शीर्ष नेताबिनाको शेखर समूहको भेला : सहभागी नेता भन्छन्- विद्रोह रोक्न नेतृत्व सचेत हुनुपर्छ – Nepal Press

शीर्ष नेताबिनाको शेखर समूहको भेला : सहभागी नेता भन्छन्- विद्रोह रोक्न नेतृत्व सचेत हुनुपर्छ

काठमाडौं । शीर्ष नेताबिनाको शेखर गगन समूहको भेला सकिएको छ । टिकट वितरणमा समानता हुनुपर्ने माग राख्दै शेखर गगन समूहका नेताहरू छुट्टै भएका थिए । तर भेलामा कुनै पनि शीर्ष नेता सहभागी भएनन् ।

बैठकमा सहभागी नेता भूपेन्द्रजंग शाहीले पार्टीलाई बहुमत दिलाउन एकजुट र एक ढिक्का भएर जानुपर्छ भन्ने आफूहरूको भनाई रहेको बताए ।

समानुपातिक सूचीमा पार्टीमा संघर्ष गरेका नेताहरूलाई विभेद गरिएको उल्लेख गर्दै उनले प्रत्यक्षतर्फ पनि यस्तै भए विद्रोह हुने चेतावनी दिए ।

पार्टीलाई दुर्घटनाबाट जोगाउन नेतृत्व सचेत हुनुपर्ने उनको भनाई थियो ।

उनले भने, ‘यो कुराबाट सचेत बनेर प्रत्यक्षको टिकट वितरणमा पार्टी गम्भीर बन्नुपर्‍यो । काखा र पाखा गर्नुभएन । यताको की उताको भनेर गर्नुभएन । महाधिवेशनमा कसले कसलाई भोट दिएको हो भन्ने आधारमा टिकट वितरण भयो भने परिणाम राम्रो आउँदैन ।’

चुनाव जित्न सक्नेलाई टिकट वितरण हुनुपर्ने र त्यसो नभएमा पार्टी दुर्घटनातर्फ जाने उनले चेतावनी दिए ।

गुटबन्दीका आधारमा टिकट वितरण भए कार्यकर्ताहरूले विद्रोह गर्ने उल्लेख गर्दै उनले भने, ‘संसदीय बोर्डमा भएका नेताहरू सचेत बनेर पार्टीमा विद्रोह हुने खालको अवस्था रोक्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर