बझाङ निर्वाचन : पूर्वमन्त्री र महरको टक्कर – Nepal Press

बझाङ निर्वाचन : पूर्वमन्त्री र महरको टक्कर

कैलाली । २०५१ र ०६४ सालमा नेकपा एमालेबाट निर्वाचित भएका भानुभक्त जोशी अहिले नेकपा एमाले विरुद्ध नै उम्मेदवार बन्ने भएका छन् । दुई पटक एमालेबाटै सांसद भएर एक पटक मन्त्री बनेका जोशीविरुद्ध यस पटक एमालेकै उम्मेदवार उभिने भएका हुन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई भाग परेपछि जोशी र ऐन महरको प्रतिस्पर्धा हुने निश्चित भएको हो । नेकपा एकीकृत समाजवादीबाट जोशी एकल सिफारिसमा परेका थिए भने महरले नेकपा एमालेबाट टिकट पाइसकेका छन् ।

प्रतिनिधि सभामा अघिल्लो पटक बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार बनेका भैरव बहादुर सिंहल ७ हजार ७०२ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका पृथ्वीबहादुर सिंहलाई हराएका थिए । एमालेका सिंहले ३४ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।

यहाँ एक्ला एक्लै भिड्दा एमाले बलियो अवस्थामा देखिन्छ । गठबन्धनको सबै मत जोड्दा एमाले भन्दा बढि छ । वैशाख ३० गतेको निर्वाचनको वडाध्यक्षको मतलाई आधार मान्दा नेकपा एमालेका उम्मेदवारले २८ हजार ६११ पाउँदा कांग्रेस उम्मेदवारले २० हजार १६६, माओवादीका उम्मेदवारले ९हजार १४५ नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७ हजार ६३२ र राप्रपाका उम्मेदवारले जिल्ला भरि १२८ मत पाएका छन्।

२०४८ यता यहाँ कांग्रेसले २ पटक निर्वाचन जितेको यो क्षेत्रमा नेकपा एमालेले भने चार पटक विजयी भएको छ । २०४८ र ०५६ मा कांग्रेस विजयी हुँदा २०५१, ०६४, ०७० र ०७४ मा एमाले विजयी भएको थियो ।

दुई-दुई पटक सांसद भएर पनि जिल्लाको लागि केही गर्न नसकेको आरोप झेलिरहेका जोशीलाई बिद्यार्थिबाट राजनीति सुरु गरेर अनेरास्व्यूको केन्द्रीय अध्यक्ष भइसकेका महरले टक्कर दिँदा परिणाम रोचक आउने विश्लेषण गरिएको छ ।

अहिले सामाजिक सञ्जाल मार्फत धेरै जसो युवाहरूले आफ्नो धारणा व्यक्त गर्दै युवा पुस्तालाई बझाङको नेताको रुपमा स्थापित गर्न सुझाव दिइरहेका छन् ।

असन्तुष्ट कांग्रेस

नेकपा एकीकृत समाजवादीलाई बाहिर राखेर माओवादीसँग मात्रै तालमेल गर्ने तयारीमा रहेको यहाँको कांग्रेसलाई अहिले नेकपा एकीकृत समाजवादीकै लागि मत माग्नु पर्ने बाध्यता आइलागेको छ । असोज ३ गते कांग्रेस जिल्ला सभापति खडक बहादुर बोहराले आफ्नो पार्टी र माओवादी केन्द्रको मात्रै तालमेल हुने भन्दै विज्ञप्ति जारी गरेका थिए । जनमतको हिसाबमा नेकपा एकीकृत समाजवादी तेस्रो र न्यून रहेको भन्दै उक्त पार्टीसँग मित्रवत् प्रतिस्पर्धा हुने बताएका थिए ।

अहिले मित्रवत् प्रतिस्पर्धा हुने भनिएको पार्टीकै उम्मेदवारलाई जिताउनु पर्ने बाध्यता आएपछि कांग्रेसमा विवाद उत्पन्न भएको छ । अब के गर्ने भन्ने बारे छलफलको तयारी भइरहेको कांग्रेस सभापति बोहराले जानकारी दिए ।
‘गठबन्धनबाट नेकपा एकीकृत समाजवादीलाई भाग परेको छ । हामी अब के गर्ने भन्ने बारे बैठक बसेर निर्णय लिन्छौँ’ उनले नेपाल प्रेसलाई भने अहिले ।

बझाङमा अन्तिम समय सम्म कांग्रेसले पनि दाबी राखेको थियो ।

बझाङमा नेपाली कांग्रेसबाट अर्जुन जङ्ग बहादुर सिंह ,पृथ्वी बहादुर सिंह र नरेश बहादुर सिंहले दाबी गरेका थिए । अर्जुन जङ्ग बहादुर सिंह २०४८ र ०५६ नेपाली कांग्रेसबाट विजयी भइसकेका छन् । उनी पूर्व परराष्ट्र राज्यमन्त्री र कोरियाका लागि नेपाली राजदूत बनिसकेका छन् ।
दुई पटक सम्म विजयी भइसकेको सिह २०७० सालमा बझाङ –१ मा नेकपा एमालेका मानप्रसाद खत्रीसँग पराजित भएका थिए । खत्रीले ११ हजार ५३० ल्याउँदा सिंहले १० हजार ७०८ मत पाएका थिए ।

त्यस्तै, कांग्रेसबाट अर्का उम्मेदवारको चर्चा रहेका व्यक्ति पृथ्वी बहादुर सिंह थिए । पूर्व जिल्ला समिति सभापति रहेका सिंह अघिल्लो पटक एमाले उम्मेदवार भैरव बहादुर सिंहसँग करिब ८ हजार मतले पराजित भएका थिए । एमालेका सिंहले ३४ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।

कांग्रेसबाट आकांक्षी देखिएका नरेश बहादुर सिंह २०७० सालको निर्वाचनमा एमालेका लाल बहादुर रावलसँग पराजित भएका थिए । एमालेका लालबहादुर रावलको १० हजार ५९४ ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका नरेश बहादुर सिंहले १० हजार ०९६ मत पाएका थिए । अहिले फेरी दुबै जनाले दाबी गरेका छन् ।

गठबन्धनबाट कांग्रेसले जोडतोड गरेको क्षेत्रमा माओवादी केन्द्रको भने रोजाइमा परेको थिएन ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर