ब्यारेकभित्रै महिला प्रहरी बलात्कार प्रकरण– आरोपी इन्स्पेक्टर छुटाउन कांग्रेस नेताहरूको दबाब – Nepal Press

ब्यारेकभित्रै महिला प्रहरी बलात्कार प्रकरण– आरोपी इन्स्पेक्टर छुटाउन कांग्रेस नेताहरूको दबाब

काठमाडौं । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षकलाई छुटाउन कांग्रेस नेताहरूको चर्को दबाब सुरु भएको छ ।

सत्ता र शक्तिको आडमा गत वर्ष मंसिर ४ गते खोलानाला पुगेका प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई छुटाउन कांग्रेस नेता तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरतकुमार शाहसहित नेपाली कांग्रेसका नेताहरूले प्रहरी प्रधान कार्यालयमार्फत दबाब दिन थालेका छन् ।

धादिङका एक प्रहरी अधिकृतका अनुसार ढुंगानालाई मिलाएर मुद्दा चलाउन र सहज बनाउन दबाब दिँदै शाह लगायत बालुवाटारबाट समेत पटक पटक फोन आउने गरेको छ । धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले फोनबाट आउने दबाबका कारण काम गर्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्न थालेको प्रहरी अधिकृतहरू बताउँछन् ।

ढुंगाना सार्वजनिक लेखा समितिका पूर्व सभापति भरतकुमार शाहकी श्रीमती कांग्रेस रुपन्देहीकी उपसभापति अनिता ढुंगाना शाहका सहोदर भाइ हुन् । नेता शाह प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ हुन् ।

यो पनि पढ्नुहाेस् : ब्यारेकभित्रै महिला प्रहरी बलात्कृत, खानीखोलाका इन्स्पेक्टर पक्राउ

धादिङका एक प्रहरी अधिकारीका अनुसार यसभन्दा अघि पनि एक जना महिला प्रहरी अधिकृतमाथि जबरजस्ती करणी प्रयत्न गरेको मौखिक उजुरी थियो तर ढुंगानाले बालुवाटारको शक्ति प्रयोग गरेर ती अधिकृतलाई सरुवा मात्रै गराएनन् यो विषय उठाए जुनसुकै बेला जे पनि हुनसक्ने भन्दै धम्की दिएका थिए।

‘ढुंगाना सरको यस्तो विवाद खानीखोलामै तेस्रो पटक हो, उहाँलाई मापसे गरेपछि नियन्त्रण गर्न गाह्रो हुँदो रहेछ’, ती प्रहरी अधिकृतले भने ।

राति १ बजे घटना घटाएर बिहान काठमाडौं पुगेका ढुंगानालाई गएको शनिवार साँझबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरी अधिकृतहरूले नेताको पहुँचमा भएका र नभएका सबैलाई कानुनमा एकै व्यवस्था हुनुपर्ने विषय उठाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर