देउवानिकट नेता किरण पौडेलले त्यागे कांग्रेस, बागलुङको चुनावी माहौल फेरिँदै – Nepal Press

देउवानिकट नेता किरण पौडेलले त्यागे कांग्रेस, बागलुङको चुनावी माहौल फेरिँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान केन्द्रीय किरण पौडेलले पार्टी परित्याग गरेका छन् । नेविसंघका पूर्व महामन्त्री समेत रहेका देउवा निकट नेता पौडेलले बागलुङ लगायत देशभरकै सीट बाँडफाँटमा असहमति जनाउँदै पार्टी त्यागेका हुन् ।

सभापति देउवालाई सम्बोधन गर्दै उनले दिएको राजीनामामा तीनपटकसम्म आफूलाई संसदीय अभ्यास गर्ने अवसरबाट बन्चित गरिएको आफूजस्तै नेविसंघबाट आएका साथीहरुलाई तेजोबध गरिएको जनाएका छन् ।

२०३५ सालदेखि नै राजनीतिमा लागेका पौडेलले ४४ वर्ष लामो कांग्रेससँगको आबद्धता परित्याग गरेका हुन् । बागलुङ १ मा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार बनेका छन् ।

एमालेबाट सुर्य पाठक उम्मेदवार छन् भने केही समयअघि कांग्रेस छाडेका प्रभावशाली नेता नवराज पौडेलले प्रदेशमा टिकट पाएका छन् । पौडेलले कांग्रेस त्यागेसँगै बागलुङमा खैलाबैला मच्चिएको छ ।

यस्तो छ राजीनामा पत्र :

श्रीमान सभापति ज्यु,
नेपाली काँग्रेस, केन्द्रीय समिति
मार्फ़त: मुख्यसचिब ज्यु,
नेपाली काँग्रेस,केन्द्रीय कार्यालय,
सानेपा,ललितपुर
बिषय: राजिनामा दिएको बारे।
नेपाली कांग्रेस पार्टीले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त,विधी, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा मेरो नाम अटाउन सकेन। मैले संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अबस्थामा बाहिरिन पुगेको यो तेश्रो पटक हो। यस पटक न्यायोचित निर्णय आऊने आशामा थिए,आएन। नेबिसंघको राजनीतिक पृष्ठभूमि बाट संलग्न हुँदै कांग्रेस पार्टी संगठनको हितका लागी जीवन समर्पण गरेका म जस्ता साथीहरूलाई तेजोबध गरिएको महसूस भएको छ। निश्चित व्यक्तिहरुको मात्रै गोटी बनेका हरू मात्रै योग्य हुने परिपाटी आफुलाई सदैव अस्वीकार्य छ र रहने छ। मैले आज नेपाली कांग्रेस पार्टीको सदस्य समेत नरहने गरी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब मार्फ़त हजुर श्री शेर बहादुर देउवा समक्ष राजिनामा पेश गरेको छु।
म २०३५/३६ सालको बिध्यार्थी आन्दोलनमा सक्रिय भएको बेला देखि हाल सम्म ४४ बर्ष निरन्तर इमान्दारीता पूर्वक पार्टीको आमन्त्रित केन्द्रीय सदस्य सम्म भई काम गरें। नेपाली कांग्रेस पार्टीको विभिन्न तह र स्थानमा पुर्र्याउनु हुने र ४४ बर्ष सम्म अनबरत साथ दिनुहुने सम्पूर्ण पार्टी पङती लाई हार्दिक धन्यवाद दिन चाहान्छु। जयनेपाल !
किरण पौडेल
निबर्तमान आमन्त्रित केन्द्रीय सदस्य
नेपाली काँग्रेस,केन्द्रीय समिति
मिति:२०७९/०६/२३


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर