर्यटन व्यवसायी शेर्पा परिवारले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिकाको फाक्दिङमा सुविधायूक्त १५ शय्याको अस्पताल निर्माण गरेको हो । यो अस्पताल निर्माण गर्न करिब रु २० करोड लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले जानकारी दिइन् ।

अस्पताल कोङ्दे हिमालको काखमा (दुई हजार ६१० मिटर) उचाइमा अवस्थित छ । सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन स्थापना गरेको हो । स्थानीयलाई निःशुल्क र विदेशीलाई सहुलियत शुल्क लिएर उपचारको थालनी आजैदेखि गरिएको संस्थापक शेर्पाले बताइन् ।

नाफा कमाउने उद्देश्यले नभई स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन खोलेको शेर्पाको भनाइ छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन फाउन्डेसनले गर्नेछ । उपचारबाट आउने रकम फाउन्डेसनका नाममा रहने र सोही रकमबाट चिकित्सकलाई तलबसहित अन्य सेवासुविधा उपलब्ध गराइनेछ ।

यस अस्पतालमा अल्टिच्युड, फुड पोइजन, चोटपटक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उपचार हुने हुँदा यस क्षेत्रको पर्यटन पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । अहिलेसम्म यस क्षेत्रका बासिन्दा बिरामी पर्दा नाम्चे उक्लनुपर्ने वा लुक्ला झर्नुपर्ने बाध्यता थियो ।

जुलाई, २०१७ मा नै शिलान्यास गरिएको अस्पताल कोभिड-१९ का कारण निर्माणमा ढिलाइ भएको शेर्पाले बताइन् । जर्मनीका नागरिक डा मथेस बाउमेनले रु पाँच करोड र अन्य दाताबाट थप रु दुई करोड सहयोग प्राप्त भएको संस्थापक शेर्पाले जानकारी दिइन् । हाल अस्पतालमा एक जना डाक्टर र तीन जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ । त्यसका लागि रु ५० लाख रकम खर्च हुने बताइएको छ । एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातफै मौसम खराबी हुँदा काठमाडौँसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर