टीकाको दिन यी ठाउँमा भारी वर्षा हुने, कस्तो छ आजदेखि तीनदिनको मौसम ? – Nepal Press

टीकाको दिन यी ठाउँमा भारी वर्षा हुने, कस्तो छ आजदेखि तीनदिनको मौसम ?

काठमाडौं । मनसुनी वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा अहिले घाम लागेको छ ।

प्रदेश १ र वागमतीका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश र वागमतीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि नवमीको दिन दिउँसो प्रदेश १, मधेस र वागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, मधेस, वागमती, गण्डकी प्रदेश र लुम्बिनीका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने रातिदेखि देशभर सामान्य बदली रहनेछ । महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार भोलि बेलुकादेखि मौसममा बदली हुनेछ ।

बुधबार टीकाको दिन देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनुसन बाहिरिनसकेकाले यस वर्षको दसैँ हिले दसैँ हुने भएको छ। सामान्यतया मनसुन अक्टाेबर १ देखि बाहिरिने भएपनि यस वर्ष ढिला हुने माैसमविद् मन्जु बासी बताउँछिन् ।

टीकाको दिन दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा प्रदेश १ र वागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति पनि देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको कारण ठाउँठाउँमा बाढी पहिरो जाने भएकाले सतर्कता अपनाउनसमेत महाशाखाको आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर