राप्रपा नेताहरु बालकोटमा, केही सीटमा तालमेलको सहमति हुँदै – Nepal Press

राप्रपा नेताहरु बालकोटमा, केही सीटमा तालमेलको सहमति हुँदै

काठमाडौं । नेकपा एमालेसँग चुनावी तालमेलको सहमति टुंग्याउन राप्रपाका शीर्ष नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राप्रपाको निर्देशक समितिका प्रमुख डा. प्रकाशचन्द्र लोहनीलगायतका नेता बालकोटमा छन् ।

बिहीबार दिनभर र रातभर एमाले नेताहरु जसपासँग छलफलमा व्यस्त भएपछि राप्रपासँग संवाद हुन सकेको थिएन । राप्रपासँग अध्यक्ष ओलीकै तहबाट धेरै विषय टुंगिसकेकाले अब कुन कुन क्षेत्रमा एमालेले राप्रपाका उम्मेदवारलाई सघाउने भन्नेमात्र बाँकी रहेको छ ।

राप्रपासँग एमालेको देशव्यापी तालमेल नहुने र केही क्षेत्रमा एमालेको सहयोगले राप्रपा जित्ने तथा राप्रपाको सहयोगले एमाले जित्नेगरी मात्र आंशिक तालमेल हुने बताइएको छ ।

विशेष गरी झापा र रुपन्देहीमा एमाले-राप्रपा तालमेलले दुवै पक्षलाई फाइदा हुने र गठबन्धन पराजित गर्न सकिने आँकलन नेताहरुको छ । त्यस्तै चितवन ३, नुवाकोट २, सिन्धुपाल्चोक २, धादिङ १ लगायतका क्षेत्रमा पनि राप्रपाको मतले एमालेलाई सहज हुनसक्ने अनुमान छ ।

एमालेले राप्रपाका कुन कुन नेतालाई समर्थन गर्ने भन्ने टुंगो आजै लाग्ने बताइएको छ । राप्रपाले अध्यक्ष लिङ्देनसहित, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, नेता दीपक बोहोरालगायतलाई एमालेको समर्थनको अपेक्षा गरेको छ ।

त्यसो हुँदा थ्रेसहोल्ड कटाएर राप्रपा राष्ट्रिय पार्टी बन्ने अपेक्षा नेताहरुको छ भने चुनावपछि पनि एमाले, जसपा र राप्रपाको सरकार बन्न सक्ने उनीहरुको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर