सुदूरपश्चिम- जो ५ वर्षपछि फेरि आमनेसामने हुँदैछन् – Nepal Press

सुदूरपश्चिम- जो ५ वर्षपछि फेरि आमनेसामने हुँदैछन्

कैलाली । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र नम्बर २ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरू ५ वर्ष पछि फेरि आमनेसामने हुने भएका छन् ।

अछाम-२ र कञ्चनपुर-२ मा एमालेसँग कांग्रेसमा उनै उम्मेदवारहरू फेरि मैदानमा भिड्ने भएका हुन् । यी दुवै क्षेत्रमा यस अघि एमालेले जितेको थियो ।

बाम गठबन्धनका साझा उम्मेदवार यज्ञ बोगटीले २१ हजार ९६५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पुष्प शाहले १९ हजार १०६ मत ल्याएका थिए ।

अहिले अछाम-२ मा एमालेबाट बोगटीले टिकट पाइसकेका छन् भने गठबन्धनको तर्फबाट कांग्रेसको भाग परेको छ । यहाँ कांग्रेसले पनि शाहलाई टिकट दिएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणाम अनुसार अहिले यहाँ कांग्रेस बलियो अवस्थामा देखिन्छ ।

वडाध्यक्षले पाएको मतलाई आधार मान्दा कांग्रेस १९ हजार ३३९, एमाले १७ हजार ९८७, माओवादी ६ हजार ४४१ र नेकपा एकीकृत समाजवादीको २ हजार १७५ मत छ ।

एक पटक जितेका र हारेका प्रतिस्पर्धीहरू फेरी एक अर्का विरुद्ध उत्रिदा यहाँको मत परिणामलाई पनि रोचक रूपमा हेरिएको छ ।

अछाम-२ जस्तै कञ्चनपुर-२ मा पनि ५ वर्षअघि निर्वाचनमा होमिएका दुई पात्र फेरी निर्वाचनमा होमिने भएका छन् । यहाँ एमालेको तर्फबाट अघिल्लो पटक निर्वाचन जितेका नर बहादुर धामी उम्मेदवार बन्ने भएका छन् भने सत्ता गठबन्धनको तर्फबाट अघिल्लो पटक पराजित कांग्रेस नेता एनपी साउँद उम्मेदवार बन्ने भएका छन् ।

एमालेका धामीले ३३ हजार २२० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका साउदले २४ हजार ८९३ मत प्राप्त गरेका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणाम अनुसार अहिले यहाँ कांग्रेस बलियो अवस्थामा देखिन्छ ।

वडाध्यक्षले पाएको मतलाई आधार मान्दा कांग्रेस २२ हजार ३७९, एमाले १८ हजार ८२८, माओवादी १२ हजार ५७२, नेकपा एकीकृत समाजवादी ४ हजार १६१ र राप्रपाको ३ हजार ९५३ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर