चुनाव बहिष्कार गर्दै विप्लव समूहसहित तीन पार्टीले गरे आन्दोलनको घोषणा (भिडिओ) – Nepal Press

चुनाव बहिष्कार गर्दै विप्लव समूहसहित तीन पार्टीले गरे आन्दोलनको घोषणा (भिडिओ)

काठमाडौं । चुनाव बिथोल्ने निर्णय गरेका विप्लव समूह लगायत तीन कम्युनिष्ट पार्टीले मंसिर ४ को निर्वाचन खारेजीको अभियानसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  विप्वल समूहलगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

निर्वाचन खारेजी/बहिष्कारको गर्ने बताउँदै उनीहरूले आफूहरूको आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् । यी तीन पार्टीले निर्वाचनको विरोधमा कात्तिक २४-३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिबास, पोखरा, सुर्खेत र धनगढीमा सभाको कार्यक्रम तय गरेका छन् । २६ देखि ३० गतेसम्म देशका विभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिए । अहिलको व्यवस्थाको विरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफूहरूको संघर्ष भएको उनको भनाइ थियो ।

विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले क्रान्तिपछि उपलब्ध भएका जनताको अधिकारहरू एकपछि अर्को गरी कटौटी हुँदै गएकाले अहिलेको व्यवस्थाप्रति आफूहरूको आन्दोलन भएको जिकिर गरे । मुलुकमा भ्रष्टाचार व्याप्त हुदै गएको, सामाजिक असुरक्षा हुदै गएको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले चुनाव बहिष्कार र आन्दोलनमार्फत सत्ताको विरुद्ध निरन्तर जनक्रान्तिको बाटोमा देशलाई अघि बढाएर जनताको राज्य सत्ता निर्माणमा लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर