‘निवर्तमान’ सभामुख सापकोटाले भनेः मंसिर ४ को चुनाव लड्दिन, युवाका निम्ति त्याग गर्छु – Nepal Press

‘निवर्तमान’ सभामुख सापकोटाले भनेः मंसिर ४ को चुनाव लड्दिन, युवाका निम्ति त्याग गर्छु

काठमाडौं । प्रतिनिधिसभाका ‘निवर्तमान’ अग्नि सापकोटाले आगामी मंसिर ४ को प्रतिनिधिसभा चुनावमा उम्मेदवर नबन्ने औपचारिक घोषणा छन् । चुनावको मनोनयन हुने अघिल्लो दिन उनले पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन् ।

सापकोटाले अब युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने प्रष्ट पारे । आफू सिन्धुपाल्चोक १ बाट १ नम्बरमा सिफारिस भएको र जित्ने निश्चित भए पनि युवाहरूकै लागि यस्तो कदम उठाएको उनको दाबी छ ।

चुनाव हार्ने डरले अन्तिम समयमा यस्तो निर्णय लिनुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा सापकोटाले जवाफ दिए, ‘त्यस्तो बिलकुल होइन । मलाई चुनाव जित्न कुनै कठिनाइ थिएन । गठबन्धन पनि भएकाले चुनाव जित्ने निश्चित जस्तै थियो । तर, युवाहरूकै लागि भनेर यो पहलकदमी लिएको हुँ ।’

सभामुखको कार्यकालबारे सोधिएको प्रश्नमा सापकोटाले स्पष्ट जवाफ दिएनन् । अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यसबारे थप चर्चा आवश्यक नरहेको बताए ।

चुनावी प्रतिस्पर्धामा भाग नलिए ता पनि जिन्दगीको अन्तिम घडीसम्म आफू सक्रिय रहने उनको भनाइ थियो । करिब एक वर्षदेखि युवाहरूलाई अघि सार्नुपर्ने भन्ने विचार आफूमा पैदा भएको पनि उनले बताए । आफ्नो निर्णयले राजनीतिमा नयाँ रक्तसञ्चार गर्ने पनि उनको दाबी छ ।

युवाहरू भनेर छोराहरूलाई अघि सानै दाउ हो कि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मेरा तीन छोराहरू अरू नै आआफ्नो पेसामा छन् । उनीहरू तत्काल राजनीतिमा जाँदैनन् । एकाघरका छोराहरू बाहेक अरूको विषयमा भन्न सक्दिनँ ।’

यसअघि उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

पहिरो र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए । सापकोटा २०६८ मा सूचना तथा सञ्चार र २०७२ सालमा भूसंरक्षण मन्त्री समेत भइसकेका छन् ।

माओवादीका अर्का नेता कृष्णबहादुर महरालाई सभामुख भएकै बेला बलात्कारको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि सापकोटाले सभामुख हुने मौका पाएका थिए । सापकोटा २०७६ माघ १२ गते सभामुख निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर