महापुरुष टिमले ‘मोफसल भ्रमण’ गर्दै – Nepal Press

महापुरुष टिमले ‘मोफसल भ्रमण’ गर्दै

काठमाडौं । महापुरुष टिमले मोफसल टुर गर्ने भएको छ । प्रमोशनल टुरमा हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई रहेका छन् ।

केही स्थानमा मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने सेड्युल रहेको तथा हास्य, संगीत सहितको प्रस्तुति रहने कलाकारसँगै कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए ।

उनले भने, ‘हामीले मोफसल भ्रमणमा मनोरञ्जनात्मक कार्यक्रम तयारी गरेका छौँ । हामी फिल्मबारे दर्शकलाई विभिन्न प्रस्तुति मार्फत जानकारी दिनेछौँ ।’

उनको अनुसार ‘मोफसल भ्रमण’ अन्तर्गत असोज २५ मा विर्तामोड स्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौडाको हुप्र चौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडी र असोज ३० मा पोखराको हलन चोकमा भेटघाट तथा प्रस्तुति हुनेछ ।

सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाशभट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वललुइँटेल लगायतको अभिनय रहेको छ ।

यहीँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराइलीले डेब्यु गर्दैछन् । यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ । फिल्ममा दीपक बज्राचार्यले छायांकन मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलक जङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रवीन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् ।

‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरुष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरू भन्दा यस पटक झनै माझिएका छौँ’ उनले भने ।

फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य, रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।

यस्तै हास्य कलाकार हरिवंश आचार्यले फेसबुक ग्रुप एमआरआरसँग दसैँको शुभकामना साटासाट गरेका छन् ।

युवाहरूको विचार र सद्भाव राख्ने ग्रुपको रूपमा परिचित एमआरआरका युवाहरूलाई शनिवार आयोजित कार्यक्रममा दसैँ टिका लगाउँदै आशीर्वाद दिएका हुन् ।

आपसी सद्भाव र सामीप्यताको लागि युवाहरूले वर्षेनी कार्यक्रम आयोजना गर्ने गरेका छन् । ‘दसैँको टिका युवाहरूसँगै मनाउन पाउँदा खुसी लागेको छ । उहाँहरू विचार र सोचले समाजमा प्रभाव पार्नेछ’, अभिनेता आचार्यले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर