लुटपाट रोक्न राजमार्गमा मकवानपुर प्रहरीको विशेष गस्ती – Nepal Press

लुटपाट रोक्न राजमार्गमा मकवानपुर प्रहरीको विशेष गस्ती

हेटौंडा । वडा दसैं नजिकिएसँगै घर फर्कनेहरुको लर्को लागेको छ । हवाई मार्गसँगै सडकबाट घर जानेहरुको ताँती नै छ । सडक मार्ग भई घर फर्कनेहरुको सुरक्षालाई ध्यानमा दिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष गस्ती परिचालन गरेको छ ।

दसैंतिहारमा सडक मार्ग भएर यात्रा गर्दा हुनसक्ने आपराधिक क्रियाकलापको जोखिम कम गर्न विशेष गस्ती सुरु गरिएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका- १० मा रहेको हेटौंडा बसपार्कबाट पश्चिम चितवनको सीमा क्षेत्र लोथर र दक्षिण बाराको सीमा क्षेत्र चुरीयामाई मन्दिरसम्म यात्रुबाहक बसमा हतियारसहितको विशेष गस्ती सुरु गरेको हो ।

यात्रुबाहक बसमा अझ रातको समयमा चोरी, लुटपाट हुने सम्भावना रहेकाले विशेष गस्ती गरिएको मकवानपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बताए । प्रहरीले गस्तीको क्रममा शंकास्पद गतिविधि गर्ने व्यक्तिलाई तुरुन्तै पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइने उनले जानकारी दिए ।

उनका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत मकवानपुर प्रहरीले बसपार्क क्षेत्रमा सहायता कक्षसमेत स्थापना गरेको छ । प्रहरी उपरीक्षक गौतमले प्रहरी २४ सैं घण्टा नागरिकको सुरक्षाको लागि तैनाथ रहेको बताए ।

उनका अनुसार चाडपर्वको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न मकवानपुर प्रहरीले आफ्ना सम्पूर्ण युनिटलाई पूर्ण रुपमा परिचालन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर