यात्रुसँग बढी भाडा उठाउनेलाई प्रहरीको कारबाही – Nepal Press

यात्रुसँग बढी भाडा उठाउनेलाई प्रहरीको कारबाही

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे रुटमा सवारीसाधनले दसैँका यात्रुसँग दोब्बर भाडा उठाउन थालेपछि ट्राफिक प्रहरीले ६ वटा बसलाई जरिवाना लिएको छ ।

तोकिएको भन्दा दोब्बर भाडा तिर्ने यात्रुको रकम बसबाट फिर्ता गराइएको छ । काठमाडौं, बुटवललगायत सहरबाट सार्वजनिक सवारीमा यात्रा गरेर आउने यात्रुसित गाडीवालाले मनपरी भाडा असुलेको व्यापक गुनासो आएपछि प्रहरीले सन्धिखर्कदेखि पत्थरकोटसम्म विभिन्न ठाउँमा जाँचलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।

ठाडा क्षेत्रमा दोब्बर भाडा असुल्ने ६ वटा गाडीलाई नियन्त्रणमा लिएर ३५ जना यात्रुको बढी भाडा फिर्ता गरिएको अस्थायी ट्राफिक पोस्ट ठाडाका प्रहरी झविन्द्र कुँवरले जानकारी दिए ।

बस, जिप, हाइस, ट्याक्सीलाई रोकेरै सबै यात्रुलाई भाडा कति तिरेको हो भनेर सोध्ने गरिएको उनले बताए । बढी भाडा लिएको पाइएमा फिर्ता गराएर गाडीवालालाई जरिवाना गरिने उनले बताए ।

यात्रा गर्नुअघि नै जिप चालकले दोब्बर भाडा दिने भए मात्र गाडीमा चढ्न दिने भन्दै मोलमोलाइ गर्ने गरेको गुनासोपछि जिल्ला प्रहरी कार्यालयले अनुगमनका लागि प्रहरी खटाएको छ ।

प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले भाडादर कार्यान्वयन भए/नभएको बारे सन्धिखर्कदेखि पत्थरकोटसम्म फिल्डमै पुगेर जाँच गरिएको बताए ।

गाडी रोकेरै प्रहरीले सबै यात्रुलाई बढी भाडा तिरेको हो कि होइन भनेरै सोधेर बुझ्ने काम गरेको उनले बताए ।

यात्रुबाट मनपरी भाडा असुलेको, झोला र सामानको अतिरिक्त शुल्क तोकेको, यात्रुलाई अभद्र व्यवहार गरेको यात्रुले गुनासो गरेपछि कारबाहीमा पुगेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर