फ्ल्यासब्याकमा २०७४ को निर्वाचन : सर्वाधिक मत ल्याएका ओली मतान्तरमा दोस्रो, खनाल पन्ध्रौँ – Nepal Press

फ्ल्यासब्याकमा २०७४ को निर्वाचन : सर्वाधिक मत ल्याएका ओली मतान्तरमा दोस्रो, खनाल पन्ध्रौँ

यी हुन् १५ हजारभन्दा बढी मतले जित्ने १९ जना

कैलाली । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सरगर्मी तीव्र छ । मंसिर ४ का लागि टिकट पाउन र मतदाता रिझाउन नेताहरू व्यस्त छन् । अहिलेसम्म सबै उम्मेदवार जित सुनिश्चित भन्दै लबिङमा छन् । अघिल्लोपटक पनि जित सुनिश्चित भनिएका केही नेता पराजित भएका थिए । कोही झिनो मतान्तरले त कोही फराकिलो मतान्तरले हारे । प्रत्यक्षतर्फका १६५ मध्ये १९ उम्मेदवार १५ हजारभन्दा बढी भोटले विजयी भएका थिए ।

यहाँ तीनै नेताको चर्चा गरिएको छ

पार्वत गुरुङ

दोलखाका पार्वत गुरुङले ३० हजार ६४४ मतान्तरले जित निकाल्दै प्रतिनिधिसभा सर्वाधिक फराकिलो मतान्तरले विजयी हुने नेता बने । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमाले नेता गुरुङले ५५ हजार ४५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत पाएका थिए ।

केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालमा सबैभन्दा धेरै भोट ल्याएर प्रतिनिधिसभा सदस्य बन्ने मौका पाएका थिए। मतान्तरमा भने ओलीलाई एमालेकै पार्वत गुरुङले जिते । ओली ५७ हजार १ सय ३९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए। ओली २८ हजार ८४२ मतान्तरले विजयी भएका थिए ।

भूमिप्रसाद त्रिपाठी

धादिङ क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका साझा उम्मेदवार बनेरका भूमिप्रसाद त्रिपाठी २७ हजार १५३ मतान्तरले विजयी भएका थिए । उनी फराकिलो मतान्तरले विजयी हुने तेस्रो स्थानमा छन् । त्रिपाठीले ४९ हजार १ सय २१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गरेका थिए ।

जयकुमार राई

सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनबाट एमाले उम्मेदवार बनेका एमाले नेता जयकुमार राईले ४४ हजार ५ सय २८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अशोक राईले २२ हजार १ सय २३ मत प्राप्त गरेका थिए । अशोक राईलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । एमाले उम्मेदवार जयकुमारले अशोक राईलाई २२ हजार ४ सय ५ मत अन्तरले हराएका थिए ।

विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेका एमालेका उपाध्यक्ष विष्णु पौडेल १५ हजारभन्दा बढी मतान्तरले जित निकाल्ने मध्येका एक हुन् । पौडेलले ४४ हजार ०९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए । पौडेलले २२ हजार ६३ मतान्तरले जित निकालेका थिए ।

रेशम चौधरी

वारेसनामामार्फत उम्मेदवारी दिएका रेशमलाल चौधरी २० हजार ९३४ मतान्तरले विजयी भएका थिए । उनले वाम गठबन्धनका उम्मेदवारलाई पनि फराकिलो मतान्तरले हराए । ३४ हजार ३४१ मत ल्याएर विजयी हुँला उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याएकी थिइन् । नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत ल्याएर तेस्रो भइन् ।

वर्षमान पुन

नेकपा माओवादीका नेता वर्षमान पुन २०७४ सालमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए । २० हजार ७४७ मतान्तरका साथ कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई पराजित गरेका थिए । वर्षमानले ४० हजार ६ सय ४७ मत प्राप्त गर्दा अमरले १९ हजार ९ सय ६ मत ल्याएका थिए ।

बिना मगर

कञ्चनपुर निर्वाचन- १ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगर १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् । बिनाले ३९ हजार २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार ४३७ मत प्राप्त गरेका थिए ।

जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाली कांग्रेसका गोपालजी जङ्ग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पारेर विजयी भएका थिए । शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरेका थिए ।

टोपबहादुर रायमाझी

नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका टोपबहादुर रायमाझी बाम गठबन्धनका साझा उम्मेदवार बनेर अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । हाल एमालेमा रहेको रायमाझी १८ हजार २९३ मतान्तरले विजयी भएका थिए । रायमाझीले ५० हजार ३ सय ८५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए ।

महन्थ ठाकुर

लोसपाका अध्यक्ष महन्थ ठाकुर २०७४ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट भारी मतान्तरले विजयी भएका थिए । नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेका ठाकुरले प्रतिस्पर्धी उम्मेदवारभन्दा तेब्बर बढी मत पाएर विजयी भएका थिए । ठाकुरले २७ हजार ५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता विजयकुमार चौधरीले ८ हजार ९७७ मत पाएका थिए ।

गोकुल बाँस्कोटा

एमाले नेता गोकुल बाँस्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट १७ हजार ८ सय ४८ मतान्तरसहित विजयी भएका थिए । बाँस्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गर्दा कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५ सय ६९ मत ल्याए ।

महेश बस्नेत

महेश बस्नेतले २०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर १७ हजार ७२५ मतान्तरले जित निकालेका थिए । बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुङ्गानाले १८ हजार ६८७ मत ल्याएका थिए ।

कृष्णभक्त पोखरेल

चितवन क्षेत्र नम्बर २ बाट २०७४ सालको चुनावमा कांग्रेस उम्मेदवार शेषनाथ अधिकारीलाई पराजित गर्दै बाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्णभक्त पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पोखरेल १७ हजार ४५६ मतान्तरले विजयी भएका थिए । पोखरेलले जितका लागि ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत ल्याएका थिए ।

झलनाथ खनाल

नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल २०७४ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले निकट प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजार १६७ मतले उछिनेका थिए । खनालले ३६ हजार ८०५ मत ल्याएका थिए भने कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए । खनाल अहिले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीका सम्मानित नेता भएका छन् ।

शरतसिंह भण्डारी

महोत्तरी-२ बाट तत्कालीन राजपाका नेता शरतसिंह भण्डारी दोब्बर भन्दा बढी मत फरकले विजयी भएका थिए । पूर्वमन्त्री समेत रहेका भण्डारीले ३० हजार ७२२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत पाएकी थिइन् । उनीहरुको मतान्तर १६ हजार७४८ थियो ।

यो क्षेत्रमा राजपा तथा तराईकेन्द्रित अर्को दल संघीय समाजवादी फोरमबीच चुनावी तालमेल थियो । राजपा र संघीय समाजवादी फोरमका बीचमा एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । सो पार्टी विभाजन भएपछि अहिले भण्डारी लोसपामा छन् ।

लालप्रसाद साँवा (एलपी साँवा)

लालप्रसाद साँवा (एलपी साँवा लिम्बूका नामले परिचित एमाले नेता लालप्रसाद साँवा लिम्बू झापा ४ बाट १६ हजार ६९३ मतान्तरले विजयी भएका थिए । साँवाले ४३ हजार ५१५ मत प्राप्त गर्दा कांग्रेसका देउकुमार थेबेले २६ हजार ८२२ मत प्राप्त गरेका थिए ।

दुर्गा पौडेल

प्युठान मसालका महामन्त्री मोहन विक्रम सिंहको गृह जिल्ला हो । प्युठानबाट सिंहकी पत्नी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल वाम गठबन्धनबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी १६ हजार २२८ मतान्तरले विजयी भएकी थिइन् । पौडेलले ४१ हजार ५ सय १४ र निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. गोविन्द पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए ।

प्रेम सुवाल

नेमकिपाका नेता प्रेम सुवाल भक्तपुर क्षेत्र नम्बर १ बाट एक्लै चुनावी मैदानमा उत्रिएर १५ हजारभन्दा बढी मत ल्याएर जित निकालेका थिए । उनले १५ हजार २५८ मतान्तरले जितेका हुन् । नेपाल मजदुर किसान पार्टीको एकमात्र गढका रुपमा चिनिएको यो क्षेत्रमा सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे उम्मेदवार बन्दै आएका थिए । पछिल्लो समय बिजुक्छेले चुनाव नलड्ने घोषणापछि सुवाल उम्मेदवार बनेका हुन् । सुवालले ३३ हजार ७६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर