पर्वतमा कांग्रेसको टिकट- अर्जुनलाई पाँचौं अवसर कि ऋषिकेशलाई पहिलो मौका ? – Nepal Press

पर्वतमा कांग्रेसको टिकट- अर्जुनलाई पाँचौं अवसर कि ऋषिकेशलाई पहिलो मौका ?

गुरुङ र महिला फ्याक्टर बोकेर नवराज र ललितकला पनि टिकटको दौडमा

पर्वत । गठबन्धनको सीट बाँडफाँटमा कांग्रेसको भागमा परेको प्रतिनिधिसभाको एकमात्र क्षेत्रमा अर्जुन जोशीलाई पाँचौं अवसर दिने कि ऋषिकेश तिवारीलाई पहिलो मौका दिने भन्नेमा जिल्लादेखि केन्द्रसम्मका नेताहरूबीच छलफल चलेको छ ।

कुनै समय एउटै गुटमा रहेका नेताहरूमध्ये जोशी पछिल्लो समय शेरबहादुर देउवा गुटमा छन् भने तिवारी गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको विरासत पछ्याउँदै शेखर-गगन समूहमा छन् ।

जिल्लाबाट प्रतिनिधिसभातर्फ आकांक्षी सबैको नाम सिफारिस भए पनि टिकटका लागि जोशी र तिवारी नै आम्ने साम्ने छन् । गण्डकीबाट शेखर-गगन समूहले छुटाउन नसक्ने नाममा तिवारी पनि छन् । देउवा समूहका लागि गण्डकीमा अर्जुन जोशीभन्दा छुटाउन नमिल्ने नाम अरु छन् ।

पर्वतको टिकट यसपटक जोशी र तिवारीमध्ये एकजनाले पाउने कांग्रेसको टिकट बाँडफाँटमा संलग्न नेताहरू बताउँछन् । त्यसैले दुवैजना आ-आफ्नो पक्षमा माहौल बनाउन दौडधूपमा छन् । जिल्लाका नेताहरू पनि जोशी र तिवारी पक्षमा विभाजित छन् ।यद्यपी टिकटको दौडमा देउवा टिमबाटै जोशीलाई रोक्न नवराज गुरुङ र ललितकला गुरुङ पनि प्रतिस्पर्धामा छन् ।

अर्जुन जोशीले टिकट पाए भने उनको यो लगातार पाँचौपटक हुनेछ भने तिवारीले पाए भने पहिलोपटक हुनेछ । जबकी पार्टी राजनीतिमा भने जोशी र तिवारी समकक्षी नै हुन् । उनी २०३१ सालदेखि निरन्तर कांग्रेस राजनीतिमा छन् तर चुनावमा टिकट भने पाएका छैनन् ।

सबैतिर नयाँ खोजी भइरहेका बेला जोशीलाई पाँचौपटक चुनाव लडाएर जोखिम नमोल्न नेतृत्वमाथि दबाब बढिरहेको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङ पनि पर्वतकै नेता हुन् तर उनले चुनाव लड्ने तयारी नै नगरेका कारण तिवारी यसपटक भारी पर्न सक्छन् । किनकी उनले टिकट पाए भने यो पहिलौ मौका हुनेछ ।

शेखर-गगन समूहबाट गण्डकीमा टिकट पाउने सम्भावित उम्मेदवारमा राजेन्द्र बजगाईँ गोरखा-२, यज्ञ थापा कास्की-१ र ऋषिकेश तिवारी पर्वत नै रहेको नेताहरूले बताएका छन् । यद्यपि कास्कीमा भने थापाको ठाउँमा तिलक रानाभाटको लबिङ बलियो भएकाले शेखर गगन पक्षका नेताको व्यवस्थापन प्रदेशमा हुनसक्नेछ ।

माओवादी केन्द्रले कास्की १ मा अडान लिएकाले कांग्रेसको भागमा कास्की ३पर्न सक्छ । त्यो अवस्थामा शेखर गगन समूहबाट बाबुराम आचार्य बलिया दाबेदार हुन् । उनलाई रामचन्द्र पौडेल र सशांक कोइरालाको पनि समर्थन हुनेछ ।

अर्जुन जोशी- जितको ह्याट्रिक, हारको पनि ह्याट्रिक

अर्जुन जोशी २०५६ मा पहिलोपटक चुनाव लडेर जितेका थिए । त्यसपछि लगातार २०६४ र २०७० मा पनि उनी पर्वतको साबिक क्षेत्र नम्बर १ बाट निर्वाचित भइरहे । २०७४ सालको निर्वाचनमा पर्वत एउटै क्षेत्र भयो र टिकट अर्जुनले नै पाए । उनी त्यो चुनावमा एमालेका पदम गिरीसँग करिब १४ हजार मतान्तरले पराजित भए ।

संयोग नै मान्नुपर्छ कोइराला गुटमा हुन्जेल अर्जुनको भागमा जितमात्रै हात लाग्यो । जब देउवा गुटमा लागे उनको भागमा हारमात्रै हात लाग्यो । देउवा गुटमा लागेपछि उनी संसदीय चुनाव एउटा हारे भने पार्टीभित्रको दुईवटा चुनाव हारिसकेका छन् ।

तीनपटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएपछि १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा जोशी देउवा गुटमा लागेका थिए । देउवा गुटमा लागेलगत्तै उनी १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भए भने १४ औं महाधिवेशनमा गण्डकी प्रदेश सभापतिमा पराजित भए ।

जोशी ५ औंपटक संसदीय चुनाव लड्न आफ्नो बुता लगाइरहेका छन् टिकट लिनका लागि । यद्यपि उनी तिवारीलाई पाखा लगाएर टिकट लिए पनि आफू जित्न सक्दिन भन्ने त्रासमा छन् । ऋषिकेश तिवारीलाई प्रदेशमा टिकट दिलाएर संघमा आफू लड्ने उनको प्रयास छ तर तिवारीले प्रदेशमा उम्मेदवार नबन्ने बताइसकेका छन् ।

स्थानीय तह निर्वाचनको टिकट वितरणमा भएको धाँधली र पैसाको चलखेलका कारण पनि जोशी आफ्नै गुटमा अलोकप्रिय बनेका छन् । विगतमा उनलाई साथ दिएका प्रभावशाली नेताहरू अहिले विपक्षमा छन् ।

जोशीलाई पार्टीभित्रबाट आफूमाथि ठूलै असहयोग हुन्छ भन्ने जानकारी पनि छ । तर, उनी कांग्रेसभित्रबाट हुनसक्ने क्षतिको पूर्ति एमालेभित्रबाट गर्ने आशमा छन् । जोशीनिकट स्रोतले भन्यो, ‘सीधा हिसाबमा अर्जुन जोशीले चुनाव हार्ने रिपोर्ट नै बालुवाटारमा छ । तर, एमालेमका केही नेता हाम्रो नियमित सम्पर्कमा छन्,त्यसैले कांग्रेसबाट हुने अन्तर्घातको क्षतिपूर्ति एमालेबाट लिन सकिन्छ भन्ने हो । नत्र जोशीमाथि पदम गिरी भारी पर्छन् ।

तर, अर्को फ्याक्टर पनि के छ भने,जोशीले एमालेभित्र खेल्न खोजे पनि कति सक्छन् भन्ने निश्चित छैन किनकी कुनै पनि नेता कार्यकर्ता पार्टीको विपक्षमा अर्कोलाई भोट माग्न सक्ने अवस्थामा छैनन् । तर कांग्रेसका जोशी विरोधी नेता कार्यकर्ताले भने गिरीलाई सघाउने निश्चित छ ।

तिवारी-त्यागमा अगाडि, भागमा पछाडि

ऋषिकेश तिवारी र अर्जुन जोशीबीच ठीक उल्टो संयोग छ । जोशी निरन्तर मौका पाउने भाग्यमानी नेतामा पर्छन् भने तिवारी कहिल्यै मौका नपाउनेमा पर्छन् । पार्टीमा बौद्धिक छवी बनाएका उनले २०७० मा पर्वत २ बाट टिकट पाइसकेका थिए । तर, गुटको भागबण्डा मिलाउन त्यसबेला उनको टिकट खोसेर देउवा पक्षका नवराज गुरुङलाई दिइएको थियो भने २०७४ मा पाएको टिकट खोसेर राजेन्द्र तिवारीलाई दिइयो ।

यसपटक उनले लागि टिकट पाए पनि नपाए पनि अन्तिम प्रयास हो । जिते पनि आफू दोस्रोपटक दाबेदार नबन्ने उनले सबैसँग बताइसकेका छन् । नेपाली कांग्रेसको मुख्य सचिव भएर केन्द्रीय कार्यालय चलाइसकेका तिवारी २०६४ सालमा छोटो समय अन्तरिम व्यवस्थापिका संसदको सदस्य भएका थिए । तत्कालीन सांसद डिल्लीराज शर्माका निधनपछि रिक्त ठाउँमा कांग्रेसले उनलाई तीन महिनाका लागि मनोनीत गरेको थियो ।

सुशील कोइराला कांग्रेस सभापति हुँदा मुख्य सचिव बनेका तिवारीले १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएपछि राजीनामा दिएका थिए । २०७१ देखि २०७३ सम्म मुख्यसचिव बनेका तिवारीलाई देउवाले राजीनामा नदिन भने पनि उनले देउवालाई नै कन्भिन्स गरेर राजीनामा दिएका थिए ।

दुई गुरुङ पनि दौडमा

अर्जुन जोशी र ऋषिकेश तिवारीले आ आफ्नो लबिङ जारी राख्दा पर्वतको टिकट हत्याउन नवराज गुरुङ र ललितकला गुरुङको दौड पनि तीब्र छ । नवराज तीनपटक टिकट पाएर पनि पार्टीभित्रकै असहयोगका कारण पराजित भएका नेता हुन् । उनी १४ औं महाधिवेशनमा पनि थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

२०४८ मा टिकट पाएर पराजित भएका उनले २०७० मा संविधानसभा र २०७४ मा प्रदेश सभाको टिकट पाएका थिए । यसपटक उनी प्रतिनिधिसभाको टिकटको प्रतिस्पर्धामा छन् । देउवा गुटमै रहेको र गुरुङ जनमतको समेत कदर हुनुपर्ने भन्ने उनको लबिङको बलियो पक्ष छ ।

गुरुङ र अर्जुन जोशी एउटै गुटमा भए पनि सम्बन्ध राम्रो छैन । गुरुङ पक्षले फरक गुटमा भए पनि स्थानीय चुनावको टिकटका बेला जोशी र तिवारी मिलेको र अहिले पनि तिवारीलाई जोशीले प्रदेशमा व्यवस्थापन गरेर आफू संघको टिकट लिन खोजेको आशंका गरिरहेको छ ।

त्यसो त गण्डकी प्रदेशसभामा समानुपातिक सांसद भइसकेकी ललितकला गुरुङ पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लबिङमा छिन् । उनले महिला र गुरुङ फ्याक्टरलाई आफ्नो टिकटको आधार बनाएकी छन् । उनी पनि देउवा समूहकै हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर