सिन्धुमा नेकपा एस भोटेकोशी गाउँपालिकाको सिंगो कमिटी एमालेमा समाहित – Nepal Press

सिन्धुमा नेकपा एस भोटेकोशी गाउँपालिकाको सिंगो कमिटी एमालेमा समाहित

सिन्धुपाल्चोक । नेकपा एकिकृत समाजवादीको सिगो कमिटी नै नेकपा एमालेमा समाहति भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नेकपा एसको कमिटी एमालेमा समाहित भएको हो ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा भोटेकोशीमा नेकपा एसको कमिटी गठन भएको थियो । नेकपा एसको पार्टीले देश र जनताको लागि केही गर्न नसक्ने निष्कर्षका साथ सिगो कमिटी नै एमालेमा समाहित गरेको नेकपा एस भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पाले बताए ।

एमालेमा समाहित गर्ने कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम सिन्धुपाल्चोक–१ का उम्मेदवार सरेश नेपाल लगायतका नेताहरुले पुरानो घरमा स्वागत गरेका थिए ।समाजवादी भोटेकोशी गाउँपालिका कमिटीका अध्यक्ष साङगे शेर्पा, गाउँपालिकाका सचिव निमा दोर्जे शेर्पा,जिल्ला कमिटी सदस्य बलबहादुर तामाङ लगायत भोटेकोशी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सबै नेताहरु एमालेमा समाहित भएका छन् ।

त्यस्तै युवा, विद्यार्थी, सबै वडाका कमिटीहरु, जनवर्गीय संगठन समेत एमालेमा समाहित भएको नेकपा एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृत खडकाले जानकारी दिए ।समाजवादी भोटेकोशी गाउँपालिकाका अध्यक्ष साङगे शेर्पा स्थानीय निर्वाचनमा अध्यक्षका उम्मेदवार समेत थिए । उनले ८८१ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार अमृत खडका ५ सय ५७ मतले पराजित भएका थिए ।

उपाध्यक्षमा भने एमालेका सुन्तलीमाया श्रेष्ठ झिनो मतान्तरले पराजित भएकी थिइन। श्रेष्ठ ले १५९ मतले पराजीत भएकी थिइन । समाजवादीबाट उपाध्यक्षमा उमेदवार भएकी निमा छोपसाङ तामाङनीले ७१८ मत ल्याएकी थिइन ।सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये भोटेकोशी गाउँपालिका र मेलम्ची नगरपालिकामा नेकपा एसका उम्मेदवारहरुका कारण एमाले उम्मेदवारहरु पराजित भएका थिए ।

स्थानीय निर्वाचनमा थोरै मतले पराजित भएपनि एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृत खडकाको पहलमा भोटेकोशी गाउँपालिकाका समाजवादीको सिंगो टिमलाई एमालेमा समाहित गराउन सफल भएका थिए । ‘स्थानीय निर्वाचनमा भएका तितामिठा क्षणहरुलाई भुल्दै एमालेलाई भोटेकोशीमा अझै बलियो बनाउनका लागि हामीले समाजवादीलाई एमालेमा समाहित गरेका हौ ’एमाले भोटेकोशी गाउँपालिकाका अध्यक्ष खडकाले भने ।

आफ्नो नेतृत्वमा रहेको कमिटीसहित पुरानो घरमा फर्कदा न्यानो अनुभुति भएकोसाङगे शेर्पाले बताए । अब विगत छोडेर मंसिरमा हुने निर्वाचनमा एमालेका उमेदवारहरुलाई जिताउन आफुहरु लाग्ने शेर्पाले उद्घोष गरे । ‘हिजोका कमी कम्जोरीहरुलाई सच्याउदै मंसिर ४ का लागि हामी तयारी छौ’ शेर्पाले भने ।

एमाले केन्द्रीय सदस्य एवम क्षेत्र नम्बर १ का उम्मेदवार सरेश नेपालले आफ्नो घर छाडेर अन्यत्र गएकाहरुलाई घर फर्कन आग्रह गरे । ‘भोटेकोशीबाट एउटा नयाँ अध्यायको सुरुवात भएको छ’ नेपालले भने,‘अब अरु मित्रहरुलाई पनि म आफ्नै घरमा आउन आग्रह गर्दछु ।’नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले घर फर्केका सबै नेताहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर