वागमतीका यी नेता मुख्यमन्त्रीको दाबीसहित मैदानमा – Nepal Press
चुनाव ०७९ :

वागमतीका यी नेता मुख्यमन्त्रीको दाबीसहित मैदानमा

हेटौँडा । राजनीतिक दलहरू आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारीमा जोडतोडको साथ लागेका छन् । नेकपा एमाले तथा सत्ता गठबन्धनसहितका अन्य दलहरू चुनावी तालमेल, जोड घटाउ तथा उम्मेदवार छनोटमा व्यस्त देखिन्छन् ।

दलहरूले प्रतिनिधिसभालाई केन्द्रमा राखेर चुनावी गतिविधि गरिरहेको सन्दर्भमा बागमती प्रदेशमा भने केही नेताहरू मुख्यमन्त्री ताक्दै प्रदेशसभामा उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।

यो पटक बागमती प्रदेशमा नेकपा एमालेबाट मुख्यमन्त्रीको बलियो दुई जना उम्मेदवारले चुनाव नलड्ने घोषणा गरेसँगै एमाले पोलिटब्युरो सदस्य रामेश्वर फुयाँललाई सहज भएको छ । बागमती प्रदेश सरकारमा एमाले संसदीय दलको प्रमुख सचेतक तथा एमालेबाट भौतिक मन्त्री समेत भएका फुयाँल मुख्य दाबेदारको रूपमा रहेका छन् । मुख्यमन्त्रीको दाबीको लागि उनी यो पटक पनि प्रदेशसभामा उम्मेदवारी दिँदैछन् ।

फुयाँलसँगै अर्का दाबेदारको रूपमा बागमती प्रदेशमा सभामुख सानुकुमार श्रेष्ठ पनि छन् ।

श्रेष्ठले फेरि पनि प्रदेशसभामा निर्वाचित भएर थप कार्यकारी भूमिकामा आउने चाहना भएको नेपाल प्रेससँग बताए । उनले घुमाउरो भाषामा जनतासँग सिधै जोडिने स्थानमा जाने भन्दै मुख्यमन्त्रीको दाबी गरे ।

नेपाली कांग्रेसबाट यसै पटक सहमति हुँदा समेत मुख्यमन्त्री बन्न नपाएका इन्द्रबहादुर बानियाँ पनि प्रमुख दाबेदार हुन् । कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले यो पटक मुख्यमन्त्री हुने दाबी सहित प्रदेशसभामा उम्मेदवारी दिने भएका छन् ।

बानियाँलाई यो पटक उनकै पार्टीका नेता मोहन बस्नेतले रोक्न सक्ने कांग्रेस स्रोतको दाबी छ । बस्नेतले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा दाबी गरिरहेका छन् तर माओवादी केन्द्रका अग्निप्रसाद सापकोटालाई क्षेत्र बुझाउनुपरेको अवस्थामा उनी मुख्यमन्त्री बन्ने सर्तमा प्रदेशसभामा आउन सक्ने सम्भावना उच्च रहेको ती नेताको दाबी छ ।

माओवादी केन्द्रमा भने मुख्यमन्त्रीको दाबेदार शालिकराम जमरकट्टेल मात्र हुन् । लामो समयसम्म प्रदेशमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका उनी पुनः प्रदेशसभाको तयारीमा लागेको कारण पनि माओवादीले मुख्यमन्त्रीको रूपमा जमरकट्टेललाई नै अघि सारेको बुझ्न सकिन्छ ।

यो पटक एकीकृत समाजवादीको तर्फबाट भने मुख्यमन्त्रीको लागि अहिले नै सम्भावित उम्मेदवारहरू देखिँदैनन् । वर्तमान मुख्यमन्त्री रहेका राजेन्द्रप्रसाद पाण्डेले संघमा जाने इच्छा देखाएसँगै दोस्रो तहबाट कसलाई मुख्यमन्त्रीको लागि तयार गर्ने भन्ने विषयमा समाजवादी अलमलमा रहेको छ ।

नेपाल प्रेसँगको कुराकानीमा मुख्यमन्त्री पाण्डेले केन्द्रलाई सघाउन पनि आफू संघमा नै उम्मेदवार बन्नुपर्ने बाध्यता रहेको बताए । तर उनले आफ्नो उत्तराधिकारीको बारेमा भने बोलेनन् ।

समाजवादीभित्र अवसर पाएको अवस्थामा चितवनका कृष्ण शर्मा खनाललाई मुख्यमन्त्रीको लागि अघि सार्न सकिने सम्भावना रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर