जाने होइन त टिकटकमा भाइरल तिनाउको रानी झरना ? – Nepal Press

जाने होइन त टिकटकमा भाइरल तिनाउको रानी झरना ?

रुपन्देही । रुपन्देहीसँग सीमा जोडिएको पाल्पा दोभान गाउँपालिका वडा नं २ मा पर्ने रानी झरना अहिले पर्यटक लोभ्याउने क्षेत्र बनेको छ । सामाजिक सञ्जालमा झरनाको आकर्षक र मनमोहक दृश्य भाइरल बनेको छ । जसले झरनामा आन्तरिक पर्यटकको चहलपहल बढाएको छ ।

ढापखोला सामुदायिक वन उपभोक्ता समूहको बगाहामा रहेको झरनामा अहिले बिदा मनाउने आन्तरिक पर्यटकहरुको भीड लागेको छ । बुटवलको कोलाहल र भीडभाडबाट केवल ५ किलोमिटरको दूरीमा दोभान रहेको छ । दोबानबाट ३ किलोमिटरको दूरीमा छ रानी झरना ।

सिद्धार्थ राजमार्गमा रहेको दोभानको मुख्य बाटोबाट सुन्दर मनोरम गाउँ छिचोल्दै रानी झरना पुग्न सकिन्छ । ओझेलमा परेको झरनाको प्रचारप्रसार सामाजिक सञ्जालबाट भएको हो । टिकटक, इन्ट्राग्राम र फेसबुक वालमा केही पर्यटकहरु सो क्षेत्रमा पुगेर भिडिओ तथा फोटो अपलोड गरेसँगै सो स्थान एकाएक भाइरल बनेको छ ।

रानी झरनाको मनोरम दृश्य लिन, पौडी खेल्न र पहाडी सुन्दरताको अनुभव लिन तराई मधेसका युवा पिँढी धेरै पुग्न थालेको स्थानीय केशरजंग जीसीले बताए । ‘अहिले आउने त धेरै तराईतिरकै हुनुहुन्छ । यहाँको चिसो, मनोरम प्रकृति अनि सुन्दरताको चर्चा गर्नुहुन्छ’, उनले भने, ‘पहिले यस्तो ठाउँमा बाहिरबाट को आउलाजस्तो लाग्थ्यो । तर, आश्चर्यजनक भीड लागेको छ । बाटो अलिकति सहज बनाउनसके यहाँ त थामिनसक्नु भीड हुने थियो ।’

तिलोत्तमा नगरपालिकाको शंकरनगरका मिलन कुँवर दुई बच्चासहित बिदा मनाउन रानी झरना पुगेका थिए । टिकटकमा आकर्षक झरनाको भिडिओ देखेपछि उनलाई लोभ्याएको हो । ‘आउने बाटोमा केही समस्या रहेछ । यसलाई सहज बनाउनुपर्छ । यहाँ आएपछि सबै तनाव बिर्साउँछ’, उनले भने, ‘दुरी थोरै भए पनि बाटो सहज बनाउन ध्यान दिनुपर्ने देखिन्छ ।’

बुटवलका अभिषेक भारी २ जना साथीसहित दुईपाग्रे सवारीमा रानी झरना पुगे । बुटवलबाट २ बजे हिंडेका उनीहरु बाटोमा राखिएका बोर्ड र स्थानीयलाई सोध्दै खोज्दै रानी झरना पुगेका थिए । बाटोमा खहरेका कारण मोटरसाइकल लैजान केही समस्या भने उनीहरुले भोगे । झरनामा पुगेर फोटो र भिडिओ बनाउँदा बाटाको सबै दुःखकष्ट भुलेको उनले बताए ।

मिलन चोकका प्रतीक श्रेष्ठ दम्पती बाटो खराब हुँदा १ घण्टा हिँडेरै रानी झरना पुगे । झरीका कारण उनीहरु गन्तव्यस्थलसम्म सवारीमा पुग्न सकेनन् । ‘मौसम र बाटोका कारण धेरै दुःख भयो’, उनले भने ।

उनीहरु त्यहाँ पुगेपछि फोटो र भिडिओ बनाउन ब्यस्त भए । बाटामा पाएको सबै दुःखसमेत उनीहरुले भुले । सडक सञ्जालमा सरकारको लगानी भए धेरै पर्यटक बर्सेनि सो स्थानमा पुग्ने उनको दाबी छ । तीन तहकै सरकारबाट यो क्षेत्रको विकासमा लगानी गर्नुपर्ने उनको सुझाव छ ।

सो क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै अहिले बाटाका घरघरमा पसलहरु खुलेका छन् । दोभान ३ खुर्सानीका सुन्दर सिञ्जाली अहिले आफ्नो स्थायी होटल छाडेर रानी झरनामै अस्थायी पसल राख्न पुगेका छन् । धापखोला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष कुम्भकला खड्काले छोटो समयमा रानीखोला प्रचारमा आएको बताइन् ।

‘धेरै पुरानो झरना भए पनि यसको प्रचारप्रसार नहुँदा ओझेलमा रहेको थियो’, उनले भनिन्, ‘पछिल्लो समय सामाजिक सञ्जालका कारण यो आर्कषणको केन्द्र बन्न पुगेको छ । हामीले झरना संरक्षणको काम सुरु गरेका छौं ।’

सामुदायिक वनबाट १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर काम गरिहेको र सो क्षेत्रमा शिव मन्दिर बनाउने योजना रहेको अध्यक्ष खड्काले बताइन् ।

वन ७९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झरनासम्म पुग्ने पूर्वाधार विकासका लागि प्रदेश र संघीय सरकारबाट आवश्यक सहयोगको लागि पहल भैरहेको उनले जानकारी दिइन् ।

निवर्तमान वडाध्यक्ष राजेश श्रेष्ठ आफ्नो कार्यकालमा ओझेलमा परेको उक्त स्थललाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित योजना बनाउँदा सफलता मिलेको बताउँछन् । डिभिजन वन कार्यालय पाल्पाबाट प्राप्त ५ लाखको बजेट र ढापखोला सामुदायिक वनको आन्तरिक स्रोतबाट झरनामा आर्कषक काठको रेलिङ र पुल बनाएको उनले बताए ।

दोभान एकीकृत पर्यटन विकास केन्द्रका अध्यक्ष दलबहादुर गुरुङले रानी झरनासहित यहाँका अन्य पर्यटकीय क्षेत्रले सबैको ध्यान तानेको बताए । ‘झरना यहाँको सम्पत्ति हो । मधेसबाट यति छोटो दूरीमा भएको महत्वपूर्ण स्थानलाई ठूलो पर्यटकीय हब बनाउन सकिन्छ । धेरै आधारहरु देखिएका छन् । केही काम सुरु पनि भएको छ’, उनले भने, ‘हरेक दिन पर्यटकहरु पौडी खेल्दै र टिकटक बनाउँदै रमाएको देख्दा आनन्द लाग्छ ।’

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले रानी झरनालाई विशेष प्राथमिकतामा राखेर योजना बनाउने र तिनाउका सबै पर्यटकीय क्षेत्रको संरक्षण गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *