भारतीय नाकाबन्दीविरुद्ध राजा वीरेन्द्रलाई साथ दिएका तत्कालीन चिनियाँ राजदूतको निधन – Nepal Press

भारतीय नाकाबन्दीविरुद्ध राजा वीरेन्द्रलाई साथ दिएका तत्कालीन चिनियाँ राजदूतको निधन

काठमाडौं । चीनमा कम्युनिष्ट पार्टीको विजयपछिको पहिलो पुस्ताका कुटनीतिज्ञ तथा नेपालको असल मित्र लि देवियाओको ९१ वर्षको उमेरमा निधन भएको छ ।

उनको सेप्टेम्बर २६ मा निधन भएको चीनका लागि पूर्व नेपाली राजदूत लिलामणी पौडेलले बताएका छन् । लि नेपालमा दुईवटा व्यवस्थाबीचको संक्रमणकालीन समयमा काठमाडौंमा राजदूत भएका थिए ।

सन् १९८७ मा उनी राजदूत भएर आउँदा नेपालमा पञ्चायती व्यवस्था थियो भने उनी सन् १९९१ मा बेइजिङ फर्किने बेला बहुदलीय व्यवस्था स्थापना भएको थियो । भारतले २०४५ सालमा राजा वीरेन्द्रलाई गलाउन नेपालविरुद्ध नाकाबन्दी लगाएका बेला राजदूत लिको पहलमा चीनबाट सहयोग प्राप्त भएको थियो ।

भारतले नाकाबन्दी लगाएका बेला चीनबाट आपूर्ति सहज बनाउने उनको भूमिका रहेको पूर्व राजदूत पौडेलले स्मरण गरेका छन् । आफ्नो कुटनीति जीवनमा धेरै देशको राजदूत बनेका लि ले नेपालको बसाई र नेपालसँगको सम्बन्ध सबैभन्दा स्मरणीय रहेको बताउने गरेका थिए ।
उनी बेइजिङस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रमहरुमा पनि गइरहन्थे ।

उनको नेकपा एमालेका अध्यक्ष केपी ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत वामपन्थी नेताहरुसँग पछिल्ला दिनहरुमा पनि संवाद हुने गरेका थिए ।

राजदूतबाट हटेपछि पनि उनले नेपालसँगको सम्बन्ध कायम राख्न विभिन्न ढंगले काम गरेको पूर्वराजदूत पौड्यालले स्मरण गरेका छन् । ली नेपाल—चीन अन्तर्राष्ट्रिय बुद्धिस्ट कल्चर फाउन्डेशन र नेपाल—चीन इकोनोमिक एन्ड टे«ड एसोसिएसनमा चीनतर्फबाट अध्यक्ष भएका थिए ।

पूर्वराजदूत पौड्यालले बेइजिङस्थित दूतावासमा चिनियाँ लगानी नेपाल भित्र्याउने उद्देश्यले आयोजना गरेको एक कार्यक्रममा लीले चिनियाँ लगानीकर्तालाई नेपाल जान प्रोत्साहित गरेका थिए। त्यो प्रयास अन्तर्गत नेपाल सरकारले २०७३ मा आयोजना गरेको लगानी सम्मेलनमा उल्लेख्य चिनियाँ लगानीकर्ता सहभागी भएको स्मरण गरेका छन् ।

लि ले चीनको परराष्ट्र सेवामा सन् १९४९ देखि प्रवेश गरेका थिए । उनले करीव चार दशक परराष्ट्र सेवामा बिताउँदा २६ वर्ष नेपालसहित युरो,अफ्रिका र अमेरिकी देशहरुमा राजदूत भएका थिए । उनको निधनपछि कम्युनिष्ट पार्टीको झडा ओढाएर अन्तिम बिदाई गएिको थियो । उनले माओ त्से तुङ र चाउएनलाइ देखि देङ सिआओ पिङ र जियाङ जमिनको नेतृत्वमा काम गरेका थिए ।


प्रतिक्रिया

One thought on “भारतीय नाकाबन्दीविरुद्ध राजा वीरेन्द्रलाई साथ दिएका तत्कालीन चिनियाँ राजदूतको निधन

  1. उहाँ प्रति तमाम राष्ट्रवादी नेपालीको तर्फबाट सेलुट साथै उच्च सम्मान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *