बेनामे प्रदेशको अपजस तीनैजना मुख्यमन्त्रीले लिनुपर्छ, मेरो भागमा पर्ने भोग्न तयार छु : शेरधन राई (भिडिओ) – Nepal Press

बेनामे प्रदेशको अपजस तीनैजना मुख्यमन्त्रीले लिनुपर्छ, मेरो भागमा पर्ने भोग्न तयार छु : शेरधन राई (भिडिओ)

'अहिलेका मुख्यमन्त्रीले मैले भनेको बाहेक दुईतिहाइसहित कोही आए मान्दिनँ, प्रदेशसभा भंग गर्दिन्छु भनेर संवाद बन्द गरे'

काठमाडौं । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण गर्न नसक्नुको दोष आफूलाई मात्र लगाउँदा अन्याय हुने बताएका छन् । यसको अपजस तीनैजना मुख्यमन्त्रीले खेप्न तयार हुनुपर्ने उनले बताए । पहिलो र केही लामो अवधि आफू पदमा बसेकाले आफ्नो भागमा पर्ने भोग्न तयार रहेको उनको भनाइ छ ।

प्रदेशको नाम राख्न नसक्नुभएको कि नचाहेको ? भन्ने नेपाल प्रेससँगको जिज्ञासामा राईले संसदको अधिकार क्षेत्रभित्रको कुरालाई सकेन मुख्यमन्त्रीले भनेर मात्र नहुने बताए ।

‘मैले राख्न सकिन रे, मभन्दा पछिका दुईजना मुख्यमन्त्रीले के गर्नुभो भन्ने पनि सँगसँगै जोडिन्छ । म यो प्रश्नको कठघरामा उभिनैपर्छ । पहिलो र अलि लामो समय मुख्यमन्त्रीको जिम्मेवारी बोकेको हैसियतले । अलि बढी प्रश्न मतिर तेर्सिन्छ । तर, मलाई सजिलो छ किनभने मपछिका दोस्रो या तेस्रो मुख्यमन्त्रीले प्रदेशको नाम दिनुभएको भए एउटा नामर्द नामसम्म राख्न नसकेको असक्षम अयोग्य भन्ने स्पेस हुन्थ्यो । यो असाध्य धेरै बिक्न सक्थ्यो होला । तर, अरुले पनि सक्नुभएन । तीनैजनाले नाम राख्न सकेनन् । मैले बोक्नुपर्ने कति मात्रा हो म त्यो बोक्न तयार छु मैले भनेकै छु ।’

राईले आफूले नेतृत्वको गरेको संसदीय दलमा दुईतिहाइ भएपनि दुईवटा पार्टी खप्टेको तर मत र विचारमा जाँदा अलगअलग अवस्था रहेको बताएका छन् ।

‘सकिनँ मैले दुई दिन छलफल चलाउँदा पनि । कांग्रेस पनि तयार भएन । राजधानी तोक्नेक्रममा पनि सँगै सकौं भनेर छलफल चलाएँ । कुनै पनि दल तयार भएन । कांग्रेस र अरु दलले अहिले थाती राखौं हामीभित्रै पनि विभिन्न मतहरू छन् । समय चाहिन्छ भने’, उनले भने ।

नाम राखेन भनेर बडो सजिलो गरी आफूलाई जोड्ने गरिएकोप्रति राईले आश्चर्य जनाए ।

उनले भने, ‘मुख्यमन्त्रीले तोक्ने प्रस्ताव गर्ने विषय थियो भने म १५ दिनभित्र गर्थे । तर, व्यवस्थापिका संसदले तोक्नुपर्ने विषय छ । संविधानले नै दुई तिहाइले टुंग्याउने भनेको छ । मुख्यमन्त्रीले त यसो सहजीकरण गर्ने गराउने मात्र हो ।’

अहिलेका मुख्यमन्त्रीले हल्काढंगले जथाभावी बोलेको उनको टिप्पणी छ ।

‘उहाँले त २/४ दिनमै टुंग्याइदिन्छु भनेजस्तो गर्नुभो एउटा सेन्टिमेन्टमा । विषय बुझेर वा नबुझेर फटाफट बोल्नुभो । बोलेजस्तो त थिएन सरकारको नीति तथा कार्यक्रममा नामका बारेमा कहिँ कमिटमेन्ट आएन । हामीले बोल्दा त्यो सोध्यौं’, राईले भने, ‘सभामुखले नै बैठक बोलाको बेला मुख्यमन्त्रीले नै छलफलको ढोका बन्द गर्दिनु भो । मैले भनेको नाम मान्यौ भने ठीक छ प्रक्रिया आरम्भ हुन्छ, होइन भने दुईतिहाइ बनाएर कांग्रेस, एमाले अरु माननीयहरू आए म मञ्जुर छैन । म प्रदेशसभा अहिले भंग गर्दिन्छु भनेपछि संवादको ढोकै बन्द भयो ।’

वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई पहिचानसहितको नामको पक्षमा छ ।

पूर्वमूख्यमन्त्री राईसँगको विस्तृत भिडिओ अन्तर्वार्ता नेपाल टकमा प्रसारण हुनेछ । प्रतीक्षा गर्नुहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर