पूर्वराजाले खोजेको ‘कोर्स करेक्सन’ ! यस्ता छन् दशैं सन्देशभित्रका राजनीतिक सन्देश – Nepal Press

पूर्वराजाले खोजेको ‘कोर्स करेक्सन’ ! यस्ता छन् दशैं सन्देशभित्रका राजनीतिक सन्देश

काठमाडौं । नेपालीहरूको महान् चाड विजयादशमीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आज देशवासीका नाममा शुभकामना सन्देश दिए । यद्यपि १० मिनेट लामो यो भिडिओ सन्देश दशैंको शुभकामनामा मात्रै सीमित छैन । सन्देशमा पूर्वराजाबाट ‘फेरि देशको अभिभावकत्व लिने’ चाहना अत्यन्त प्रष्टताका साथ मुखरित भएको छ ।

पूर्वराजाले यसअघिका सन्देशहरूमा भन्दा बढी खुलेर देशका बेथिति र विसङ्गतिमाथि टिप्पणी गरेका छन् । अहिलेको व्यवस्था र प्रणालीले देशलाई बरबादीतर्फ लगिरहेको निष्कर्ष उनको अभिव्यक्तिमा झल्किन्छ । डेढ दशकपछि देशले ‘कोर्स करेक्सन’ गर्नुपर्ने बेला आएको भन्दै उनले गणतन्त्रबाट राजतन्त्रमा फर्किनुपर्ने आशय प्रकट गरेका छन् ।

पृष्ठभूमिमा सगरमाथा र आफ्ना दाजु–भाउजू (राजा वीरेन्द्र र रानी ऐश्वर्या) को तस्बिरसहित पूर्वराजाले गरेको सम्बोधनका मुख्य अंश यस्ता छन्:

– कुनै पनि देशभक्त नेपाललाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन । पद लोभ, सत्ता स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगिरहेकाहरूका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?

– कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृतिमय आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ । यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन । के गर्नु हुने, के गर्नु नहुने ? न्यायिक मूल्य के हो, के होइन ? ती सबै कुराको निराकरण कसले गर्ने ? कोबाट हुने ? देश र जनतासामु खट्किएको ज्वलन्त प्रश्न यही हो ।

– देशका प्रति वफादार र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ । प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो । देशका मौलिक मूल्य र सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रूपमा पाइन्छ । पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आम भावना रहेको छ ।

– आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ । त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ ।

– नेपाल निरन्तर देशी–विदेशीहरूको क्रिडाभूमि पनि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर समुन्नत सक्षम र समृद्धको पुनर्निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाललाई फेरि महान् बनाउनु परेको छ ।

– आफ्नै देशमा मौका नभएर हो कि वा नखोजेर हो, रोजगारी र कमाउन भनेर दिनहुँ हजारौंको संख्यामा नेपाली युवायुवती विदेशिरहेका छन् । एकातिर होनहार नागरिकहरू बाहिर गएर हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ ।

– विश्वका दुई ठूला मुलुकका बिचमा अवस्थित हाम्रो देशको धर्म–संस्कृति, सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको छ । डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको छ । हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ ।

– हाम्रा मौलिक धार्मिक–सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्र हित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथ भ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ ।

– अहिले पनि हामीले भनिसकेका छौँ, हाम्रो कुनै कार्यले देश कहिले पनि हार्न हुँदैन । राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकिय राज्यव्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् ।

नेपालमा संवैधानिक राजतन्त्र रहँदासम्म राष्ट्रप्रमुखका रूपमा राजाले विभिन्न चाडपर्वमा ‘देशवासीका नाममा सन्देश’ दिने प्रचलन थियो । गणतन्त्र आइसकेपछि त्यस्तो औपचारिकता राष्ट्रपतिबाट निर्वाह हुँदै आएको छ । तर, राजगद्दी गुमाएर नागरिकमा परिणत भइसकेपछि पनि पूर्वराजा ज्ञानेन्द्रले यस्तो सन्देश दिने सिलसिला जारी राखेका छन् ।

यथार्थमा भन्दा राष्ट्रपति वा प्रधानमन्त्री दिने सन्देशभन्दा पूर्वराजाको सन्देशमा जनताको बढी चासो पाइन्छ । राष्ट्रपतिका सन्देश विशेष सन्दर्भ लक्षित औपचारिक मात्रै हुने भएकाले त्यसमा कसैको ध्यान जाँदैन । पूर्वराजाले भने यस्तो सन्देशलाई आफूभित्र गुम्सेर रहेका भावना र कुण्ठाहरू अभिव्यक्त गर्न तथा राजनीतिक टिप्पणीहरू गर्न प्रयोग गर्दै आइरहेका छन् । यसर्थ नयाँ वर्ष, दशैं र प्रजातन्त्र दिवसमा आउने उनका सन्देशहरूका शब्द÷शब्द तौलिएर त्यसको भावार्थ निकाल्न विश्लेषकदेखि राजनीतिकर्मीसम्म तल्लीन हुन्छन् ।

पूर्वराजाको सन्देशमा सबैले खोज्ने विषय हो, उनले फेरि राजा बन्ने सोझो÷घुमाउरो लालसा प्रकट गरेका छन् कि छैनन् । यदि त्यस्तो केही भेटिए गणतन्त्रवादीहरू बुरुक्क उफ्रिहाल्छन् । डा. बाबुराम भट्टराईदेखि गगन थापासम्मले धारे हात लगाउन थालिहाल्छन् । यसले अझैसम्म पनि उनीहरूमा ‘गणतन्त्र’ देशमा स्थापित र सुरक्षित नभएको मनोत्राश कायम छ भन्ने बुझिन्छ ।

सन्देशभित्रका तीन सन्देश

अब चर्चा गरौँ, यसपालिको सन्देशका अन्तर्वस्तुबारे । भाषिक रूपमा गतिलो सम्पादन नभएको यस सन्देशमा गणतन्त्रवादी नेताहरूका लागि पूर्वराजामाथि धारे हात लगाउन प्रशस्त खुराक छन् । मूल रूपमा सन्देशभित्र तीन वटा सन्देशहरू भेट्न सकिन्छ ।

पहिलो : देशको दुरावस्था चित्रण

देशको दुरावस्थाप्रति पूर्वराजा एकदमै असन्तुष्ट र चिन्तित देखिएका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीन वटै अंगभित्र विग्रह, बेथिति र अराजकता पैदा भएको उनको निष्कर्ष छ । यसमा उनले देशको राजनीतिक प्रणाली अर्थात् गणतन्त्रलाई नै दोष दिन खोजेका छन् ।

पूर्वराजाले ठोकुवा गरेर भनेका छन्, ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ ।’

सन्देशमा पूर्वराजाले देशको अत्यन्त अँध्यारो चित्र प्रस्तुत गरेका छन् । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देश नै दाउमा लग्ने अवस्था बनेको दाबीसमेत उनको छ ।

दोस्रो : राष्ट्रियताको चिन्ता

पूर्वराजाले देशको राष्ट्रियता खतरामा रहेको भाव व्यक्त गरेका छन् । हालै संसद्ले पारित गरेर राष्ट्रपतिबाट निष्क्रिय तुल्याइएको नागरिकता विधेयकप्रति उनको घुमाउरो असन्तुष्टि प्रकट भएको छ ।

‘एकातिर होनहार नागरिकहरू बाहिर गएर हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ,’ सन्देशमा पूर्वराजाले भनेका छन् ।

देशले सन्तुलित परराष्ट्र नीति अंगिकार गर्न नसकेको तथा नेपालमा वैदेशिक चलखेल उत्कर्षमा रहेको उनको दावी छ ।

तेस्रो : कोर्स करेक्सनको माग

पूर्वराजाले १५ वर्षको अभ्यासले ‘कोर्स करेक्सन’ को अपरिहार्यता सिद्ध गरेको बताएका छन् । यो भनेको सायद गणतन्त्रबाट राजतन्त्रमा फर्किनुपर्छ भन्ने नै हो ।

अझ प्रष्ट रूपमा उनले सन्देशमा भनेका छन्, ‘आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ । त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ ।’

सन्देशमा थप भनिएको छ, ‘राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्यव्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् ।’

‘बलियो मियो’ वा ‘अभिभावकीय राज्यव्यवस्था’ भनेर उनले राजसंस्थालाई ईंगित गरेको बुझ्न कठिन छैन । यसरी पूर्वराजाले सन्देशमा ‘म फेरि राजा हुनुपर्छ’ मात्र भन्न बाँकी राखेका छन् ।

धेरै सत्य, केही भ्रम

गणतन्त्रवादीहरूलाई तितो लागे पनि पूर्वराजाले उजागर गरेका विषयहरू यथार्थभन्दा टाढा छैनन् । उनले भनेजस्तै देशका तीन वटै संवैधानिक अङ्गहरू अहिले चरम अराजकतामा फसेका छन् । देश–विदेशीहरूको क्रिडास्थल बनेको पनि यथार्थ हो । भ्रष्टाचार झाँगिएको, जनताको दैनिकी सकसपूर्ण बनेको, दलहरू सत्ता स्वार्थ र भागबन्डामा नै लिप्त रहेको लगायतका कुरामा पनि कसैको दुई मत नहोला ।

तर, यी विषयहरू उठान गरिरहँदा पूर्वराजामाथि तेर्सिने प्रश्न के हो भने, विगतमा उनी आफैँले प्रत्यक्ष शासन चलाउँदा देशमा रामराज्य थियो त ? हो, वैदेशिक चलखेल अहिलेको स्तरमा थिएन । त्यस बेला विदेशको मामुली सहसचिव नेपाल आएर अहिलेजस्तो सर्वत्र उछलकुद गर्न सक्दैनथ्यो । कम्तीमा नारायणहिटी दरबारमा सहज पहुँच थिएन । यद्यपि, वैदेशिक हस्तक्षेप नै शून्य थियो भन्ने चाहिँ होइन ।

जनताको जीवन त्यस बेला पनि सकसपूर्ण नै थियो । माओवादी जनयुद्धले थिलथिलो भएको देशलाई उनले निकास दिन नसकेकै हुन् । उनी जेजस्ता पात्रहरूबाट घेरिएका थिए, उनीहरूका अनुहार कत्ति पनि आशा जगाउने खालका थिएनन् । केही इतिहासको गर्तमा हराइसकेका पात्रहरूलाई उत्खनन गरेर तथा केही अवसरवादी राजनीतिमा पोख्त पात्रहरूलाई समेटेर उनले एउटा अगतिलो टिम बनाएका थिए ।

पूर्वराजाले आफ्ना बुवा महेन्द्रको सिको गर्दै प्रत्यक्ष शासनको प्रयास त गरे, तर महेन्द्रको जस्तो दुरदृष्टि, चातुर्यता र भिजन उनीसँग थिएन । फलतः ज्ञानेन्द्रको प्रत्यक्ष शासन असफल भएकै हो । यदि उनको शासन व्यवस्थाबाट सन्तुष्ट बनेको भए २०६२÷६३ को आन्दोलनमा जनता सडकमा निस्कने पनि थिएनन् होला ।

हो, दोस्रो जनआन्दोलनको एजेन्डा गणतन्त्र थिएन । केवल राजाले प्रत्यक्ष शासन छोडेर देशमा प्रजातन्त्र बहाली गर्नुपर्ने माग लिएर आन्दोलनको उठान भएको थियो । धर्मनिरपेक्षता र संघीयता त झन् जनचाहनाविपरीतका एजेन्डा हुन् । नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता ल्याउन बाह्य शक्ति, खास गरी दक्षिणी छिमेकी (धर्मनिरिपेक्षताको हकमा पश्चिमा शक्ति) को हात रहेको ओपन सेक्रेट हो । जनआन्दोलनका क्रममा भएका सभाहरूमा भारतीय नेताहरू आएर भाषण गर्थे । सात दल र माओवादीबीच ‘१२ बुँदे सम्झौता’ दिल्लीमा भएको थियो, जसको सबै चाँजोपाँजो भारतीय खुफिया एजेन्सीले मिलाइदिएका हुन् ।

यो सबै यथार्थ हुँदाहुँदै पनि २४० वर्ष लामो शाह वंशीय राजतन्त्र उखेलिनुमा कतै न कतै पूर्वराजा ज्ञानेन्द्रको आफ्नै कमजोरीले पनि काम गरेको छ । कुनै दूरगामी भिजनबिना प्रत्यक्ष शासनको भोक नदेखाएको भए सायद आजका दिनसम्म उनी एक सम्मानित राजाकै हैसियतमा हुने थिए । अनि, आफ्नो प्रत्यक्ष शासन सफल नभएको भेउ पाइसकेपछि र जनता सडकमा आइसकेपछि चाँडोभन्दा चाँडो दलहरूको नासो उनीहरूलाई सुम्पिदिएको भए देश गणतन्त्रसम्म नपुग्न सक्थ्यो ।

रात ढले अग्राख पलाउँछ भनेझैँ समयमा निर्णय लिन नसक्दा, राजनीतिक चातुर्य देखाउन नसक्दा र समझदारी अभावका कारण पूर्वराजाले ठूलो मूल्य चुकाउनु परेको हो । अब अहिले पछुताएर केही हुनेवाला छैन ।

त्यसो त जनता गणतन्त्रसँग पनि सन्तुष्ट छैनन् । सय वटा राजाभन्दा बरु एउटै राजा ठिक भन्न मनोभाव दिनानुदिन बढिरहेको छ । तर, सामान्य असन्तुष्टिले व्यवस्था परिवर्तन सम्भव हुँदैन । त्यसका लागि आन्दोलनको बहुतै ठूलो ज्वारभाटा सिर्जना हुनुपर्छ । राजतन्त्रका लागि त्यस्तो आन्दोलन तत्काल उठ्ने सम्भावना देखिँदैन । फेरि एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा हाम्फाल्दा देशले ठूलो मूल्य चुकाउनुपरेको हुन्छ ।

व्यवस्था साध्य नभएर साधन मात्र हो । संसारमा धेरै किसिमका शासन व्यवस्था अभ्यासमा छन् । राजतन्त्र भएका देशहरू पनि सफल छन्, गणतन्त्र भएका देशहरू पनि सफल छन् । अनि कतिपय दुवै खाले देशहरू असफल पनि छन् । हरेक प्रणालीका गुण–अवगुण हुन्छन् । अहिलेको दुरावस्थामा शासन प्रणालीभन्दा पनि शासन चलाउनेहरू जिम्मेवार हुन् । भविष्यमा गणतन्त्रप्रति जनताको असन्तुष्टि उत्कर्षमा पुगेर सडकमा पोखियो भने बेग्लै कुरा, अन्यथा पूर्वराजाले आशावादी हुने ठाउँ छैन । उमेरले पनि उनी जीवनको उत्तरार्द्धमा छन् । कथंकदाचित कुनै दिन राजतन्त्र फर्कियो भने पनि त्यो उनले नदेख्न सक्छन् । त्यसैले अहिलेलाई यस्तै सन्देशहरू दिएर मनको भँडास पोख्नेभन्दा अर्को उपाय देखिँदैन ।

प्रतिक्रिया

One thought on “पूर्वराजाले खोजेको ‘कोर्स करेक्सन’ ! यस्ता छन् दशैं सन्देशभित्रका राजनीतिक सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *