सीट बाँडफाँटमा नेकपा एस कर्णालीमा असन्तुष्टि, तीन जिल्लामा विद्रोहको तयारी – Nepal Press

सीट बाँडफाँटमा नेकपा एस कर्णालीमा असन्तुष्टि, तीन जिल्लामा विद्रोहको तयारी

सुर्खेत । सत्ता गठबन्धनले प्रदेशसभा उम्मेदवारीमा न्यायोचित सीट वितरण नगरेको कारण एकीकृत समाजवादीले कर्णाली प्रदेशमा क्षति व्यहोर्ने अवस्था सिर्जना भएको छ ।

प्रदेशका तीन जिल्लाबाट एकीकृत समाजवादीका नेताहरूले सामूहिक राजीनामा दिनेसम्मका चेतावनी दिएका छन् । सुर्खेत, कालिकोट र जाजरकोटमा बढी समस्या देखिएको हो ।

प्रदेशसभाका २२ सीटमध्ये एकीकृत समाजवादीले जुम्ला र मुगुमा एक एक सीटमात्रै पाएको छ ।

प्रदेशसभा सदस्यका आकांक्षी रहेका सुर्खेत अध्यक्ष मोहन बडूवालले केही घण्टाभित्र केन्द्रबाट सीट बाँडफाँट संशोधन नभए पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार बन्ने तयारी गरेका छन् ।

सबभन्दा बढी समस्या छ, कालिकोटमा । त्यहाँबाट पार्टीका इन्चार्ज कूर्मराज शाहीसहितका नेताले सामूहिक राजीनामा दिएर एमाले प्रवेश गर्ने वा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

‘अहिले जिल्ला कमिटीको बैठक छ’, पार्टीका एक नेताले भने, ‘कम्तीमा एउटा प्रदेशसभा हामीले पाएनौँ भने हामी सामूहिक रूपमा विद्रोह गर्दैछौं ।’

प्रदेशभरिमा एकीकृत समाजवादीको सबभन्दा बलियो जिल्लाका रूपमा कालिकोट रहँदै आएको दाबी त्यहाँका नेताहरूले गरेका छन् । तर, शून्य सीटका साथ निर्वाचनमा जाँदा जनमतको अपमान हुने भन्दै उनीहरू विद्रोहको तयारीमा जुटेका हुन् ।

स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले खाडाचक्र नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका एसका नेता कमलबहादुर शाहीले २९ सय १९ मतका साथ जित हासिल गरेका थिए ।

रास्कोट नगरपालिकाको उपमेयरमा मनिराज बरालले २८ सय ९ मतका साथ चुनाव जितेर आफ्नो पक्षमा जनमत प्रदर्शन गरेका थिए । तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केन्द्रले उक्त जनमतलाई बेवास्ता गरेको स्थानीय नेताहरूको आरोप छ ।

एकीकृत समाजवादीका जाजरकोट अध्यक्ष कमान खड्काले गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । त्यसका निम्ति एमाले उम्मेदवार नीरज आचार्यलाई सघाउने र एमालेको सहयोगमा प्रदेशसभा जित्ने योजना बनाइएको छ ।

गत स्थानीय निर्वाचनमा भेरी नगरपालिकाको मेयरमा बिना गठबन्धन उम्मेदवार बन्दा उनले ३७ सय ८८ मतका साथ तेस्रो स्थान हासिल गरेका थिए । त्यहाँ चुनाव जित्ने एमालेका चन्द्रप्रकाश घर्तीले ५१ सय २१ मत ल्याएका थिए । त्यस्तै, कुसे गाउँपालिकाको अध्यक्षमा उक्त पार्टीका तप्तबहादुर हमाल ३१ सय ८२ मतका साथ दोस्रो भएका थिए ।

‘देखिएको जनमतलाई बेवास्ता गर्दा विद्रोह नगरे के गर्नु ?’, एसका एक जिल्ला नेताले भने, ‘कांग्रेस र माओवादीको अपमान सहेर बस्नुभन्दा एमालेसँगै मिलेर जानु उचित हुने निष्कर्षमा पुगेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर