चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त राख्न लुम्बिनी प्रदेशमा ८ हजार बढी प्रहरी परिचालन – Nepal Press

चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त राख्न लुम्बिनी प्रदेशमा ८ हजार बढी प्रहरी परिचालन

रुपन्देही । मुख्य चाडपर्वहरुमा सुरक्षा व्यवस्था चुस्त राख्नका लागि लुम्बिनी प्रदेश प्रहरीले ८ हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ ।प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै १९५० वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको हो । यसका लागि ८ हजार १ सय ७६ प्रहरी परिचालन गरिएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायको कमाण्डमा प्रदेश कमाण्ड पोस्टसहितको सुरक्षा रणनीति बनाइएको हो । सम्भावित अपराधिक गतिबिधि नियन्त्रण तथा दुर्घटना रोक्नका लागि प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन सकिने योजना प्रहरीले बनाएको छ ।

यसका लागि ९ सय २७ वटा सञ्चार उपकरण, ठूला र साना हतियार २८ सय ७२ र तिनमा प्रयोग हुने गोली झण्डै २५ हजार परिचालन गरिएको छ भने ४ हजार ७३ वटा लाठी पनि प्रहरीले प्रयोग गर्ने गरी दशैंतिहार सुरक्षा रणनीति बनाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रदेश कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नवरत्न पौडेलका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा ३ वटा प्रदेश रिजर्भ टोली, १२ वटै जिल्लामा कार्यालय प्रमुखको नेतृत्वमा कमाण्ड पोस्ट, २७ वटा जिल्ला रिजर्भमा ४ सय ८५ प्रहरीको परिचालन गरिएको छ ।

नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि प्रहरीले क्वीक रेसपोन्स गर्ने गरी एक सय ५ वटा क्युआरटी परिचालन, कार्यालयको सुरक्षा गर्न प्रदेशभर ४ सय ७८ वटा टोलीमा १७ सय ४४ प्रहरी परिचालन गरेको छ । त्यस्तै, चार पाङग्रे मोबाइल गस्ती ८३ वटा, मोटरसाइकल गस्तीमा ४ सय ६१, पैदल गस्तीमा ४ सय ९१ प्रहरीलाई परिचालन गरिएको छ भने २८१ वटा पिकेट टोली आम नागरिकको सुरक्षामा खट्ने छ ।

सडक सुरक्षा, चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा, ठगी, सवारी दुर्घटना र ओभरलोड, हैरानी र अवैध हातहतियार एवं लागूऔषध ओसारपसार गर्ने सम्भावनालाई मध्यनजर गर्दै नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजनाअन्तर्गत ट्राफिकसहितको संयुक्त चेकिङमा ८३ वटा टोली प्रदेशका विभिन्न क्षेत्रमा परिचालन भएका छन्, त्यस्तै पर्वको समयमा पनि भिआइपी र भिभीआइपीको आवागमनलाई मध्यनजर गर्दै २८ वटा टोलीमा १६५ जना प्रहरी परिचालन गरिएको प्रदेश कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी पौडेलले जानकारी दिए ।

भिडभाड, बसपार्क, सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने जस्ता काम नहोस भन्नका प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउनका लागि १ सय १२ जना सादा पोसाकका प्रहरीहरु पनि तैनाथ गरिएको छ । यात्रुहरु सहजताका लागि सहजीकरण गर्न प्रदेशभरि ४३ वटा यात्रु सहायता कक्ष स्थापना भइ सेवा दिइरहेको कार्यालयले जानकारी दिएको छ ।

धार्मिक तथा पर्यटक स्थलहरुमा २५ वटा टोलीमा १३५ प्रहरी सुरक्षार्थ खटिएका छन, राजमार्गमा २७ वटा स्कटिङ टोली, लोक मार्गमा क्रस पेट्रोलिङ हतियार सहित ४९ टोली, २४ घण्टा राजमार्ग विशेष चेकिङमा ६१ टोली, ग्रामीण गस्तीमा १७२ वटा टोली प्रदेशभर परिचालन भएका छन ।

आर्थिक कारोबार बढी हुने सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी बृद्धि गर्ने, स्वदेश फर्कने नेपालीमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्यनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकताअनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य भइरहेको छ । रातिको समयमा पनि ठाउँठाउँमा गस्ती बढाइएको छ, यो समयमा चेकजाँच पनि बढी हुने भएकोले हाम्रै सुरक्षाको लागि हो भनि आमनागरिकले झन्झट रुपमा नलिन समेत प्रहरीले सबैलाई आग्रह गरेको छ ।

अन्य समयमा भन्दा चाडपर्बमा बढी चोरी हुने, दुर्घटना बढ्ने, झैझगडा गर्ने बढी हुने भएकाले सबैलाई सचेत रहन प्रहरीको आग्रह छ ।

बजार अनुगमन गरी कालोबजारी गर्ने र कृत्रिम अभाव हुन नदिन प्रदेशभर ४२ वटा टोलीमा १ सय ६३ प्रहरी परिचालन गरी बजार अनुगमन टोलीमा पठाइएको छ । नेपाल प्रहरीका साथ साथै सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, सञ्चारकर्मी,उद्योगी–व्यवसायी, स्थानीयसँग समन्वय गरी पनि सुरक्षा प्रबन्ध मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *