कास्कीमा गठबन्धनबाट तीन बराल प्रतिनिधिसभाका उम्मेदवार – Nepal Press

कास्कीमा गठबन्धनबाट तीन बराल प्रतिनिधिसभाका उम्मेदवार

पोखरा । सत्ता गठबन्धनले कास्कीमा आफ्ना उम्मेदवार तोकेको छ । कास्कीका ३ क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एकएक क्षेत्र भाग पाएका छन् ।

कास्की १ कांग्रेस, २ नेकपा एस र ३ माओवादी केन्द्रले पाएका हुन् । कास्की १ मा कांग्रेसबाट किशोरदत्त बराल उम्मेदवार बनेका छन् । कास्की कांग्रेसका सभापति बरालले कांग्रेसका अर्का नेता कृष्ण केसीको टिकट हत्याउँदै उम्मेदवार बनेका हुन् ।

कास्की २ मा नेकपा एसले श्रीनाथ बराललाई उठाएको छ । बरालको क्षेत्र कास्की १ भए पनि पाँचदलीय गठबन्धनबाट उनलाई कास्की २ मा उठाउन लागिएको हो ।

कास्की ३ मा माओवादीको तर्फबाट गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका रामजी बराल उम्मेदवार तोकिएका छन् । यहाँबाट माओवादीको उम्मेदवार टुङ्ग्याउन पार्टीलाई गाह्रो भएको थियो । अर्का नेता राजकाजी गुरुङ ‘करन’ पनि टिकटको प्रत्यासी रहे पनि अन्त्यमा बरालले बाजी मारेका हुन् ।

प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवार पनि तोकिइसकेका छन् । कांग्रेसले कास्कीको ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३ मा आफ्ना उम्मेदवार उठाउनेछ । कांग्रेसले कास्की १ ‘ख’ मा दीपक गुरुङ ‘माइला’लाई उम्मेदवार बनाएको छ । कास्की २ ‘ख’ मा विन्दु थापा र ३ ‘ख’ मा प्रकाश बराल उम्मेदवार बनेका छन् ।

माओवादीले पनि ३ क्षेत्रमा आफ्ना उम्मेदवार उठाउनेछ । कास्की १ ‘क’ मा दीपक कोइराला, कास्की २ ‘क’ मा विश्वप्रकाश लामिछाने र कास्की ३ ‘क’ मा दुर्गादत्त भण्डारीले टिकट पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर