प्रचण्ड आउँदा गोरखामा छैन कसैको विरोध, कांग्रेसको टिकटले ल्याउनसक्छ अन्तरविरोध – Nepal Press

प्रचण्ड आउँदा गोरखामा छैन कसैको विरोध, कांग्रेसको टिकटले ल्याउनसक्छ अन्तरविरोध

कांग्रेसको टिकटबारे माओवादीको चासो, कांग्रेसको सम्भावित विद्रोह बन्नसक्छ गलपासो

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ छाडेर गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने सम्भावना बढेसँगै गोरखा १ मा कांग्रेसको उम्मेदवार बन्न नेताहरुले आफ्नो लबिङ बढाएका छन् ।

गोरखा २ मा माओवादी यसैपनि बलियो रहेको र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी समेत माओवादी केन्द्रकै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी भएपछि सो क्षेत्रमा प्रचण्डका लागि सहज जित निस्कने अनुमान छ ।

उता प्रचण्ड गोरखा २ मा आउने भएसँगै गोरखा १ मा प्रतिनिधि सभाको सीट कांग्रेसले पाए पनि उम्मेदवार को बन्ने भनेर नेतृत्वले संकेत दिएको छैन । सो क्षेत्रबाट सबैभन्दा बलियो दाबेदार रहेका राजेन्द्र बजगाईले टिकट पाए २ नम्बर क्षेत्रमा प्रचण्डलाई अझ सहज हुने भन्दै माओवादीको एउटा पंक्तिले कांग्रेस नेतृत्वसम्म लबिङ गरिरहेको छ ।

गोरखा २ मा जानुपर्दा १ नम्बर क्षेत्रमा कांग्रेसको को उम्मेदवार बन्दैछ भन्नेबारे प्रचण्डले समेत कांग्रेस नेताहरुसँग चासो राखेका छन् । डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पनि यसबारेमा चासो राखेका छन् ।

कांग्रेसको टिकट पर्खिदै एमाले

गोरखा १ मा कांग्रेसबाट राजेन्द्र बजगाईलाई रोक्न चीनकाजी श्रेष्ठ पनि दौडाहामा छन् । त्यसो त जिल्ला सभापति नन्द न्यौपानेले पनि गगन थापासँगको निकटतालाई टिकट हत्याउने मौकाका रुपमा प्रयोग गर्न कुनै कसर बाँकी राखेका छैनन् । न्यौपानेको दौड अन्तमा गएर प्रदेश सभा सदस्यमा टुंगिनसक्छ ।

चीनकाजी श्रेष्ठको जनसम्बन्ध पछिल्लो समय निकै कमजोर भइसकेको र कार्यकर्तालाई जागिर दिनु भनेको अरुप्रति नै लोयल हुने गराउनु हो भन्ने उनको अभिव्यक्ति विवादमा परेको छ । श्रेष्ठ २०४८ सालदेखि नै कांग्रेसबाट टिकट पाउने भाग्यमानीमा पर्छन् तर जनता र कार्यकर्ताको कुनै काम नगर्ने उडन्ते नेताको उपाधी पनि पाएका छन् ।

उनी २०५६ सालबाहेक सबै चुनावमा उम्मेदवार बनेका छन् भने २०७० मा समानुपातिकबाट सांसद भएका थिए । २०७४ मा प्रतिनिधिसभामा माओवादीका हरि अधिकारीसँग उनी पराजित भएका थिए भने बजगाई प्रदेशसभामा एमालेका रामशरण बस्नेतसँग झिनो मतले पराजित भएका थिए ।

चीनजकाजीले टिकट पाउँदा कांग्रेसकै पंक्ति परिचालन नहुने र त्यहाँ विद्रोह हुँदा विद्रोही पक्षलाई एमालेले सघाउने सम्भावना छ । किनकी एमाले गोरखामा कमजोर छ । यद्यपी गोरखा १ मा स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा एमालेको मत १४ हजार ५६६ छ ।

सो क्षेत्रमा सबैभन्दा धेरै कांग्रेसको मत २७ हजार ८४ र दोस्रोमा माओवादी केन्द्रको २५ हजार ४७२ मत छ । सो क्षेत्रमा बाबुराम समूहको मत करिब ३ हजार छ ।

एमालेले यस क्षेत्रमा पूर्वमन्त्री रामशरण बस्नेत वा हालसालै एमाले प्रवेश गरेका प्रभावशाली व्यवसायी बिजय मल्ललाई उम्मेदवार बनाउँदैछ । मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य नारायण मल्लका पारिवारिक सदस्य हुन् । यस क्षेत्रबाट विवेकशील साझा हुँदै हाल एमाले प्रवेश गरेका अब्दुस मिया पनि दाबेदार छन् ।

एमाले नेतृत्वले कांग्रेसको उम्मेदवार हेरेर त्यसपछि हुनसक्ने संस्थागत विद्रोह समेत आँकलन गरेर आफ्नो उम्मेदवार खडा गर्ने वा विद्रोही कांग्रेसलाई समर्थन गर्ने भन्ने टुंगो लगाउने भएको छ । कांग्रेसको शीर्षस्थ तहबाटै एमाले नेतृत्वसँग सम्भावित विद्रोह र एमालेसँगको सहकार्यबारे वार्ता भइरहेको छ ।

सुरेन्द्र पाण्डेको क्षेत्र परिवर्तन कति सम्भव ?

चीनकाजी माथि जनताको कुनै काम नगर्ने गरेको आरोप नै अहिले टिकटका लागि भारी परेको छ । यहि कमजोरी देखाएर गोरखा २ मा दाबी गरिरहेका नेता सुरेन्द्र पाण्डे पनि मौका मिले १ मा फड्किने दाउमा छन् । तर त्यसरी क्षेत्र परिवर्तन गर्दा झन् जोखिम हुने र क्षेत्र नम्बर २ मा समेत विद्रोही खडा भएर प्रचण्डलाई असर पर्ने भएकाले माओवादी नेतृत्व सचेत छ ।

बरु सुरेन्द्र पाण्डेलाई गण्डकीको भाबी मुख्यमन्त्रीको लागि प्रचण्डकै क्षेत्रमा प्रदेशसभा सदस्य उम्मेदवार बनाउनुपर्ने माग छ । पाण्डे उम्मेदवार बन्दा हाल बाबुराम पक्षका हरिशरण आचार्यले जितेको प्रदेश क्षेत्रमा जानेछन् भने हाल कांग्रेसका प्रकाशचन्द्र दवाडीले जितेको क्षेत्रमा बाबुराम पक्षका रमेश पोखरेलले टिकट पाउनेछन् ।

पोखरेलकी पत्नी धनमाया तामाङ हाल समानुपातिक प्रदेशसभा सदस्य छिन् । यदि क्षेत्र नम्बर १ मा कांग्रेसको टिकटमा गोलमाल भएको खण्डमा दुवै क्षेत्रमा बलिया बागी हुने सम्भावना छ । व्यक्तिगत मतका आधारमा वाम गठबन्धनलाई हराएका प्रकाशचन्द्र दवाडी त्यो अवस्थामा प्रदेशमै बागी उठे भने प्रचण्डलाई असर पर्नेछ ।

दवाडीले व्यक्तिगत रुपमा ७ हजारसम्म मत पाउने हैसियत राख्छन् र पाँच वर्षको बीचमा तलबभत्ता सबै वडामा विभिन्न सामाजिक काममा लगाएका छन् । गोरखा २ मा वडाको मतका आधारमा माओवादी २२ हजार २५० मतसहित पहिलो छ भने २१ हजार १३६ मतसहित दोस्रो स्थानमा कांग्रेस छ ।

एमालेको मत ८ हजार र बाबुराम नेतृत्वको नेसपाको ७ हजार ५ सय मत रहेको छ । मतका आधारमा गोरखाका दुवै क्षेत्रमा कांग्रेस र माओवादी मिलेपछि अरुको सम्भावना देखिन्न । तर कांग्रेसभित्रको सन्तुलन मिलाउन नसक्ने हो भने एमालेले गोरखामा कांग्रेसका बलिया विद्रोहीलाई सघाएर परिणाम अन्तै लैजाने शक्ति भने राख्छ ।

कांग्रेसको किचलो

गोरखामा कांग्रेसभित्रको किचलो बहुध्रवीय छ । यहिकारण अघिल्लो स्थानीय चुनावमा ११ मध्ये ९ पालिका जितेको कांग्रेस यसपटक दुई पालिकामा खुम्चिएको छ । गोरखा कांग्रेस जनमत र संगठन भएर पनि अभिभावक नभएको अवस्थामा छ । त्यसैले यसपटक सबै उम्मेदवार नयाँ र युवा दिन दबाब छ ।

प्रचण्ड नै जाने हुँदा गोरखा १ को कांग्रेसको टिकटमा उनको पनि चासो रहेको छ । राजेन्द्र बजगाई र चीनकाजी श्रेष्ठमध्ये को बलियो हुन्छन् भन्नेबारे पनि सोधखोज भइरहेको छ । बजगाईको भूगोल घना बस्तिको भएको,उनी नयाँ र साधन स्रोत सम्पन्न भएका कारण पनि माओवादीका लागि उनी उम्मेवार बन्दा प्रचण्डलाई भरथेग हुने यहाँका नेताहरुको आँकलन छ ।

अघिल्लो चुनावमा कांग्रेसले समानुपातिकमा पाएको भन्दा करिब ३५ सय मत बजगाईले व्यक्तिगत लोकप्रियताका कारण ल्याएका थिए ।

त्यसो त गोरखा १ निकै विकट हिमाली क्षेत्रसम्म फैलिएको क्षेत्र भएकाले उद्धार र व्यवस्थापनको अर्को नामका रुपमा बजगाई चर्चित छन् । उनले तत्कालै हेलिकोप्टर पठाएर पीडितको उद्धार गर्ने गरेका छन् । बजगाईले युवालाई अवसर भन्ने नारा अघि सार्दा चीनकाजीसँग कुनै अपिल छैन ।

चीनकाजीको सबल पक्ष भनेको उनी कांग्रेस राजनीतिमा कहिल्यै प्रतिपक्षमा रहेनन् । उनी २०४८ मा किसुनजी र गणेशमानको पक्षबाट टिकट पाएर जिते भने गिरिजाप्रसाद कोइराला संस्थापन भएपछि कोइराला पक्षमा लागेर टिकट पाइरहे । पछि सुशील कोइराला हुँदै हाल देउवा समूहमा छन् ।

चीनकाजीभन्दा आजको दिनमा पनि चिरन्जिवी वाग्लेको जनमत गोरखामा धेरै छ । बजगाईलाई रोक्न चिनकाजी र सुरेन्द्र पाण्डे एकठाउँमा उभिए पनि गोरखाको चुनाव अझ रोचक मोडमा पुग्नेछ भने तेस्रो धार उदय हुनसक्ने अनुमान छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर