‘होली वाइन काण्ड’ का सूत्रधार एकनाथ ढकाललाई निरन्तर एमालेको छत्रछायाँ – Nepal Press

‘होली वाइन काण्ड’ का सूत्रधार एकनाथ ढकाललाई निरन्तर एमालेको छत्रछायाँ

काठमाडौैं । धर्म प्रचारमा संलग्न विवादित आईएनजीओ युनिभर्सल पिस फेडरेसनका संस्थापक एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिक निर्वाचनको बन्दसूचीमा प्राथमिकताका साथ समावेश गरेको छ । नेपाल परिवार दलका अध्यक्षसमेत रहेका ढकाल ५ वर्षअघिको नेपाली राजनीतिका एक संदिग्ध पात्र हुन् ।

एमालेले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ढकालको नाम खस–आर्य पुरुषतर्फ दोस्रो नम्बरमै छ । उच्च प्राथमिकताका कारण उनी आगामी संसदमा एमालेबाट समानुपातिक सांसद बन्ने लगभग निश्चित रहेको बताइन्छ । एकातर्फ विवादित छवि र अर्कोतर्फ फरक पार्टीका अध्यक्षलाई यसरी समानुपातिकको प्राथमिकतामा राखिँदा एमालेकै नेताहरु आश्चर्यमा परेका छन् । तर, शक्तिकेन्द्र रिझाएर शक्तिशाली बन्ने ढकालको खुबीसँग परिचितहरुका लागि भने यो आश्चर्यको कुरा होइन । यही खुबीको बलमा उनी विगतमा दुईदुई पटक सभासद् र मन्त्री बनिसकेका छन् ।

राजनीतिमा छोटो समयमा छलाङ मारेका ढकाल क्रिश्चियन धर्म प्रचारक हुन् । यद्यपि मूलधारका क्रिश्चियन होइनन् उनी । आफूलाई वास्तविक क्रिश्चियन दाबी गर्दै कोरियाली धर्मगुरु सन म्योङ मुनले स्थापना गरेको युनिफिकेसन चर्चमा उनी आवद्ध छन् । यस चर्चको नेपाल च्याप्टरलाई युनिभर्सल पिस फेडरेसन (यूपीएफ) नाममा सञ्चालन गरिएको छ । सामाजिक संस्थाको खोल ओढेर यसले धार्मिक गतिविधि गर्दै आएको छ ।

सन् २०१८ मा एसिया प्यासिफिक समिटको नाममा काठमाडौंमा एउटा धार्मिक सम्मेलन आयोजना भएको थियो, जसको आयोजक थियो उही यूपीएफ । उक्त सम्मेलन सफल पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष रुपमा सक्रिय थिए । ढकालले सम्मेलन आयोजक समितिको संयोजक नै नेपाललाई बनाएका थिए ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ‘होली वाइन सम्मेलन’ मा राज्यकोषबाट चार करोड रुपैयाँ खर्चेको थियो । सोही सम्मेलनका क्रममा विदेशबाट आएका विशिष्ट अतिथिहरुलाई स्वागत र भेटवार्ताका लागि भन्दै प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादाविपरीत हायात होटलमै चार दिन अड्डा जमाएको विषयले पनि विशेष चर्चा पाएको थियो । सोही सम्मेलनका लागि आएकी दक्षिण कोरियाली धर्मगुरु हाक जा हान मुन, जसले आफूलाई जिसस क्राइसकी छोरी भनेर स्वघोषणा गरेकी छन्, ले प्रधानमन्त्री ओलीलाई एक लाख डलर राशिको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेकी थिइन् ।

यसरी ढकालले सिंगै राज्यशक्ति प्रयोग गरेर आयोजना गरेको धर्म सम्मेलन मिडियामा भने निकै आलोचनाको विषय बन्यो । सम्मेलनको मुख्य विवाद बन्यो अतिथिहरुलाई पिलाइएको ‘होली वाइन’ । कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीदेखि देशभरका स्थानीय तहका जनप्रतिनिधिलाई जोडीसहित निम्त्याइएको थियो । सहभागी जोडीहरुलाई ‘माता मुन’ को हातबाट ‘ब्लेसिङ’ दिइनुका साथै एक-अर्कालाई कथित होली वाइन (पवित्र रक्सी) पिलाइएको थियो । केही अन्तर्राष्ट्रिय पोर्टलले यस्तो ‘होली वाइन’मा युनिफिकेसन चर्चका संस्थापक सन म्योङ मुनको ‘वीर्य’ मिसाइएको हुने उल्लेख गरेका छन् । मुनको भने केही वर्षअघि निधन भइसकेको छ ।

पहिल्यै विवादित बनेकाले प्रधानमन्त्री ओली होली वाइन सेरेमोनीमा सहभागी भएनन् । साथै अधिकांश उच्चपदस्थहरुले उक्त समारोह बहिष्कार गरेपछि एकनाथ केही खिन्न भएका थिए । तर, सम्मेलनपछि कोरियामा पुगेर भाषण गर्दै उनले सिंगो नेपालले हाक जा हान मुनलाई जिससकी छोरीका रुपमा स्वीकार गरेको दाबी गरे ।

को हुन् एकनाथ ढकाल ?

गोर्खाको बुर्लाङमा मध्यम वर्गीय परिवारमा जन्मेका एकनाथ अहिले विश्वका थुप्रै देशमा सञ्जाल भएको युनिफिकेसन चर्चका अगुवामध्ये पर्छन् । नेपालमा यस संस्थालाई स्थापित गराउने प्रमुख पात्र एकनाथ हुन् । अहिले उनी चर्चको हेडक्वार्टरकै शक्तिशाली व्यक्तिमा गनिन्छन् ।

नेपालका थुप्रै चर्चित र शक्तिशाली नेतासँग एकनाथको निकट सम्बन्ध छ । उनी पूर्वप्रधानमन्त्री माधव नेपालका विश्वासपात्र हुन् । एमाले अध्यक्ष केपी ओलीसँग हिमचिम बढाउन उनलाई गुड गभर्नेन्स अवार्ड दिलाए । ओलीभन्दा अगाडि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुरेशराज शर्मालाई पनि ढकालले गुड गभर्र्नेन्स अवार्ड दिलाएका थिए । नेपालका सयौं नेताहरुलाई ढकालले आफ्नो संस्थाको ‘पिस एम्बेसडर’ बनाएर प्रभावमा राखेका छन् । थुप्रैलाई विदेश सयर गराएका छन् ।

२०६४ सालमा भएको पहिलो संविधानसभा चुनावअघि नेपाल परिवार दलको नाममा पार्टी खोलेर एकनाथ राजनीतिमा प्रवेश गरे । उक्त चुनावमा पैसाको खोलो बगाउँदै उनी समानुपातिकमा एक सीट जित्न सफल भए । अनि आफैं सभासद् बने । सभासदमात्र होइन, उनी मन्त्रीसमेत बने । त्यसपछि त ढकालको तुजुक खपिसक्नै भएन । उनले युनिफिकेसन चर्चभित्र आफू भविष्यमा नेपालको प्रधानमन्त्री नै बन्ने चर्चा चलाए । ढकाल नेपालका प्रधानमन्त्री बनून् भन्ने कामनालाई उक्त चर्चका सदस्यहरु अहिले पनि आफ्नो नियमित प्रार्थनामा समावेश गर्ने गर्छन् ।

दोस्रो संविधानसभामा एकनाथको परिवार दलले दोब्बर सफलता पायो । समानुपातिकमा दुई सीट जितेपछि ढकालले आपूmसहित मिलन राजवंशीलाई सभासद् बनाए । अनि, २०७२ सालमा दोस्रोपटक मन्त्री पड्काए जतिवेला केपी ओली प्रधानमन्त्री थिए । ओलीले ढकाललाई शान्ति तथा पुनर्निमाण मन्त्रालयको जिम्मेवारी सुम्पेका थिए । तर, त्यो सरकार ९ महिनामात्रै टिक्यो ।

त्यसयता पनि ढकाललाई एमालेले निरन्तर राजनीतिक टेवा दिइरहेको छ । अघिल्लो वर्ष पनि एमालेको समानुपातिक बन्दसूचीमा उनको नाम समावेश थियो । तर, अलि पछाडि नाम भएकाले उनी सांसद बन्ने अवसरबाट चुके । लैंगिक सन्तुलन मिलाउन समानुपातिकमा धेरैभन्दा धेरै महिला पठाउनुपर्ने भएको एकनाथको पालो आएन । यसपालि भने समानुपातिक सांसद बन्ने सुनिश्चिततासहित एमालेले उनलाई सूचीमा राखेको बताइएको छ ।

हालै सम्पन्न स्थानीय चुनावमा एमालेले नेपाल परिवार दलसँग तालमेल गरेको थियो । तर, परिवार दलले कतै पनि चुनाव जित्न सकेन । अबको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि कुनै सीट जित्न सक्ने सम्भावना नदेखेपछि ढकाल एमालेको शरणमा परेका हुन् । के परिवन्दले हो, एमाले पनि उनलाई राजनीतिक संरक्षण दिन तयार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर