चुनाव-७९ : कर्णालीका महिलालाई समानुपातिककै भर – Nepal Press

चुनाव-७९ : कर्णालीका महिलालाई समानुपातिककै भर

सुर्खेत । नेपालको संविधानले महिलाको उत्थानका लागि समानताको हक सुनिश्चित गरेको छ । धारा ३८ (४) र धारा ४२ ले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराइनुपर्ने उल्लेख छ। तर, कर्णालीका मुख्य राजनीतिक दलका उम्मेदवार हेर्दा यतातिर ध्यान दिएको पाइँदैन । समानता र समावेशीको रटान दिएर नथाक्ने ठूला दलहरू उम्मेदवारीमा भने महिलाप्रति अनुदार देखिएका छन् ।

१२ प्रतिनिधिसभा र २४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कर्णालीमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चा सम्मिलित सत्तागठबन्धनले प्रतिनिधिसभामा एकजना उम्मेदवार बनाएको छ । एमालेको पनि संघ र प्रदेश कहीँ महिला उम्मेदवार छैनन् । गठबन्धनबाट माओवादीले जुम्लाकी पूर्व पशुपन्छी विकास राज्यमन्त्री गोमा गौतम कुँवरलाई उम्मेदवार बनाएको छ ।

यसअघि २०७४ को निर्वाचनमा समानुपातिकबाट मात्रै महिला प्रतिनिधित्व भएकोमा यसपालि भने गठबन्धन दल माओवादीले प्रत्यक्षतर्फ जुम्लाबाट महिला उम्मेदवार अगाडि सारेको छ । ७४ मा कर्णाली प्रदेशसभामा समानुपातिकतर्फ १३ जना महिला सदस्य चुनिएका थिए । अघिल्लो चुनावमा पनि प्रत्यक्षतर्फ महिलालाई शून्य बनाएका दलहरूले सोही प्रवृत्ति दोहोर्‍याएको भन्दै टिप्पणी बढेको छ ।

१० जिल्ला रहेको कर्णाली प्रदेशमा यस पटक प्रतिनिधिसभाका लागि तीन जिल्लाका ५ जना महिलाले चुनावी प्रतिस्पर्धा गर्दैछन् । भने बाँकी ७ जिल्ला महिलाविहीन बनेका छन् । पुरुष प्रधान बनेका ठूला दलका सामु साना दलले भने प्रतिनिधिसभाका लागि महिला उम्मेदवार खडा गरेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतको क्षेत्र नम्बर २ मा नेपाल मजदुर किसान पार्टीले तुल्सी खड्कालाई उम्मेदवार बनाएको छ । खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका हृदयराम थानी र एमालेका अमृतकुमार बीसीसँग प्रतिस्पर्धा गर्दै छिन् । तुलनात्कमरूपमा यस क्षेत्रमा गठबन्धन र एमाले नै बलियो छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटपछि बनेको राप्रपा नेपालको तर्फबाट यसै क्षेत्रका लागि वीरेन्द्राकुमारी चन्द उम्मेदवार बेनकी छन् । यसै क्षेत्रबाट पहिलोपटक चुनावी प्रतिस्पर्धामा नेश्नलिष्ट पिपल्स पार्टीकी कुमारी राई देखा परेकी छन् । पूर्वराज्यमन्त्रीसमेत रहेकी जुम्लाकी गोमा गौतम कुँवर गठवन्धनका तर्फबाट राप्रपाका ज्ञानेन्द्र शाही र एमालेका रतननाथ योगीसँग प्रतिस्पर्धा गर्दै छिन् । जुम्लामा सांगठनिक हिसाबले एमाले कमजोर मानिए पनि योगी व्यक्तिगतरूपमा जनाधार भएका व्यक्ति मानिन्छन्, भने शाहीले पछिल्लो समय जनमत बटुल्दै गएकाले कुँवरलाई यस पटकको चुनाव भारी हुने आँकलन गरिएको छ । यद्यपि जुम्लामा गठबन्धन बलियो छ ।

यसअघि राप्रपाबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी राप्रपा महामन्त्री दैलेखकी कुन्तीकुमारी शाही दैलेख क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेकी छन् । शाहीले गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका अमरबहादुर थापा र एमालेका रविन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्ने छिन् ।

कर्णालीमा महिला सहभागिताका सम्बन्धमा राप्रपा नेतृ शाही भन्छिन्, ‘पुरुषवादी राजनीतिक चेतनाका कारण कर्णालीमा महिला राज्यको मुल प्रभावमा आउन सकेका छैनन्, जनताका माझ राम्रो मान्छे, राष्ट्रका लागि केही गर्न सक्ने सोच भएका महिलालाई राजनीतिको मुल प्रवाहमा आउन नदिने पुरुषवादी सोचले नै महिलाको प्रतिनिधित्व हुन सकेको छैन ।’

समग्र कर्णालीको समृद्धि र विकासका लागि संघीय संसदमा सशक्त आवाज उठाउन योग्य उम्मेदवारको रूपमा आफूलाई छान्ने जिम्मेवारी दैलेखी जनताको रहेको शाहीको भनाइ छ । समाजवादीकी पूर्व प्रदेशसभा सदस्यसमेत रहेकी रुकुमकी देवी वली संविधानमा व्यवस्था भए अनुसार प्रदेश र प्रतिनिधिसभामा महिला सहभागिता नहुनुमा नेताहरूमा रहेको पित्तृसतात्मक र सामान्तवादी प्रवृत्ति रहेको बताउँछिन् ।

‘म यसअघि समानुपातिक सदस्य थिए, यसपालि प्रत्यक्षमा दाबी थियो, हामीले पार्टीको आन्तरिक बैठकमा ३३ प्रतिशत महिलाको उपस्थिति हुनुपर्छ भनेका थियौं, तर त्यसो हुन सकेन’, वलीले भनिन्, ‘गठबन्धन भएपनि पार्टीलाई परेको भागका आधारमा महिला सहभागिता गराउन सकिन्थ्यो, हामीले गठबन्धनको छलफलमा पनि यो कुरा राखेका थियौं । तर, नेतृत्वले सुनेन अत्यन्तै दु:खी छौं ।’

२४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कर्णालीमा १५ राजनीतिक दल र स्वतन्त्र गरी ११६ जना उम्मेदवार मैदानमा उत्रिँदा तीनजनामात्र महिला छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेशभर सबैभन्दा बढी नेकपा एमालेबाट २४, दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २१, तेस्रोमा नेपाली कांग्रेसबाट १२, नेपाल मजदुर किसान पार्टीबाट १२, माओवादी केन्द्रबाट १० जना उम्मेदवार बनेका छन् । यस्तै, समाजवादीका ६, जनता समाजवादीका ५, राप्रपा नेपालका तीन र नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेकपा माओवादी समाजवादी, नेपाली कांग्रेस (बी.पी), हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक पार्टीबाट एक/एक गरेर जम्मा ७ जना उम्मेदवार बन्दा स्वतन्त्रबाट १६ जना प्रतिस्पर्धामा छन् । तीन जना महिला उम्मेदवार नेपाल मजदुर किसान पार्टीबाट छन् ।

नेमकिपाले दैलेख निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (२) मा लक्ष्मीकुमारी सिंह, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (२) मा मनकली रामजाली र सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा विजुकला राना मगरलाई उठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर