महराको दाबी- दाङमा एमालेका रुष्ट, पुराना नेता कार्यकर्ताको भोट गठबन्धनलाई आउँछ – Nepal Press

महराको दाबी- दाङमा एमालेका रुष्ट, पुराना नेता कार्यकर्ताको भोट गठबन्धनलाई आउँछ

घोराही । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङ निर्वाचन २ मा गठबन्धनका साझा उम्मेदवार रेखा शर्माको जित सुनिश्चित भएको दाबी गरेका छन्।

दाङमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरूको विजय निश्चित भएको बताए।

उनले भने, ‘गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रका २७ वटा वडाको मत विश्लेषण गर्ने हो भने गठबन्धन निकै अगाडि छ। स्थानीय तहको निर्वाचनको बेलाभन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएको छ।’

एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीव्र असन्तुष्टि भएकाले त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दाबी गरे।

उनले भने, ‘एमालेका साथीहरूले पनि मत हाल्ने देखिएको छ। प्रतिगमन विरुद्धको गठबन्धनलाई आम जनसमुदायको साथ रहने छ।’

आफू प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकको कुनै पनि उम्मेदवार नभएको उल्लेख गर्दै महराले नयाँ तथा युवा पुस्तालाई अवसर दिन आफूले त्याग गरेको बताए।

उनले भने, ‘मैले लामो समय संसदीय र राजकीय भूमिका रहेर काम गरेको छु। अब अरू साथीहरूलाई अवसर दिनुपर्छ भनेर निर्वाचनमा नउठेको हुँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर