सीट बाँडफाँटमा ‘फाइनल टच’ हुँदै, उपेन्द्रलाई एमालेतिर जान नदिन कांग्रेस ८० मा झर्ला ? – Nepal Press

सीट बाँडफाँटमा ‘फाइनल टच’ हुँदै, उपेन्द्रलाई एमालेतिर जान नदिन कांग्रेस ८० मा झर्ला ?

काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रको सीट बाँडफाँट आजै टुंगो लगाउने र ढिलोमा भोलि बिहानसम्म सहमतिमा हस्ताक्षर गर्ने भएको छ ।

हिजै सहमति हुने भनिए पनि जसपालगायतका साना दलले केही सीटमा नमानेपछि आज टीका लगाएर पुनः छलफलमा जुट्नेगरी आफूहरू उठेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनले कोशी पश्चिम र राप्ती पूर्वका केही जिल्लाहरूमा कुरा मिलेको छैन ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने आजै रातिसम्म भने पनि सहमतिमा हस्ताक्षर गर्ने तयारी रहेको बताए । उनका अनुसार कांग्रेस ८५ सीटमा चुनाव लड्ने लगभग सहमति छ । त्यस्तै माओवादी ४४ सीटमा लड्ने उनले जानकारी दिए ।

नेकपा एसललाई १८ र जसपाले १६ सीट दिने प्रस्ताव दुई ठूला दलले राखेकोमा आफूहरूले त्यसमा नमानेको खनालले बताए । नेकपा एसले कम्तीमा २० सीटको अडान राखेको छ भने जसपाले २५ भनेको छ । जसपा १६ सीट लिएर गठबन्धनमा नबस्ने भएको छ ।

जसपाले मागे बमोजिमको सीट दिँदा गठबन्धनका ठूला दलमध्ये कांग्रेस ८० तिर झर्नुपर्ने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव एमालेसँग पनि समानान्तर वार्तामा रहेको जानकारी पाएपछि गठबन्धनका शीर्ष नेता दबाबमा परेका छन् ।

जसपाले गठबन्धनमा प्रतिनिधिसभाको मात्र होइन मधेस प्रदेशको सीटमा मुख्य असहमति जनाएको छ ।

चुनावपछि मधेसमा आफ्नो नेतृत्वको सरकार बन्न गाह्रो हुने गरी सीट बाँडफाँट हुन लागेपछि उपेन्द्रले एमालेसँग तालमेलको तयारी गरेका छन् ।

त्यही बुझेर गठबन्धनले चाँडै हस्ताक्षर गर्न खोजेको छ । उपेन्द्र भने एमालेसँग प्रतिनिधिसभामा २५ सीट र मधेस प्रदेशमा आधा भन्दा बढी सीट लिएर तालमेल गर्ने र गठबन्धन छाड्ने सोचमा छन् ।

उपेन्द्र एमालेसँग जाँदा मधेस प्रदेशका ३२ मध्ये दुई तिहाइ सीट एमाले जसपा गठबन्धनले जित्ने मतभार स्थानीय चुनावबाट देखिएकाले पनि गठबन्धनमै राख्न कांग्रेस थप लचिलो हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर