वर्षाले लुम्बिनी प्रदेशको राजमार्गहरूमा पहिरो, यात्रुलाई सास्ती – Nepal Press

वर्षाले लुम्बिनी प्रदेशको राजमार्गहरूमा पहिरो, यात्रुलाई सास्ती

रूपन्देही ।मंगलबारदेखि आएको निरन्तर वर्षाले लुम्बिनीका विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । यसैबीच सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–पाल्पा सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।

सिद्धबाबा नजिकै सडकमाथिबाट ढुङ्गा तथा लेदोसहितको भेल बग्ने क्रम जारी रहेकोले सडक अवरुद्ध भएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वर्षा नरोकिएका कारण सडक सफा गर्न नपाउँदा विहान करिब ५ बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक सुचारु गर्नका लागि बाटो सफा गर्ने डोजर तयारी अवस्थामा राखिएको भएपनि सडकमाथिबाट ढुङ्गा झर्न नरोकिएका कारण काम गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

यसैगरी पुर्व–पश्चिम राजमार्ग अन्तरगत दाङको धानखोलामा विद्युत पोल ढलेर अवरुद्ध भएको छ । बिहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । विद्युत पोल उठाएपछि मात्रै उक्त सडक सञ्चालनमा आउने बताइएको छ ।

यता गोरुसिङ्गे अर्घाखाँची सडक पहिरोका कारण अवरुद्ध भएको छ । उक्त सडक खण्डको घुम्ती र जगतमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी गुल्मी सदरमुकाम तम्घासदेखि विभिन्न गाउँ जोड्ने भित्री सडक खण्डहरु बिहीबारदेखि नै अवरुद्ध रहेका छन् ।

शुक्रबार तराईका जिल्लामा पानी कम परेपनि पहाडी जिल्लामा पानी नरोकिएकाले अझै जनजीवन सहज बन्न सकेको छैन । निरन्तरको वर्षा र सडक अवरूद्वले दशैमा विभित्र स्थानमा पुगेकाहरू गन्तव्यमा पुग्न पाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *