बाढीले बाँके र बर्दियाका आधा दर्जन गाउँ डुबानमा – Nepal Press

बाढीले बाँके र बर्दियाका आधा दर्जन गाउँ डुबानमा

रुपन्देही । वर्षापछि आएको बाढीले बाँके र बर्दियाका आधा दर्जन गाउँ डुबानमा परेका छन् भने दर्जनौँ घरपरिवार विस्थापित भएका छन् ।

मङ्गलवार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीका कारण बर्दियाको गुलरिया—५ बालापुर डुबानमा परेको छ । बिहान साढे ११ बजेसम्म करिब ५० घर डुबानमा परिसकेका छन् ।

बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरूले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन् । डुबान बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर उद्धार कार्य भइरहेको छ । बाढी थप दर्जनौँ घरमा पस्ने क्रममा छ । बबईको जलस्तर हाल ७ दशमलव ५ मिटरमाथि रहेको छ । बबईमा जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको सतर्कता नाघेको मानिन्छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाढीसँगै कटानले गुलरियाको प्रयागपुर, बालापुर र हरियाली टोलमा कटान भइरहेको बताए ।

‘कटान क्षेत्रबाट सुहेलवा, बालापुरबाट बाढी पसेको छ,’ उनले भने, ‘जलस्तर बढिरहेकोले बाढीको खतरा टरेको छैन । बाढीको पानी पसेर धानखेत डुबानमा पर्दै गइरहेका छन् । तटीय क्षेत्रका बासिन्दा त्रासले घरका सामान सारिरहेका छन् ।’

पानी लगातार परिरहेकोले साँझसम्म बाढीले थप क्षति पुर्‍याउने जोखिम बढेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका एसपी जहरसिंह बुढामगरले बताए । धनजनको क्षति नहोस् भन्दै थप सुरक्षा बल त्यहाँ परिचालन गरिएको उनले जनाए ।

बबई नदीमा खतराको चिन्हमाथि बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले जिल्लाबाट बग्ने खोला, नाला र नदी भरिन थालेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सजक रहन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

तटीय क्षेत्रका पालिकास्थित वडा अध्यक्षसँग सम्पर्क गरेर सतर्कता रहन र आवश्यक परे प्रशासनको सहयोग लिन आग्रह गरेको प्रजिअ बास्तोलाले जनाए ।

उता बबई र राप्ती नदीमा आएको बाढीले आसपासका क्षेत्र डुबानमा परेका छन् । स्थानीय प्रशासनले नदी आसपासमा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सूचना नारी गरेको छ । बाँकेका ४ गाउँ डुबानमा पर्दा ८० भन्दा बढी परिवार विस्थापित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर