कात्तिक ४ मा प्रदर्शन हुने ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक (भिडिओ) – Nepal Press

कात्तिक ४ मा प्रदर्शन हुने ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौं । आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्डको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने पात्रहरुको कथालाई देखाइएको छ ।

ट्रेलरमा अभिनेता विपिन कार्की र दयाहाङ राईलाई बढी प्राथमिकता दिइएको छ । भूकम्पले चर्किएको घरमा डेरा लिएर बस्ने एक दाम्पति (सुरक्षा पन्त र दयाहाङ राई) काठमाडौंमा घर किन्न ऋणका लागि बैंक-बैंक धाएका छन् । उता काठमाडौंमा घर भएर पनि जेठी श्रीमतीले आफ्नो कब्जामा पारेपछि विपिन कार्की तनावमा मेडिटेसनका लागि डाक्टरसम्म पुगेका छन् ।

नक्कली लालपूर्जाको चलखेलले उब्जिएको समस्यालाई ट्रेलरमा रोचक शैलीमा उतारिएको छ । ‘पशुपति प्रसाद’ जस्तो अब्बल सिनेमा पस्किसकेका दीपेन्द्र के. खनाल निर्देशित सिनेमाको पटकथा तथा संवाद महेश दवाडीको हो ।

सिनेमामा दयाहाङ, सुरक्षा र विपिनका अलवा वर्षा राउत, रवीन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोसिस क्षेत्रीको संगीत, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *