एमाले–जसपा–राप्रपा तालमेलपछि रोचक बन्दै बाँके क्षेत्र नम्बर-२ को प्रतिस्पर्धा – Nepal Press

एमाले–जसपा–राप्रपा तालमेलपछि रोचक बन्दै बाँके क्षेत्र नम्बर-२ को प्रतिस्पर्धा

धवल शमशेर र इस्तियाकको लडाइँले कांग्रेसलाई पर्ला त चिट्ठा ?

रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, जसपा र राप्रपाबीचको चुनावी तालमेलका कारण तीनै दलका प्रभावशाली नेताहरूको केन्द्र रहेको बाँकेको क्षेत्र नं. २ को चुनावी समीकरण रोचक बनेको छ ।

राप्रपा महामन्त्री धवल शमशेर राणा, जसपा नेता तथा मन्त्री इस्तियाक राई दुवैको रोजाइको क्षेत्र रहेको बाँके २ मा नेता पशुपति दयाल मिश्रसहितको ठूलो समूह एमालेमा प्रवेश गरेपछि पछिल्लो समय नेकपा एमालेले आफ्नो संगठन बलियो बनाएको दाबी गर्दै आएको छ ।

यसअघि सत्ता गठबन्धनमा रहेको जसपाका प्रभावशाली नेता राई एमालेसँगको चुनावी तालमेलमा आएपछि र पहिले नै एमालेसँग अनौपचारिक सहमति गरेर चुनावी तयारी गरिसकेका राप्रपाका नेता राणा कसलाई एमालेको साथ रहने वा एकल प्रतिस्पर्धामा जाने विषयले अहिले चर्चा बढाएको छ ।

उम्मेदवारी दर्ता गर्ने अन्तिम समय आइसकेको समयमा फेरिएको चुनावी समीकरणले यो क्षेत्रलाई रोमाञ्चित बनाएको छ । पूर्ववत् समीकरणमा एमालेको समर्थनमा चुनावी प्रचारमा होमिइसकेको राप्रपाका नेता धवल शमशेर राणा र नयाँ समीकरणबाट पूर्ववत् सत्ता गठबन्धनबाट चुनावी मोर्चामा उत्रिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईको एउटै निर्वाचन क्षेत्र हो ।

एमाले राप्रपा गठबन्धनबाट पहिलेदेखि नै चुनावी तयारीमा लागेका धवल समसेरको चुनावी तयारी काम लाग्ने हो की इस्तियाक राईले खोसिदिने हुन् ? उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा अन्योलमा पुगेको छ ।

नयाँ चुनावी समीकरणमा बाँके २ जसपा नेता राई र राप्रपा नेता राणाको एउटै निर्वाचन क्षेत्र परेपछि एमालेसँगको समीकरण जटिल बनेको छ ।

बाँकेमा सुरुदेखि नै राणा र राईले एक आपसमा प्रतिद्वन्द्वी मान्दै आएका छन् । दुवैको चुनावी सभाहरूमा एकले अर्कालाई छेड छाड र ब्यंग्य र प्रहार गर्दै आएका छन् ।

दुवै उम्मेदवारले फिर्ता लिने अवस्था नआएमा बाँके २ मा मित्रवत् प्रतिस्पर्धा गर्दै एक्ला एक्लै निर्वाचन लड्ने सम्भावना पनि रहेको छ ।

सत्ता गठबन्धनमा पनि कांग्रेसले सुशील कोइरालाको निर्वाचन क्षेत्र भन्दै दाबी कायम राखेपछि जसपा नेता राईले कांग्रेसलाई उम्मेदवारी दिन र मित्रवत् प्रतिस्पर्धा गर्दै एक्ला एक्लै चुनाव लड्न प्रस्ताव गरेका थिए ।

‘समीकरण र धवल शमशेरका लागि इस्तियाक राईले मैदान खाली गर्नु हुन्न,’ राई निकट जसपा नेताले भने ।

अन्य क्षेत्रमा एमाले–राप्रपा–जसपा गठबन्धन भए पनि बाँके २ मा एक्ला एक्लै निर्वाचन लड्ने सहमति हुनसक्ने जसपा स्रोतले जनाएको छ ।

यसअघि एमाले–राप्रपा गठबन्धनबाट नेपालगन्जका पूर्व मेयर धवल शमशेर र सत्ता गठबन्धनबाट इस्तियाक राई उठ्ने पक्कापक्की भएकोमा आजबाट समीकरणको ढाँचा फेरिएको हो ।

यहाँका दुवै नेताहरूको पुरानो प्रतिस्पर्धा भएकाले गठबन्धन सम्भव नभएकाले नै मित्रवत् प्रतिस्पर्धाको शब्द राखेको पुराना पत्रकार शरण कर्माचार्यको विश्लेषण छ ।

‘बाँकेमा उनीहरूको बलियो प्रतिस्पर्धा छ, यहाँका हरेक कार्यक्रममा त्यो प्रष्ट देखिन्छ, दुवैले एकको अस्तित्व स्वीकार गर्ने अवस्था नदेखिएकाले नै उनीहरूको प्रतिस्पर्धा मित्रवत् बनोस्, एक मुस्लिम र अर्को हिन्दु भएका कारण जातीय द्वन्द्व बढाउने गरी विवाद नहोस्, राजनीतिक प्रतिस्पर्धा हुनुपर्छ,’ उनले भने ।

अहिलेसम्म जसपाकै पोल्टामा भाग पारेर मौन बसेको सत्ता गठबन्धनबाट बाँके २ मा काँग्रेसले नै यसअघि बलियो दाबेदारी गरिरहेकाले उसैले पाउने छ । कांग्रेस पूर्व सभापति स्व सुशील कोइरालाको गृह नगर भएकाले काँग्रेसले यो क्षेत्र पहिलेबाट पाउनुपर्ने दाबी गरेको थियो ।

यहाँबाट नेतृ किरण कोइराला र राजकुमार वर्मा, नाम सिफारिस भए पनि कोइरालाको नाम समानुपातिक सूचिमा पठाइएकाले बर्माले अवसर पाउने सम्भावना बलियो छ । उनीहरू पार्टीमा इतर समूहमा छन् ।

बाँके एमाले अध्यक्ष किस्मत कक्षपतीले क्षेत्र नं. २ मा पार्टी केन्द्रको सहमति अनुसार पार्टीको उम्मेदवारी नहुने जानकारी दिए ।

‘२ नं. क्षेत्रमा केन्द्रको समझदारी अनुसार जसपा वा राप्रपा कसलाई दिने टुंगो लागेसँगै हाम्रो समर्थन रहने छ, क्षेत्र नं. १ र २ मा हामीले सिफारिस गरेर पठाएका नेताहरूको केन्द्रले नै टुंगो लगाउने छ,’ उनले भने ।

एमालेलेबाट क्षेत्र नं. ३ मा अध्यक्ष कक्षपतिले पाउने सम्भावना बलियो छ । यहाँ उनीसँगै नेता रत्न खत्रीको पनि नाम सिफारिस भएको छ भने १ नं. क्षेत्रबाट सूर्य ढकाल, देवराज भार, बलाराम भट्टराई, पूजन विश्वकर्माको नाम सिफारिस भए पनि ढकालले नै पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर